एजेन्सी– श्रीलंकामा विद्यालय जाने उमेर नपुगेका करिब ६४ प्रतिशत बालबालिकाले मोबाइल फोन, ट्याब्लेट वा कम्प्युटरमा सिफारिस गरिएको समयभन्दा बढी समय बिताउने गरेको पाइएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले साना बालबालिकालाई दैनिक ३० मिनेटभन्दा कम समय डिजिटल स्क्रिन प्रयोग गर्न सिफारिस गरेको छ ।
श्रीलंकाको स्वास्थ्य मन्त्रालयका सचिव अनिल जयसिङ्गेले सिफारिस गरिएको समयभन्दा बढी स्क्रिनमा बिताउँदा बालबालिकाको मानसिक स्वास्थ्यमा असर पर्नुका साथै आँखासम्बन्धी समस्या देखिन सक्ने बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले गरेको सर्वेक्षणअनुसार करिब ४३ प्रतिशत बालबालिकाले स्क्रिन हेर्दै खाना खाने गरेका छन् । त्यस्तै, करिब ५६ प्रतिशत अभिभावक वा हेरचाहकर्ताले विद्यालयपूर्व उमेरका बालबालिकासँग रिसाउने गरेको पाइएको छ ।
सर्वेक्षणले बालबालिकाको हेरचाहमा बाबुको संलग्नता आमाको तुलनामा कम रहेको पनि देखाएको छ । रिपोर्टअनुसार करिब ५३ प्रतिशत बाबु मात्र आफ्ना बालबालिकाको हेरचाहमा नजिकबाट संलग्न हुने गरेका छन् ।
सचिव जयसिङ्गेले सर्वेक्षणले बालबालिकाको हेरचाह र पालनपोषणसम्बन्धी चुनौतीसमेत उजागर गरेको बताए।
स्वास्थ्य मन्त्रालयले सर्वेक्षणका निष्कर्षका आधारमा विद्यालय जाने उमेर समूहका बालबालिकाका लागि स्वास्थ्य प्रवद्र्धन कार्यक्रम तथा आवश्यक दिशानिर्देश जारी गरेको पनि उनले जानकारी दिए ।












प्रतिक्रिया