सहज छैन झापा-३ मा लिङ्देनको ह्याट्रिक ! « Khabarhub

सहज छैन झापा-३ मा लिङ्देनको ह्याट्रिक !

कांग्रेसका राजेन्द्रले दिन सक्छन् सरप्राइज



काठमाडौं- झापा क्षेत्र नम्बर ३ मा ह्याट्रिक गर्ने दाउसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा उत्रिएका छन् । ०७४ र ०७९ सालको निर्वाचनमा नेकपा एमालेसँग तालमेलको बलमा जितेका उनी यस पटक आफ्नै बलबुताले चुनाव लड्दैछन् ।

यस पटक लिङ्देनको नारा नै ‘सिङ्गल जितिन्छ कसैको सहारा चाहिँदैन’ भन्ने छ । उनले जित्ने दाबी गरिरहँदा यहाँ नेपाली कांग्रेसले नयाँ अनुहार अगाडि सारेको देखिन्छ । यस क्षेत्रमा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको प्रभाव छ। यहाँ सिटौलाले आफ्ना छोरा श्याम सिटौलालाई अगाडि सार्न खोजेका थिए । तर, विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले राजेन्द्र घिमिरेलाई टिकट दिए ।

लिङ्देनलाई टक्कर दिन नेकपा एमालेले पूर्वसंविधानसभा सदस्य हरि राजवंशीलाई उम्मेदवार बनाएको छ । नेपाली कम्युनिस्ट पार्टीले डिल्लीराम घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जिल्ला सभापति प्रकाश पाठकलाई उतारेको छ । पाठक ०७९ को निर्वाचनमा पनि अध्यक्ष लिङ्देनसँग पराजित भएका थिए ।

०७९ को निर्वाचनमा झिनो मतान्तरले हारेका सिटौला यसपटक मैदानमा छैनन् । कांग्रेसले वैचारिक र स्थानीयसँग परिचितलाई अगाडि सार्दा लिङ्देनलाई ढुक्कसाथ निर्वाचन जित्न कठिन देखिन्छ । कांग्रेससँगै एमालेका उम्मेदवार राजवंशी पनि कमजोर होइनन् । लिङ्देन एमालेको सहाराबिना मैदानमा उत्रिएकाले सबैबाट उनलाई कडा चुनौती मिल्ने अवस्था छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा दमन गरेको आरोप लगाउँदै तालमेलले पार्टीकै बदनामी हुने तर्कसहित लिङ्देन एक्लै उठेका हुन् ।

ओलीले पटक पटक तालमेलका लागि अफर गरे पनि लिङ्देनले अस्वीकार गरे । अहिले पनि ओली राप्रपाको समर्थन लिने रणनीतिमा छन् । २०७९ को स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाको मेयर पद राप्रपाले जितेकाले ओलीका लागि यहाँ चुनौती बढेको छ।

यस्तो छ विगत

०७९ को निर्वाचनमा राप्रपा र एमालेबीचको तालमेलपछि लिङ्देन ४० हजार ६६२ मतसहित विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सिटौलाले ३७ हजार ३८६ मत पाए । अघिल्लो निर्वाचनमा रास्वपाका उम्मेदवार पाठकले ३ हजार ४६१ मत ल्याए । अहिले पनि रास्वापाले उनैलाई उम्मेदवार बनाएको छ ।

०७४ को निर्वाचनमा लिङ्देन यही क्षेत्रबाट ४४ हजार ६१४ मत ल्याएर विजयी भएका थिए । सिटौलाले ३१ हजार १६२ मत ल्याए । ०७९ निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ २५,६३४ मत ल्याएर पहिलो दल बनेको थियो । दोस्रो दलका रूपमा राप्रपाले १९ हजार ७४३ मत ल्यायो । तेस्रो दल एमालेले १९ हजार ४६० मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार ८१२ मत ल्याएको थियो ।

त्यसबेला माओवादीले ७,५५९ र एकीकृत समाजवादीले ३४५ मत ल्यायो । अहिलेको निर्वाचनमा पनि यहाँ रास्वपाको खासै प्रभाव देखिँदैन । पाठकभन्दा कांग्रेस उम्मेदवार घिमिरेको माहोल बलियो रहेको आँकलन छ ।

झापा-३ मा बाह्रदशी गाउँपालिका, बिर्तामोड नगरपालिका १०, भद्रपुर नगरपालिकाको १, २, ३, ४, ५, ६, ७ र ८ वडा पर्छन् । यस्तै कचनाकवल र हल्दीबारी गाउँपालिका पनि यसै क्षेत्रमा पर्छ ।

अहिले यहाँ १ लाख ४० हजार ८३७ मतदाता छन् । २०७९ भन्दा यहाँ ९ हजार ४ सय १५ नयाँ मतदाता थपिएको निर्वाचन आयोगको तथ्याङ्क छ । थपिएका मतदाता राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देखिँदा त्यसको लाभ लिङ्देनले लिन सक्छन् । कांग्रेस सभापति गगन थापाले नेतृत्व लिएपछि युवाहरूको आकर्षण उत्तिकै बढेको देखिन्छ ।

राजेन्द्रलाई राजेन्द्रकै डर

२०७९ र ०७४ को निर्वाचनलाई हेर्दा एमालेको सहयोगका कारण लिङ्देनले भारी मत ल्याएका थिए । ०७९ को निर्वाचनमा पनि सिटौलासँग नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धन थियो ।

पाँच दलीय गठबन्धनकै कारण कांग्रेसका उम्मेदवार सिटौलाले ३७ हजार ३ सय ८६ मत पाए । यता एमालेको मत जोड्दा नै राजेन्द्रले ४० हजार कटाए ।

