मतदाता भन्छन्– ‘नयाँ भन्दैमा असल र पुरानो भन्दैमा सबै खराब हुँदैनन्’ « Khabarhub

मतदाता भन्छन्– ‘नयाँ भन्दैमा असल र पुरानो भन्दैमा सबै खराब हुँदैनन्’



काठमाडौं- जीवनको हरेक पहिलो अनुभव उत्साहप्रद र कौतुहल हुन्छ । पहिलो प्रेम, पहिलो रोजगारी, पहिलो कमाइ, पहिलो विदेश यात्राजस्ता पहिलो अनुभव जीवनको उत्तरार्द्धसम्म स्मरणीय समेत हुन्छ ।

फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा जीवनमै पहिलो पटक मतदान गर्ने नयाँ मतदाताको मनमा पनि यस्तै कौतुहल र उत्साह देखिन्छ । जेन-जी आन्दोलनपछि हुन लागेको यो चुनावमा पहिलो पटक मतदान गर्न लागेका युवाहरु पनि धेरै नै उत्साहित छन् ।

समुन्नत राष्ट्र निमार्णको लागि असल नेता आवश्यक पर्छ । असल नेता छान्न विवेकपूर्ण मतदान महत्वपूर्ण हुने भन्दै युवाहरु निर्वाचनलाई लिएर औधी उत्साहित देखिन्छन् ।

पहिलो पटक मतदान गर्ने युवाहरुसँग खबरहबले गरेको कुराकानीमा अधिकांशले नयाँ पार्टीलाई मतदान गर्ने धारणा व्यक्त गरेका छन् । त्यसैगरी, केही युवाहरु चाहिँ नयाँ भन्दैमा सबै असल र पुराना भन्दैमा सबै खराब नहुने टिप्पणी गर्छन् ।

त्यस्तै, कतिपयले पार्टी नभइ मान्छे हेरेर मतदान गर्नुपर्ने बताएका छन् । कलेज पढेर फर्कँदै गरेका केही विद्यार्थीहरुले चुनावको बिदा सुरु हुनेबित्तिकै जिल्ला गएर मतदान गर्न हतार भएको अनुभव पनि सुनाए ।

केही विद्यार्थीले राजनीतिमा रुचि नभएको र जसले जिते पनि वास्ता नभएको समेत अभिव्यक्ति दिएका थिए । तर अधिकांशले चाहिँ देशको समुन्नत भविष्य निर्माण गर्न राजनीति सही मार्गमा हिँड्नुपर्ने र त्यसका लागि विवेक पुर्‍याएर मतदान गर्नुपर्नेमा जोड दिइएको पाइयो ।

उनै युवाहरुको धारणा हामीले आज प्रस्तुत गर्दैछौँ-

बुवाआमा र मेरो पुस्ताको नेता फरक हुनुपर्छ-

रेनु शर्मा, कञ्चनपुर

व्यवस्थापन विषय लिएर ११ मा पढ्दैछु । यसपटक नयाँ पार्टीलाई मतदान गर्ने पक्षमा छु । अहिलेसम्म पुरानालाई हाम्रो अभिभावकहरुले भोट हाल्दै आउनुभयो । अब हामीले नयाँलाई हाल्ने हो ।

मेरो अभिभावक र मेरो नेता एकै भएर हुँदैन । मेरो नेता नयाँ र फरक हुनुपर्छ । पुरानै नेतालाई कति पुस्ताले भोट हालिराख्ने ?त्यसकारण बुवाआमा र मेरो पुस्ताको नेता फरक हुनुपर्छ ।

तर, आमाबुवाले पनि यसपटक नयाँ नेतालाई भोट हाल्ने धारणा बनाइराख्नुभएको छ । भोट परिवर्तन गर्नुपर्ने धारणा नयाँ पुस्ताले मात्रै होइन । अभिभावकसमेतले परिवर्तन गर्ने तयारीमा हुनुहुन्छ ।

यी नयाँले पनि जनताको लागि काम गरेनन् भने उनीहरुलाई पनि अर्को चुनावमा फाल्ने हो । यसपटक र एकपटकलाई यिनीहरु नै रोजौँ भन्नेमा छौँ ।

पुरानो नेता खराब, नयाँ भन्ने बित्तिकै असल हुँदैन
अनुपा नेपाल, दोलखा

१८ वर्ष पुरा भएँ । शिक्षा संकायमा स्नातक गर्दैछु । पहिलो पटक मतदान गर्ने कुराले खुसी लागेको छ । तर, मेरो क्षेत्रमा आफूलाई मन परेको नेता उठेको कारणले पुरानै दलका नेतालाई भोट हाल्ने पक्षमा छु ।

