काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्रको जाँचका सम्बन्धमा हाइब्रिड मोडेलमा छलफल गर्न सकिने बताएका छन् ।
संहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा चलचित्र विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसंगको छलफलका क्रममा मन्त्री तिमिल्सिनाले चलचित्रको वर्गीकरण र सेन्सर दुवैको महत्त्व हुने गरी मिश्रण (हाइब्रिड मोडेल) मा छलफल गर्न सकिने बताएका हुन् । विधेयकमा भने चलचित्र प्रदर्शन गर्नुअघि जाँच गर्न सेन्सर बोर्ड रहने उल्लेख छ ।
मन्त्री तिमिल्सिनाले अन्तर्राष्ट्रिय अभ्यासका रूपमा भारतमा हाइब्रिड मोडेलजस्तो, अस्ट्रेलिया, बेलायत लगायतका देशमा उमेर समूहअनुसारको वर्गीकरणको व्यवस्था रहेको उल्लेख गरे ।
त्यसैगरि उनले चलचित्र बोर्डको अध्यक्षको भूमिका सम्मान दिने पदका रूपमा लिने वा दक्ष व्यवस्थापकका रुपमा लिने भन्ने प्रश्न गहन रहेको बताए । अधिकार वा क्षमताको कमीले कमजोर अवस्थामा देखिएकाले संस्थाको मर्मअनुसार नेतृत्व र संरचना तय गर्नुपर्ने उनको भनाइ छ ।
उनले सङ्घ, प्रदेश र स्थानीय तहले आ–आफ्नो ठाउँबाट योगदान गर्दै देशकै चलचित्र क्षेत्रको विकास, जबाफदेहिता र जिम्मेवारीलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । चलचित्र विधेयक, २०८१ माथि १ सय २२ वटा संशोधनका सूचना दर्ता भएका छन् ।














प्रतिक्रिया