विदेशको पढाइ, स्वदेशकै कर्म : आँखा स्वास्थ्य र सामुदायिक विकासमा सक्रिय पासाङ शेर्पा « Khabarhub

विदेशको पढाइ, स्वदेशकै कर्म : आँखा स्वास्थ्य र सामुदायिक विकासमा सक्रिय पासाङ शेर्पा

भोजपुरको गाउँदेखि अकुपन्चर र जनस्वास्थ्यसम्म


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भोजपुरको दुर्गम गाउँ किमालुङबाट सुरु भएको शैक्षिक यात्रा, जापानको उच्च अध्ययन र स्वदेश फर्किएपछि दशकौँ लामो जनस्वास्थ्य तथा समाजसेवाको कर्म- पासाङ दोर्जे शेर्पा (पासाङ गोले शेर्पा) को जीवनयात्रा परोपकार र निरन्तर सक्रियताको उदाहरण बनेको छ। आँखा स्वास्थ्य, जनस्वास्थ्य र सामुदायिक विकासमा समर्पित शेर्पाले पछिल्लो समय वैकल्पिक चिकित्सा पद्धति ‘अकुपन्चर’ को क्षेत्रलाई समेत अघि बढाउने जिम्मेवारी सम्हालेका छन्।

विसं २०१९ भदौ १३ गते भोजपुरको किमालुङ–१ (हाल षडानन्द नगरपालिका–९) मा जन्मिएका पासाङ दोर्जे शेर्पाको बाल्यकाल गाउँघरकै संघर्ष र अनुशासनमा बित्यो। सानै उमेरमा विद्यालय र क्याम्पस पुग्न हरेक दिन घण्टौँ हिँड्नुपर्ने अवस्था थियो। भोजपुर बहुमुखी क्याम्पसमा पढ्दाको समय सम्झँदै उनले सहपाठीसँगको आत्मीयता र त्यतिबेलाको परिवेश कोट्याए ।

शेर्पाले सन् १९८७ मा नेपाल नेत्र ज्योति संघ (एनएनजेएस) बाट अप्टोमेट्री/अप्थाल्मोलोजी (आँखा स्वास्थ्य) मा सर्टिफिकेट तह र सन् १९८८ मा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक पूरा गरे।

सन् २००१ मा जापानको टोकियोस्थित नेसनल इन्स्टिच्युट अफ पब्लिक हेल्थ (एनआईपीएच) बाट डीपीएच र सन् २०११ मा बंगलादेशको ढाका विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातकोत्तर (एमपीएच) हासिल गरे। हाल उनी काठमाडौँको धापासी–६ मा बसोबास गर्छन् र साहित्य, संगीत तथा समाजसेवामा रुचि राख्छन्। उनले देशका ७० जिल्लासहित जापान, चीन, हङकङ, भारत, अमेरिका, फ्रान्स र जर्मनलगायत मुलुकको भ्रमण गरिसकेका छन्।

अकुपन्चर कलेज र अस्पतालको जिम्मेवारी

गोकर्ण दक्षिण ढोकास्थित ‘ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा केन्द्र’ नेपालको अकुपन्चरको पहिलो कलेज र पहिलो अस्पतालमध्ये एक मानिन्छ। शेर्पाका अनुसार करिब २०४३ सालतिर एक जापानी नर्स तथा अकुपन्चरकर्मीको आर्थिक सहयोगमा यो संस्था स्थापना भएको हो । जसमा उनले प्राविधिक रूपमा व्यक्तिगत सहयोग गर्दै आएका थिए। अहिले यहाँ सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी सर्टिफिकेट तहसम्मको पढाइ हुन्छ भने अस्पतालमा बेड, कक्षाकोठा, ल्याब र एक्सरेसहितका सेवा उपलब्ध छन्।

अघिल्लो कमिटीका अध्यक्ष स्वास्थ्यका कारण अशक्त भएपछि संस्थालाई निरन्तरता दिन आफूले जिम्मेवारी लिएको शेर्पाले बताए । व्यापारिक नाफाभन्दा पनि परोपकारी भावनाले यो काम अघि बढाइएको उनको भनाइ छ ।

अकुपन्चर चिनियाँ परम्परागत चिकित्सा पद्धतिबाट सुरु भई पछि कोरिया, जापान हुँदै विश्वभर फैलिएको उल्लेख गर्दै उनले यसको साइड इफेक्ट कम हुने, दुखाइ व्यवस्थापन तथा नसा र प्यारालाइसिसका दीर्घकालीन बिरामीमा प्रभावकारी देखिएको बताए ।

