दलका घोषणापत्रमा जनस्वास्थ्य : विज्ञ भन्छन्, ‘मसला पोको पार्न कागज काम लाग्छ’ « Khabarhub

दलका घोषणापत्रमा जनस्वास्थ्य : विज्ञ भन्छन्, ‘मसला पोको पार्न कागज काम लाग्छ’


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दलहरु चुनावी घोषणा पत्रसहित घरदैलो अभियानमा होमिएका छन् ।

सबै दलहरुले मतदाता लोभ्याउन आकर्षक घोषणापत्र तयार पारेका छन् । धेरै चर्चामा रहेका मुख्य तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न एजेण्डा सहितका घोषणापत्र सार्वजनिक गरेका छन् ।

नागरिकको स्वास्थ्य सेवा तीन वटै मुख्य दलहरुको मुख्य एजेण्डामा परेको छ । आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य बीमा कार्यक्रम लगायत धेरै बुँदाहरु प्रायः सबैले समेटेका छन् । विज्ञहरुले भने दलका पछिल्ला घोषणा पत्रलाई विगतकै बाचाहरुको निरन्तरता भनेर टिप्पणी गरेका छन् ।

जनस्वास्थ्यविद् अरुणा उप्रेती स्वास्थ्य क्षेत्रमा दलका बाचा प्रायः कागजमै सीमित रहेको टप्पणी गरेकी छिन् । ‘नेताहरुले घोषणा पत्रमा सबै नागरिकलाई स्वास्थ्य ग्यारेन्टी गर्ने बाचा गर्छन् । तर, अस्पतालको शिलान्यास भए पनि सञ्चालन कहिले हुने भन्ने स्पष्ट छैन’ सामाजिक सञ्जालमार्फत उनले टिप्पणी गरेकी छन् ।

एमालेको घोषणाप्रति कटाक्ष गर्दै उनी लेख्छिन्– ‘नेपाल त अस्पतालै अस्पतालको देश बन्ने भो । ती अस्पतालको शिलान्यास भएर कहिले चल्ने हो ? कति बने, कति कागज मै बिलाए, हिसाब कसले गर्ने ?’

उनका अनुसार मतदाताहरु घोषणापत्र पढेर निर्णय लिनु भन्दा प्रचार र व्यक्तिगत अनुभवमा बढी आधारित हुन्छन् । ‘खासै घोषणापत्रप्रति मतदाताको चासो देखिँदैन, एउटा औपचारिक कर्मकाण्डमा सीमित भएको छ,’ उप्रेतीले भनेकी छन् ।

त्यस्तै अन्य दलका घोषणापत्रहरुमा पनि नयाँपन केही नदेखिएको र समेटिएका विषयमा पनि कुनै अध्ययन तथा स्रोत सुनिश्चित नगरी बोल्नकै लागि मात्र बोलिएको विज्ञहरु बताउँछन् ।

‘यस्ता घोषणा पत्र कसले पढेर बस्ने होला ? दलका आसेपासेले समेत विश्वास नगर्ने यस्ता बाचाको के अर्थ ?’ विज्ञको प्रश्न छ, ‘राजनीतिक दलहरूले घोषणापत्र तयार गर्दा उचित गृहकार्य नगरी पहिलाको सामग्रीमात्रै कपी–पेस्ट गरेका छन् । यिनीहरूका घोषणापत्रमा वास्तविक योजना वा ठोस कार्यक्रम छैन । एमाले, कांग्रेस वा अन्य दलको घोषणापत्र हेरे पनि केही फरक छैन । स्वास्थ्यका विषयमा जे–जे मन लाग्यो त्यही त्यही राखेका छन् ।’

राजनीतिक दलको घोषणा पत्र बच्चालाई खेलाउन बल बनाउने, जिरा मसला पोको पार्ने काममा मात्र प्रयोग हुने खालको भएको जनस्वास्थ्यविद् उप्रेतीको टिप्पणी छ ।

कुन दलको घोषणापत्रमा के छ ?

एमाले- निःशुल्क सेवा, बीमा सुदृढीकरण र पूर्वाधार विस्तार

१. स्वस्थ खाना, योग–व्यायाम : निरोगी नेपालको महाअभियान

  • स्वस्थ खाना, नियमित योग र व्यायाममार्फत निरोगी नेपाल निर्माण गर्ने अभियान सञ्चालन गरिनेछ ।

२. आधारभूत स्वास्थ्य सेवा

  • आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र सबै नागरिकको पहुँचमा पुग्ने गरी सुनिश्चित गरिनेछ ।
  • संघीय सरकारको वित्तीय सहयोगमा स्थानीय तहबाट कार्यान्वयन हुने आधारभूत स्वास्थ्य सेवासँगै ठूला स्वास्थ्य प्रदायक संस्थाबाट पनि आधारभूत सेवा उपलब्ध गराइने व्यवस्था मिलाइनेछ ।
  • आधारभूत स्वास्थ्य सेवालाई प्रमाणमा आधारित प्राथमिकतामा राखी निःशुल्क, विश्वसनीय र सर्वव्यापी बनाइनेछ ।

