काठमाडौं- संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको साइडलाइनमा क्रायोस्फियरमा देखिएको जलवायु सङ्कट र बढ्दो हिमाली विपद्को सामना गर्न पर्वतीय युवाको भूमिकाबारे अन्तर्राष्ट्रिय भर्चुअल संवाद आयोजना हुने भएको छ । कार्यक्रम शुक्रबार स्थानीय समयअनुसार बिहान ९ बजे अर्थात् नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
‘क्रायोस्फियरमा जलवायु सङ्कट: बढ्दो हिमाली विपद्विरुद्ध वातावरणीय उत्थानशीलतामा पर्वतीय युवाको नेतृत्व’ शीर्षकको कार्यक्रम पहिलो ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०२६’ को अन्तर्राष्ट्रिय पूर्वतयारी संवादका रूपमा समेत आयोजना गर्न लागिएको हो ।
आयोजकहरूका अनुसार संवादले स्थानीय पर्वतीय समुदायको उत्थानशीलता अभिवृद्धि तथा युवाको प्राविधिक र नीतिगत नेतृत्वलाई अन्तर्राष्ट्रिय छलफलसँग जोड्ने लक्ष्य राखेको छ। जलवायु अभियन्ता, अनुसन्धानकर्ता, विपद् विज्ञ र सञ्चारकर्मीले हिमाली क्षेत्रका चुनौती तथा सम्भावित समाधानबारे आफ्ना प्रस्तुति र दृष्टिकोण राख्नेछन् ।
क्रायोस्फियर भन्नाले हिमनदी, हिउँ र स्थायी रूपमा जमेको जमिनलगायत पृथ्वीमा पानी जमेको अवस्थामा रहने क्षेत्रलाई बुझिन्छ । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को अध्ययनले हिन्दुकुश–हिमालयमा हिमनदी क्षय तीव्र भएको तथा हिमताल विस्फोटजन्य बाढीलगायतका जोखिम बढ्ने चेतावनी दिएको छ । यही पृष्ठभूमिमा संवादले हिमताल विस्फोटजन्य बाढी, आकस्मिक बाढी र पहिरोबाट पर्वतीय समुदायमाथि पर्ने जोखिमलाई केन्द्रमा राख्नेछ ।
पर्वतीय मुद्दाका लागि आधिकारिक युवा कार्यसमूहको औपचारिक घोषणा
यस कार्यक्रमको मुख्य आकर्षणका रूपमा संयुक्त राष्ट्रसङ्घमा बालबालिका तथा युवाहरूको प्रमुख सरोकारवाला समूह मेजर ग्रुप फर चिल्ड्रेन एन्ड युथअन्तर्गत पर्वतीय मुद्दाहरूमा केन्द्रित रहने गरी ‘माउन्टेन कम्युनिटीज एन्ड इकोसिस्टम्स युथ वर्किङ ग्रुप’ को औपचारिक घोषणा तथा शुभारम्भ गरिनेछ ।
आयोजकहरूका अनुसार मेजर ग्रुप फर चिल्ड्रेन एन्ड युथ अन्तर्गत पहिलोपटक पर्वतीय मुद्दामा केन्द्रित आधिकारिक युवा कार्यसमूह स्थापना गर्न लागिएको हो । यस युवा कार्यसमूहले विश्वभरका पर्वतीय समुदाय, पारिस्थितिकीय प्रणालीको संरक्षण र पर्वतीय युवाको आवाजलाई संयुक्त राष्ट्रसङ्घीय नीति निर्माण तहसम्म पुर्याउन आधिकारिक माध्यमका रूपमा कार्य गर्नेछ । यसको मुख्य उद्देश्य स्थानीय अनुभव र युवाको सहभागितालाई अन्तर्राष्ट्रिय नीतिगत पैरवीसँग जोड्नु रहेको उनीहरूको भनाइ छ।
दक्षिण एसियाली तथा अन्तर्राष्ट्रिय संस्थाको सहकार्य
कार्यक्रम एमजीसीवाई, सार्क युथ प्लेटफर्म, इन्टरनेसनल युथ फोरम, नेपालस्थित इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, आइडियाज इन्टरनेसनल र बागमती युनेस्को क्लबको संयुक्त आयोजना तथा आतिथ्यमा सञ्चालन हुनेछ ।
युथ फर इन्भाइरोमेन्ट एजुकेसन एन्ड डेभलपमेन्ट फाउन्डेसन, युथ एक्सन फर सस्टेनेबल एन्ड इको नेपाल (यासेन), सेराक–बङ्गलादेश, पाकिस्तानका युथ एड्भोकेसी नेटवर्क र एक्टिभ हेल्प अर्गनाइजेसन तथा भारतको ग्रीन फ्युचर फाउन्डेसन पनि संयुक्त आयोजक रहेका छन् ।
शिलापत्र, खबरहब र पाकिस्तानको द डेस्प्रीङ कार्यक्रमका आधिकारिक सञ्चार साझेदार रहेका छन् ।
दस वक्ताको सहभागिता, जलवायु वित्त र सीमापार सहकार्यमा बहस
क्युम्मा राई बुताङले सहजीकरण गर्ने कार्यक्रममा आईएचआरआरका कार्यकारी निर्देशक तथा विपद् जोखिम विशेषज्ञ इन्जिनियर सुरज गौतम, एमजीसीवाईकी अर्गनाइजिङ पार्टनर युगरत्न श्रीवास्तव र सार्क युथ प्लेटफर्मका संयोजक फसाहत उल हसन वक्ताका रूपमा सहभागी हुनेछन्।
त्यस्तै, पाकिस्तानस्थित युथ एड्भोकेसी नेटवर्कका अन्तर्राष्ट्रिय समन्वय संयोजक दानिस तारिक, इन्टरनेसनल युथ फोरमका अध्यक्ष राहुल केसी र बागमती युनेस्को क्लबका संस्थापक इन्जिनियर निश्चल बानियाँले आफ्ना प्रस्तुति तथा दृष्टिकोण राख्नेछन्।
अन्य वक्तामा सेराक–बङ्गलादेशका कार्यकारी निर्देशक एसएम सैकत, वाइफिड फाउन्डेसनकी सञ्चालक समिति सदस्य सोनिका पौडेल, शिलापत्रका वरिष्ठ पत्रकार विराट अनुपम र खबरहबकी प्रतिनिधि सृजना श्रेष्ठ रहेका छन्।
वक्ताहरूले हिमाली क्षेत्रमा विपद् जोखिम न्यूनीकरण, जलवायु वित्तमा पर्वतीय क्षेत्रको पहुँच, सीमापार सहकार्य तथा नीतिगत पैरवीमा युवा र सञ्चारमाध्यमको संयुक्त भूमिकाबारे छलफल गर्नेछन्। बहसमा पर्वतीय समुदायको अनुभव, प्राविधिक ज्ञान र नीतिगत सहभागितालाई जोड दिने आयोजकहरूले जनाएका छन् ।
आयोजकहरूका अनुसार संवादका निष्कर्षलाई संयुक्त राष्ट्रसङ्घीय महासभासँग सम्बन्धित आगामी प्रक्रियामा प्रस्तुत गर्ने तथा काठमाडौँ जलवायु कार्य सप्ताह २०२६ को मुख्य मार्गचित्रमा समावेश गर्ने योजना छ । हिमालय र क्रायोस्फियरको पारिस्थितिकीय संरक्षणमा स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म युवाको अर्थपूर्ण सहभागिता बलियो बनाउने अपेक्षा उनीहरूले गरेका छन् ।













प्रतिक्रिया