पुरानो भन्दैमा सबै नेता खराब र नयाँ भन्दैमा सबै नेता असल छन् भन्ने कुरा सत्य होइन । आमा र हामीसम्म आइपुग्दाको समाज र भौतिक विकास पनि धेरै परिवर्तन हुँदै आएको छ । मेरो पुस्ताले जसरी पुराना नेतालाई शून्य मूल्याङ्कन गरिरहेका छन् । म उनीहरुसँगै उभिन सक्दिनँ ।

भोट हाल्न हतार लागिसक्यो

अञ्जली यादव, बारा

२० वर्षको भएँ । हाम्रो क्षेत्रमा पहिले कांग्रेसले जित्दै आएको हो । तर यस पटक मतदातामाझ आफ्नो नेता परिवर्तन गर्ने पक्षमा माहोल बनेको छ ।

मैले मतदान गर्ने पार्टीबाट को उम्मेदवार बनेको छ थाहा छैन, गएर खोज्छु, मैले मतदान गर्न खोजेको नेता को रहेछ ? म बुझ्छु । भोट हाल्नु भनेको असाध्यै महत्वपूर्ण काम हो ।

चुनावलाई लिएर धेरै उत्साहित छु । कलेज बिदा हुने बित्तिकै जिल्ला जाने हो । देश विकास र उन्नति गर्न चाहेको व्यक्तिले पक्कैपनि राष्ट्रप्रेमी नेतालाई भोट हाल्नुपर्छ ।

देशलाई सही ट्र्याकमा लान सक्ने नेतालाई भोट हाल्न हतार भइसक्यो । पुराना दलहरुले हाम्रो गाउँको विकास गरेनन् । सधैँ हाम्रो आमाबुवाको भोट चुनाव जितेर नेता भए । तर गाउँको विकासमा र जनताको भलाईको लागि मैले काम गरेको देखिनँ । त्यसकारण पुरानालाई भोट हाल्दिनँ ।

दल होइन, व्यक्ति हेरेर भोट हाल्छु
लक्ष्यजङ्ग शाह, महेन्द्रनगर

पार्टी हेरेर भोट हाल्ने होइन । नेता अर्थात् व्यक्ति हेरेर भोट हाल्ने हो । नयाँ दलको भन्दा पुरानै दलका नेता राम्रो उठ्नुभएको छ । हाम्रो गाउँमा बाटो पुर्‍याएका नेता उम्मेदवार हुनुहुन्छ । उहाँलाई भोट हाल्छु । बाटो नभएको भए, अहिलेका नेता कसरी त्यहाँ हिड्न सक्थे ।

म फुटबल पनि खेल्छु । तर, अर्को समस्या के छ भने म जागिर पनि गर्छु । अफिसले छुट्टी दिन्छ कि दिदैँन भन्नेमा अन्यौल छ ।

मतदातालाई भोट हाल्न जान छुट्टी दिनुपर्छ भन्ने अधिकांशलाई थाहा छैन । मतदान गर्नुभन्दा जागीर ठूलो हो । छुट्टी नपाउँदा धेरैले भोट हाल्न नपाएको मैले देखेको छु ।

नेपाली जन्मिदै ऋण बोकेर जन्मिन्छ

आयुश तामाङ, काठमाडौं

भोट हाल्दै छु भन्ने कुराले आफूले आफैँलाई ‘प्रिसियस’ फिल गरिरहेको छु । मैले नेता छान्दैछु भन्ने कुराले गर्व लागेको छ । पुराना नेताहरुले देश लुटेर सकाए । नेपाली नागरिकलाई अवसर दिनु परको कुरा, जन्मिदै ऋण बोकेर जन्मिन्छ, यो देशको नागरिक । कसले यस्तो वातावरण बनायो भन्दा पुराना नेताले । कम्तिमा हामी नयाँ पुस्ताले अब यस्तो नेतालाई सरकारमा जान दिँदैनौँ ।

नयाँले पुरानाले गरेका गल्ती गर्दैनौँ भनेर वाचा गरेका छन् । एक पटकलाई विश्वास गरौँ भन्ने पक्षमा छु । यिनीहरुले पनि लुट्न सुरु गरे फेरि अर्को नयाँ नेतालाई चुन्ने हो । विश्वास त गर्नुपर्‍यो ।

म जेन–जी आन्दोलनमा पनि सहभागी भएको थिएँ । नयाँ पार्टी हाम्रो मागप्रति सचेत रहन्छ भन्ने विश्वास गरेको छु । विश्वासघात भयो भने अर्को पाँच वर्षमा हुने चुनावबाट अहिले भनिएका नेतालाई पनि फाल्दिने हो ।

पुरानालाई भोट हालेर आमाबुवाले के पाउनुभयो ?