३. स्वास्थ्य बीमा सुधार

  • स्वास्थ्य बीमामा देखिएको वित्तीय तथा व्यवस्थापकीय समस्या समाधान गरी नागरिकलाई सहज स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ ।
  • स्वास्थ्य प्रणालीमा रहेको दोहोरो वित्तीय बोझ, सेवा उत्पादन–खरिदको अन्योल र बीमा तथा निःशुल्क सेवाबीचको दोहोरोपन हटाइनेछ ।
  • स्वास्थ्य बीमा प्रणाली र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमहरू क्रमशः एकीकृत गरिनेछ ।
  • सही नीति, सुशासन र प्रभावकारी वित्तीय संयोजनमार्फत उपलब्ध स्रोतको अधिकतम उपयोग गरी सर्वव्यापी स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ ।
  • स्वास्थ्य बीमा प्रणालीलाई संरचनात्मक र सञ्चालनगत सुधार गरी दिगो बनाइनेछ ।
  • दिगो राष्ट्रिय वित्तीय स्रोतको व्यवस्था गर्दै बीमाको दायरा विस्तार गरिनेछ ।
  • आधारभूत, प्राथमिक र समग्र प्राथमिक स्वास्थ्य सेवाबीच स्पष्ट परिभाषा, सेवा प्याकेज, जिम्मेवारी र वित्तीय व्यवस्था कानुनमै स्पष्ट गरिनेछ ।

४. स्वास्थ्य पूर्वाधार र जनशक्ति

  • प्रत्येक प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा कम्तिमा एक एमडीजीपी चिकित्सक, नर्स, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध गराइनेछ ।
  • स्वास्थ्य सेवा केन्द्रआधारित उपचार र सिफारिसमा आधारित मात्र रिफरल प्रणाली विकास गरिनेछ ।
  • जिल्ला अस्पतालको स्तरोन्नति गरी न्यूनतम विशेषज्ञ सेवा उपलब्ध गराइनेछ ।
  • प्रदेशस्तरमा प्रभावकारी रिफरल प्रणाली स्थापना गरिनेछ ।
  • वडादेखि केन्द्रसम्म अस्पताल पूर्वाधार निर्माण तथा आधुनिकीकरण सम्पन्न गरिनेछ ।
  • जिल्ला, प्रदेश र केन्द्रीय अस्पतालबाट विश्वस्तरीय उपचार सेवा स्वदेशमै उपलब्ध गराइनेछ ।
  • सरकारी अस्पतालको व्यवस्थापन, स्वास्थ्य जनशक्तिको नियुक्ति र परिचालन सुधार गरिनेछ ।
  • चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि प्रोत्साहन, सुरक्षा, वृत्तिविकास र मर्यादा अभिवृद्धि गरिनेछ ।
  • निजी अस्पतालको शुल्क र गुणस्तर नियमनका लागि मापदण्ड र क्यापिङ प्रणाली लागू गरिनेछ ।

कांग्रेसको स्वास्थ्य योजना

१. स्वास्थ्य सेवा नागरिकको अधिकार

  • स्वास्थ्य सेवा राज्यको परोपकार होइन, नागरिकको मौलिक अधिकार र राज्यको दायित्व हो ।
  • आर्थिक अभावका कारण कसैले पनि उपचारबाट वञ्चित हुनु हुँदैन ।
  • प्रत्येक नेपालीले सुरक्षित, सम्मानजनक र गुणस्तरीय स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नेछ ।

२. निःशुल्क स्वास्थ्य सेवा

  • सबै नागरिकले आफ्नो उपचार खर्चबारे निश्चिन्त रहून् ।
  • ‘युनिभर्सल हेल्थ कभरेज’ र ‘स्वास्थ्य समता’ प्राथमिकता ।

३. स्वास्थ्य बीमा

  • स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाइनेछ ।
  • सबै नेपाली अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनेछन् ।
  • कमाउनेले प्रिमियम तिर्ने, नहुनेको राज्यले व्यहोर्ने ।
  • सबै प्रकारका उपचार सेवा बीमाबाट लिन सकिने ।
  • छरिएका सबै स्वास्थ्य सामाजिक सुरक्षा योजना र सहुलियतलाई एकीकृत गरिने ।
  • स्वास्थ्य कर र अन्य स्रोतलाई बीमा कोषमा जम्मा गरी ‘एकद्वार प्रणाली’ लागू गरिने ।
  • डिजिटल प्रणालीमार्फत दावी प्रक्रिया छरितो, पारदर्शी र सरल बनाइने ।
  • ‘एक नागरिक, एक डिजिटल स्वास्थ्य प्रोफाइल’ लागू गरिने ।

