काठमाडौं – प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आज बिहानदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको र जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा तथा हावाहुरीको पूर्वानुमान गरेको जानकारी दिएका छन् ।
सम्भावित विपद्लाई ध्यानमा राख्दै सरकारले पूर्वतयारी तीव्र बनाएको उनले बताएका छन् । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको तथा जिल्ला सुरक्षा समितिको बैठकमार्फत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको उनले उल्लेख गरेका छन् ।
सुरक्षा निकायले नदी तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराउनुका साथै विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको प्रधानमन्त्री शाहले बताएका छन् ।
उनले रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, अनावश्यक लामो दूरीको यात्रा नगर्न र सुरक्षित स्थानमा रहन नागरिकलाई आग्रह गरेका छन् । राजमार्गका सुरक्षा जाँच चौकीबीच समन्वय गरी सडक सुरक्षित रहेको सुनिश्चित भएपछि मात्र सवारीसाधन अघि बढाउने ‘रोक, पर्ख र हेर’ नीति लागू गरिएको पनि उनले जानकारी दिएका छन् ।
सम्भावित बाढी, पहिरो तथा नदी कटानलाई ध्यानमा राख्दै जोखिमयुक्त सडकखण्ड नजिक एक्स्काभेटर, लोडर र डोजरलगायत भारी उपकरण तयारी अवस्थामा राखिएको छ । सडक डिभिजन कार्यालयलाई २४ सै घण्टा सक्रिय रहन तथा सडकको अवस्था नियमित सार्वजनिक गर्न निर्देशन दिइएको छ ।
हिमाली तथा पहाडी क्षेत्रमा ट्रेकिङ तथा पर्वतारोहणमा रहेका आन्तरिक र विदेशी पर्यटकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न सम्बन्धित व्यवसायीसँग समन्वय गर्न भनिएको पनि प्रधानमन्त्रीले बताएका छन् ।
त्यस्तै, सबै ७५३ स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसी आवश्यक पूर्वतयारी गर्न र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ ।













प्रतिक्रिया