निशान थापा क्षेत्री

भोट हाल्दैछु तर खुसी भने लागेको छैन । भोट नयाँलाई हाल्नुपर्छ भन्ने मनस्थिति बनाएको छु । पुरानो दललाई भोट हालेर हाम्रो आमाबुवाले के पाउनुभयो ? दु:ख गरेर छोराछोरी पढाउनुभयो । बुढेसकालमा सन्तान सबै विदेशमा छन् । बिरामी हुँदा हेरचाह गर्ने सन्तान साथमा छैनन् ।

पाँच वर्ष यी नयाँ नेतालाई हेरौँ । राम्रो नगरे फेरि अर्को नयाँ राज्ने हो । अनुभवी भनेर के गर्ने ? काम नगर्ने नेता भएसी ।

नयाँले काम गर्छन् भन्ने आशा छ

दुर्गा चन्द, धनगढी

स्नातक तहमा अध्ययनरत छु । मतदान क्षेत्रमा को–को नेता उठेका छन् भन्ने थाहा छैन । तर नयाँ पार्टीका नेतालाई भोट हाल्ने योजनामा छु । केपी ओली ज्येष्ठ नागरिक भएर जेन–जी आन्दोलनमा सहभागी विद्यार्थीमाथि गोली चलाउन आदेश दिए ।

बुढो मान्छे भनेर हुने रहेछ त ? अझ त्यसमा जिम्मा लिएर माफीसमेत मागेनन् । त्यस्तो पनि नेता हुन्छ ?

नेता भनेको जिम्मेवारी लिने हो । देशको ढुकुटी खान मात्रै नेता हुने होइन । पहिले मन पर्थ्यो । तर आन्दोलन पछाडी पुराना नेता मन पर्न छोड्यो । यिनीहरुलाई जनताको छोराछोरीको माया रहेनछ भन्ने जानेदेखि मन परेन । त्यसकारण भोट हाल्दिनँ ।

काठमाडौं र दार्चुलाबीचको खाडल कहिले पुरिन्छ ?

जगदीश भट्ट, दार्चुला

यस पटकको मेरो भोट नयाँलाई हो । मेरो जिल्लाको बारेमा तपाईँ अवगत नै हुनुहुन्छ- कति विकट छ भनेर । यो युगमा हाम्रो जिल्लाको विकास नहुनु भनेको पुराना नेता फेल हुनु हो ।

दार्चुलाको गरिबी मात्रै कति बेच्ने ? काठमाडौंमा सडकपेटी वर्षमा चार पटक भत्काएर टायल लगाइराख्ने । मेरो जिल्लामा मूल बाटो पनि बन्दैन । योजना बनाएर बजेट खर्च गर्नुपर्छ होला नी । काठमाडौंको बजेट दार्चुला पठाउँन, के हुन्छ ?

जनतालाई भोटबैङ्क भन्दा बाहेक अरु कुरामा प्रयोग छैन । केही नागरिक जिल्ला छोडेर सुगम क्षेत्रमा बसाईँ सरेका छन् । हामी कलेज पढ्न आयौँ । तर जो गाउँ छोडेर बाहिर निस्कन सक्दैनन्, उनीहरुको स्थिति कति नाजुक छ !

बाटोघाटो बनेन भनेर गुनासो गर्नुपरिरहेको छ । अन्य शिक्षा, स्वास्थ्य र रोजगारको बारेमा बोल्ने हामीले कहिले होला ?

सबै कुरामा बराबरी नभएपनि आधारभूत कुरामा काठमाडौं र दार्चुलाबीचको खाडल कम्तीमा नयाँले पुर्छन् भन्ने आशामा छु ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १० : ५८ बजे

बत्ती पुग्ने आशामा अपिवासी

दार्चुला–      ‘चौलानीको कञ्चन पानी, बिजुलीको खानी    अँध्यारोमै बित्न लाग्यो,

कीर्तिपुरको चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना

काठमाडौं- कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको

मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

तेहरान- इरानी सेनाको वायु सेनाको हेलिकप्टर मङ्गलबार मध्य प्रान्त इस्फहानको

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम

मकवानपुर– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका

मतदाता फकाउन प्रकाशशरणले ल्याए सुरुङ मार्गदेखि केबलकार निर्माणसम्मको योजना

नुवाकोट- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. प्रकाश शरण महतले