समानुपातिकमा पहिलो बनेको कांग्रेसको चोखो मत २५ हजार छ। यस पटकको निर्वाचनमा कांग्रेस नेता सिटौलाले नरुचाएका राजेन्द्रलाई नदिएर राप्रपाका राजेन्द्रलाई दिने अवस्था छैन । सिटौलाको प्रभाव यस क्षेत्रमा श्याम भने राजेन्द्रलाई जिताउन डुलिरहेका छन् । यसले कांग्रेस उम्मेदवारविरुद्ध अन्तरघात हुने सम्भावना कम छ ।

पुरानो अनुहार राप्रपा अध्यक्ष लिङ्देनजत्तिकै प्रभाव कांग्रेसका उम्मेदवार घिमिरेको पनि छ । समुदायको तल्लो तहसम्म भिजेका र हरेक मतदातासँग जोडिएकाले कांग्रेसका राजेन्द्रलाई यहाँ बलियो मानिन्छ।

संगठनको हिसाबले यहाँ कांग्रेस राप्रपाबीच प्रतिस्पर्धा हुने अवस्था छ । विगतबाट राप्रपाको पक्षमा राम्रो माहोल भए पनि यसपटक कांग्रेसका उम्मेदवार पनि बलिया छन् । नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष तारामणि सापकोटा भन्छन्, ‘कांग्रेस र राप्रपाबीच झिनो मतान्तरको प्रतिस्पर्धा हुन्छ । रास्वपा र एमालेले पनि राम्रै मत ल्याउने आँकलन गर्न सकिन्छ ।’

लिङ्देनलाई दिन सक्छ कांग्रेसले सरप्राइज

राप्रपाका अध्यक्ष लिङ्देन आफू जित्ने विषयमा द्विविधा नभएको बताउँछन् । यहाँ गरेको कामको मततदाताले सधैँ प्रशंसा गरेको बताउँदै आफूले जित्नेमा कुनै शंका नभएको लिङ्देनले बताए । ‘ढुक्कले जितिन्छ । मतदाताको घरघर पुग्दा उत्साह र ऊर्जा पाएको छु । विकास निर्माणलाई निरन्तरता दिन र आगामी दिनमा यहाँको आवाज बुलन्द पार्न पनि मलाई चुन्नुहुन्छ ।’

कांग्रेस उम्मेदवार घिमिरे यस पटक सरप्राइज दिने दाउमा रहेको दाबी गर्छन् । विगतमा प्राविधिक कारणले कांग्रेसले हारेको बताउँदै घिमिरे यस पटक मतदाताले एकीकृत कांग्रेसलाई विजय गराउने दाबी गरे ।

‘विगतमा कांग्रेसले प्राविधिक कारण पराजित हुनु परेको थियो । यसपटक कांग्रेस एकढिक्का छ । केन्द्रमा नयाँ नेतृत्व आएर कांग्रेस परिमार्जित भएकाले झापा-३ का जनता उत्साहित हुनुहुन्छ,’ घरदैलोबाटै घिमिरेले भने, ‘यसपटक झापा ३ ले सरप्राइज दिँदैछ । को-कसरी ढुक्क हुनुभयो ?, हामीलाई मतलब भएन तर यहाँका मतदाताले मलाई विश्वास गर्नुभएको छ ।’

रास्वपा सभापति रवि लामिछाने मङ्गलबार झापा पुगेपछि उम्मेदवार प्रकाश पाठक उत्साहित छन् । उनी देशभर घण्टीको लहर चलेकाले झापा पनि नयाँ किल्ला बन्नेमा दुईमत नरहेको बताउँछन् । ‘०७९ को निर्वाचनमा प्राविधिक कारणले कम मत आएको हो । यसपटक झापा घण्टीमय हुनेमा दुईमत छैन’, उनले भने ।

विगतमा एमालेले अरूलाई जिताउने सर्तमा उम्मेदवारी नदिएको बताउँछन् राजवंशी । यस पटक आफ्नो जित हुने आत्मविश्वा राजवंशीले देखाए । कोशी प्रदेश सांसदका रुपमा काम गरिसकेका उनी झापा-३ का जनताले आफूलाई राम्रोसँग चिनेको दाबी गर्छन्।

२०७९ मा प्रतिनिधि सभाका दुई निर्वाचन क्षेत्रमा एमाले र राप्रपाको तालमेल थियो । झापा ३ मा एमालेले राप्रपालाई सहयोग गर्दा राप्रपाले झापा ५ मा साथ दिएको थियो । तर यस पटक झापा ५ मा बालेन्द्र साहले ओलीलाई चुनौती दिँदा झापा ३ मा लिङ्देनलाई अन्य दलले बलियो टक्कर दिएका छन् । ओली र लिङ्देनका लागि यो निर्वाचनबाट जित निकाल्नु फलामको चिउरा चपाउनुसरह भएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ६ : ३१ बजे

दलका घोषणापत्रमा जनस्वास्थ्य : विज्ञ भन्छन्, ‘मसला पोको पार्न कागज काम लाग्छ’

काठमाडौं- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न

आजका समाचार : निर्वाचनमा तीन दिन बिदा, सुनसरी रवि-बालेन सँगै, निर्वाचनलाई चीनको ४० लाख डलर अनुदान र फेरि तनावतिर कम्बोडिया-थाइल्याण्ड

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णयसरकारले प्रतिनिधिसभा निर्वाचनका

मौद्रिक नीति अर्धवार्षिक समीक्षा : क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२-८३ को मौद्रिक

दलको चासोमा नपरेको फिल्मी क्षेत्र, घोषणा पत्रमै बेवास्ता

काठमाडौं – कलाकारहरू राजनीतिमा जान्छन् तर, सोचेजसरी टिक्न सक्दैनन् ।

निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्नू : निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन  प्रचारप्रसारको