४ महँगो रोगमा पूर्ण राहत

  • क्यान्सर, मिर्गौला, कलेजो र मुटु प्रत्यारोपण, सिकलसेल थालसिमिया, एपलाष्टिक एनिमिया जस्ता रोगमा स्वास्थ्य बीमाबाट असीमित र पूर्ण राहत ।
  • ५ विशेष उमेर समूहको निःशुल्क उपचार
  • ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई जुनसुकै अस्पतालमा निःशुल्क उपचार ।

रास्वपा : बीमा विस्तारदेखि ‘जलन उपचार कोष’

  • देशभरि आधारभूत स्वास्थ्य क्षेत्रमा ‘न्यूनतम मापदण्ड’ कायम गरी सेवा प्रवाह गर्न आवश्यक मानव संसाधन, पर्याप्त औषधि आपूर्ति, अत्यावश्यक उपकरण, सहज पहुँच तथा आधारभूत पूर्वाधारको सुनिश्चितता सहितको एकीकृत मोडेल तयार गरी लागू गर्नेछौं। भौगोलिक विकटता र जनसंख्या घनत्वका आधारमा सेवा विस्तारको स्पष्ट मापदण्ड तय गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विशेष प्राथमिकताका साथ विस्तार गर्नेछौं । साथै देशभरका स्वास्थ्यकर्मीलाई जोड्न भर्चुअल शैक्षिक तथा सामाजिक सञ्जाल खडा गर्नेछौँ, जसले गर्दा दुर्गम ठाऊमा खटेका स्वास्थ्यकर्मीहरुलाई एक्लो तथा पृथक महसुस हुनेछैन ।
  • स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुदृढ मोडलमा गुणस्तरीय स्वास्थ्य सेवा तथा प्रत्येक नागरिकको पहुँच सुनिश्चित हुने गरी विस्तार गर्नेछौँ । स्वास्थ्यसँग सम्बन्धित सबै सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई एकद्वार प्रणाली मार्फत व्यवस्थित गर्दै औषधी, उपचार तथा सेवाहरू, मानसिक स्वास्थ्य समेत स्वास्थ्य बीमा कार्यक्रम भित्र समेटिने गरी स्वास्थ्य क्षेत्रमा नेपाल सरकारको मुख्य प्राथमिकताको कार्यक्रमको रूपमा अघि बढाउनेछौँ ।
  • क्यान्सर लगायत नसर्ने रोगका सन्दर्भमा उपचारमुखी भन्दा रोकथाम मुखी रणनीतिलाई मुख्य लक्ष्यका रूपमा कार्यान्वयन गर्नेछौँ ।
  • विविध प्रकारका अनुदान वा नगद हस्तान्तरणलाई दीर्घकालीन समाधानको सट्टा अस्थायी राहतका रूपमा बुझ्दै, रोग लागेपछि उपचार गर्ने भन्दा जोखिमहरूको पहिचान, जनचेतना अभिवृद्धि, नियमित स्वास्थ्य परीक्षण तथा जीवनशैली सुधारतर्फ उन्मुख गर्नेछौँ ।
  • प्रत्येक प्रदेशमा कम्तीमा एक ‘अत्याधुनिक अपाङ्गता पुनस्र्थापना विशिष्टिकृत स्रोत केन्द्र’ स्थापना गरी अपाङ्गता भएका नागरिकलाई गुणस्तरीय र एकीकृत स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौँ ।
  • यी केन्द्रहरूमा ‘प्रोस्थेटिक्स र अर्थोटिक्स’ सेवा, सहायक सामाग्री, फिजियोथेरापी, अकुपेसनल थेरापी, र स्पीच थेरापी जस्ता विशेषज्ञ सेवाहरू एउटै छानोमुनि उपलब्ध गराइनेछ भने कृत्रिम अङ्गहरूको निर्माण र मर्मतका लागि आधुनिक प्रयोगशालाको व्यवस्था गर्नेछौँ ।
  • जनताका लागि घोषणा गरिएको बीमा कार्यक्रम स्रोतको अभावमा चल्न नसकिरहेको अवस्थामा जनस्वास्थ्यका विषयमा सबै दलहरुले निशुल्क उपचार सेवाको उडन्ते कार्यक्रम ल्याएका छन् । त्यसको स्रोत सुनिश्चितताका विषयमा सबै मौन छन् । राज्यले दिएको सुविधा समेत खुम्चिएको अवस्थामा चुनावी नारा बनेका यस्ता आश्वासन कति भरलाग्दा होलान ? परीक्षणको कसीमा छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ७ : ५६ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको