एजेन्सी– संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल खैमाह इमिरेटमा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ ।
मङ्गलबार भएको दुर्घटनापछि उद्धार तथा राहत कार्यका लागि आपतकालीन टोली तत्काल घटनास्थलमा परिचालन गरिएको यूएईको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार घटनास्थलमा एम्बुलेन्स सेवा, नागरिक सुरक्षा विभाग (सिभिल डिफेन्स) लगायतका निकायका उद्धार टोली खटिएका थिए । दुर्घटनामा परेकाहरूको उद्धार तथा राहत कार्य तत्काल अघि बढाइएको थियो ।
दुर्घटना कसरी र के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।
यसअघि गत नोभेम्बर १२ मा यूएईकै फुजैराह इमिरेटमा भएको अर्को भीषण सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए ।
यूएईमा छोटो अवधिमै भएका दुई ठूला सडक दुर्घटनाले त्यहाँको सडक सुरक्षा व्यवस्थामाथि चिन्ता बढाएको छ ।














प्रतिक्रिया