नेपालमा ‘वेलनेस टुरिजम’ को सम्भावना रहेको औँल्याउँदै उनले वैकल्पिक चिकित्सा र आयुर्वेदिक सम्पदाको प्रवर्द्धन गर्न सके नेपाल विश्वको महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने आकलन प्रस्तुत गरे ।

आँखा स्वास्थ्य र जनस्वास्थ्यको अनुभव

आँखा स्वास्थ्य र जनस्वास्थ्यलाई आफ्नो मुख्य कार्यक्षेत्र मान्ने शेर्पा नेपालमा आँखासम्बन्धी मुख्य समस्या मोतिबिन्दु (क्याट्याक्ट) भएको बताउँछन् । यसबाहेक कृषिप्रधान देश भएकाले आँखामा चोटपटक लाग्ने, जलबिन्दु तथा विगतमा पश्चिमका थारु र मगर समुदायमा देखिने ट्रकोमाजस्ता समस्या थिए, जुन अहिले नेपालबाट निवारण भइसकेको उनले बताए ।

नेपालमा नेत्र ज्योति संघ, तिलगंगा आँखा केन्द्र तथा निजी क्षेत्रको प्रयासले आँखा उपचारमा उल्लेखनीय सुधार भएको र छिमेकी भारतका साथै विदेशबाट समेत उपचारका लागि आउने क्रमले मेडिकल टुरिजमको सम्भावना बढाएको उनको विश्लेषण छ ।

समग्र जनस्वास्थ्यको अवस्थाबारे उनले वातावरण, खानपान र जीवनशैलीका कारण पछिल्लो समय क्यान्सरका बिरामी बढ्दै गएको बताए । साथै ग्रामीण भेगमा जनस्वास्थ्य चेतनाको कमीले क्षयरोग, झाडापखाला र भिटामिन कमीजन्य समस्या अझै देखिने गरेको उनको भनाइ छ ।

भोजपुर बहुमुखी क्याम्पसमा विद्यादेवी भण्डारीका सहपाठी

सानातिना कुरामा समेत राज्यलाई मात्र दोष दिने प्रवृत्तिभन्दा नागरिक आफैँ अनुशासित र सक्रिय हुनुपर्ने शेर्पाको धारणा छ । सरकारले समन्वय र सहजीकरणको भूमिका निर्वाह गरे सामाजिक तथा विकासका काम प्रभावकारी हुने उनी बताउँछन् । समाजसेवामा लाग्दा कहिलेकाहीँ स्थानीयस्तरमा गलत बुझाइ वा एनजीओ/आईएनजीओप्रति नकारात्मक टिप्पणी आउने गरे पनि पारदर्शी र इमानदार भई काम गरे बाधा नआउने उनको अनुभव छ ।

भोजपुर बहुमुखी क्याम्पसमा सँगै पढेकी सहपाठी विद्यादेवी भण्डारी देशको पहिलो महिला राष्ट्रपति बन्नु गौरवको विषय भएको शेर्पाले बताए । भोजपुरे सेवा समाजको नेतृत्वमा रहँदा भण्डारीलाई सम्मान गरिएको, योगमाया आयुर्वेदिक विश्वविद्यालय तथा अरुण तेस्रो प्रसारण लाइनको मुआब्जा र सरोकारका विषयमा पहल गर्दा सकारात्मक सहयोग पाएको उनले स्मरण गरे ।

विदेश गएर उतै बस्ने युवा पुस्ताको प्रवृत्तिबारे शेर्पाले विदेशबाट फर्किने जनशक्तिका लागि राज्यले रोजगारीको सुनिश्चितता गर्नुपर्ने बताए । आफू उमेरले परिपक्व भएर अध्ययनमा गएको, गाउँघरको माया रहेको र छात्रवृत्तिदाताले स्वदेशमै फर्किएर काम गर्न प्रेरित गरेकाले नेपालमै फर्किएर काम गरेको उनले सुनाए । आफूले माग गरेअनुसार विद्यालय र स्वास्थ्य संस्था निर्माणमा सहयोग जुटेकाले नै स्वदेशमै रमाएर काम गरिरहेको उनको भनाइ छ ।

शिक्षा, स्वास्थ्य र सामुदायिक सेवामा योगदान

निप्पोन नेपाल गुडविल एसोसिएसन जापान र अन्य स्वदेशी–विदेशी संस्थाको सहकार्यमा शेर्पाले विभिन्न जिल्लामा विद्यालय भवन, स्वास्थ्य केन्द्र र शिविर सञ्चालनमा योगदान पुर्‍याएका छन्।

काभ्रेमा श्री कालिका मावि (अनेकोट) र श्री भमरकोट प्रावि (पाँचखाल), ललितपुरमा डुकुछापमा निमावि भवन, काठमाडौँमा श्री शान्ति नाट्येश्वरी प्रावि (संगला) तथा रूपन्देहीमा श्री बिन्ध्यवासिनी मिसुजु प्रावि, श्री मधौलिया कोतियामाई मिसुजु प्रावि, श्री आनन्द सत्यलक्ष्य प्रावि र श्री पकडी सारस प्रावि निर्माणमा सहभागिता रहेको विवरणमा उल्लेख छ।

त्यसैगरी भोजपुरमा श्री धापखर्क शेर्पा प्रावि, श्री वीरेन्द्र उमावि, भोजपुर बहुमुखी क्याम्पस महिला छात्रावास र भोजपुर प्राथमिक आँखा उपचार केन्द्र निर्माणमा जोडिएका छन्। सुर्खेतमा श्री सरस्वती मावि र श्री शिखर मावि (रामघाट), झापामा श्री स्वस्थानी प्रावि तथा गोरखामा श्री भलायाडाँडा प्रावि (चेपाङ गाउँ) निर्माणमा पनि योगदान रहेको छ।

स्वास्थ्य सेवातर्फ लुम्बिनी स्वास्थ्य उपचार केन्द्र, सन् २००७ देखि भोजपुर बजारमा प्राथमिक आँखा उपचार केन्द्र र सन् २००२ देखि बौद्ध, काठमाडौँमा शेर्पा सेवा केन्द्रमार्फत निःशुल्क आँखा उपचार क्लिनिक सञ्चालन गरिएको छ।

ललितपुरका विद्यालयमा सन् २००२ देखि २००६ सम्म विद्यार्थीको निःशुल्क आँखा परीक्षण तथा उपचार गरिएको र सन् १९९४ मा ललितपुरको लगनखेलमा सामुदायिक भवन निर्माण गरिएको छ। साथै जापानी खानेको मिसुजुको बालकविता संग्रह ‘होसी तो तान्पोपो’ (तारा र फूलहरू) नेपालीमा अनुवाद गरी विद्यार्थीलाई वितरण गरेका छन्।

भोजपुरको दिङ्ला, भोजपुर बजार, धापखर्क, सुर्खेतको कल्याण र लेखफर्सा, नुवाकोटको भादटार, संखुवासभाको चैनपुर र तुम्लिङटार, लुम्बिनी, ललितपुरको डुकुछाप र रसुवाको धुन्चेमा विभिन्न समयमा निःशुल्क आँखा तथा साधारण स्वास्थ्य शिविर सञ्चालन गरी हजारौँ बिरामीको परीक्षण, मोतिबिन्दुको शल्यक्रिया तथा उपचार गरिएको विवरणमा छ। भोजपुरे सेवा समाजमार्फत २०७२ को भूकम्प र आगलागीपीडितलाई राहत, गुरुयोजना निर्माण, पर्यटन प्रवर्द्धन, रेड पाण्डा संरक्षण र ‘भोजपुरको वाङमय विमर्श तथा अभिलेखीकरण’ पुस्तक प्रकाशनजस्ता कार्यमा समेत उनी सक्रिय छन्।

शेर्पाका भावी योजना

अकुपन्चर कलेज र अस्पताललाई अझ सुदृढ तथा संस्थागत बनाउने, विगतमा निर्माण गरिएका विद्यालय र स्वास्थ्य केन्द्रलाई दिगो (सस्टेनेबल) बनाउन नियमित अनुगमन र विकास गर्ने तथा भोजपुर बहुमुखी क्याम्पसमा पुरुष छात्रावास निर्माण र दुर्गममा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना शेर्पाले अघि सारेका छन् ।

गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा विपन्न वर्गको पहुँचसम्म पुर्‍याउने मूल उद्देश्यसहित उनी निरन्तर सक्रिय छन्।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ९ : ३२ बजे

विदेशको पढाइ, स्वदेशकै कर्म : आँखा स्वास्थ्य र सामुदायिक विकासमा सक्रिय पासाङ शेर्पा

काठमाडौँ – भोजपुरको दुर्गम गाउँ किमालुङबाट सुरु भएको शैक्षिक यात्रा,

मंगलबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

काठमाडौँ– औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत)

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे

बढी आयकर दाखिला गर्ने चार करदाता सम्मानित

झापा- आन्तरिक राजस्व कार्यालय भद्रपुरले बढी आयकर दाखिला गर्ने चार