काठमाडौं– फिल्म ‘रामायण’ मा भगवान् राम र रावणलाई प्रस्तुत गरिएको शैलीलाई लिएर विवाद सुरु भएको छ । धार्मिक ग्रन्थमा वर्णन गरिएका पात्र र घटनालाई फरक ढंगले देखाएको भन्दै फिल्मका निर्माता र निर्देशकविरुद्ध मुम्बई प्रहरीमा उजुरी परेको छ ।
हिन्दू जनजागृति समितिका प्रवक्ता सतीश कोचरेकरले निर्माता नमित मल्होत्रा र निर्देशक नितेश तिवारीविरुद्ध मुलुन्ड प्रहरी चौकीमा उजुरी दिएका हुन्। उनले फिल्मले मूल वाल्मीकि रामायणको कथालाई विकृत बनाउँदै करोडौँ हिन्दूहरूको धार्मिक भावनामा चोट पुर्याएको आरोप लगाएका छन् ।
समितिको मुख्य आपत्ति फिल्ममा रावणको चित्रणलाई लिएर छ । फिल्ममा रावणलाई गरिबहरूलाई सुनको घर दिने, शोषितहरूको उद्धार गर्ने र महिलाको सम्मान गर्ने पात्रका रूपमा प्रस्तुत गरिएको समितिको दाबी छ ।
त्यस्तै, शक्तिशाली अस्त्रशस्त्रले सुसज्जित भगवान् राम र लक्ष्मणलाई राक्षसी सेनासँग डराएर पछि हटेको दृश्यमा देखाइएको भन्दै समितिले असन्तुष्टि जनाएको छ ।
समितिले फिल्मको यस्तो चित्रणलाई सामान्य सिर्जनात्मक परिवर्तनका रूपमा लिन नसकिने बताएको छ । उजुरीमा भारतीय न्याय संहिताका दफा २९९ र १९६ अन्तर्गत अनुसन्धान गरी मुद्दा दर्ता गर्न माग गरिएको छ । यी दफाहरू धार्मिक भावनामा जानाजानी चोट पुर्याउने र धर्मका आधारमा विभिन्न समूहबीच वैमनस्य फैलाउने कसुरसँग सम्बन्धित छन् ।
त्यस्तै, फिल्ममा के–कस्ता परिवर्तन गरिएका छन् भन्ने यकिन गर्न निर्माण पक्षबाट फिल्मको आधिकारिक प्रति, पटकथा, संवाद र सबटाइटल झिकाउन पनि समितिले माग गरेको छ । मूल रामायण र फिल्ममा देखाइएका घटनाबीच तुलना गर्न धार्मिक तथा संस्कृतका विद्वान्हरूको राय लिनुपर्ने उसको भनाइ छ ।
समितिले कलात्मक स्वतन्त्रताको नाममा धार्मिक आस्था र पूजनीय पात्रहरूको अपमान स्वीकार्य नहुने चेतावनीसमेत दिएको छ। यद्यपि, यो उजुरी र समितिले लगाएका आरोप हुन्, प्रहरीले अनुसन्धानपछि मात्रै यसबारे थप निष्कर्ष निकाल्न सक्नेछ ।














प्रतिक्रिया