काठमाडौं- प्रतिनिधि सभाको निर्वाचन भएको दुई महिना हुन लाग्दा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रियामा अनिर्णयको बन्दी बन्दै गएको छ।
युवा नेताहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले हाँकिरहेको कांग्रेसमा अझै पनि प्रतिनिधिसभा संसदीय दलको नेता चयन प्रक्रिया टुंगिन नसकेको हो ।
जम्मा ३७ जना सांसदमध्ये दलको नेताका लागि २ देखि ३ जना मात्रै प्रतिस्पर्धामा हुँदा पनि कांग्रेस लामो समयदेखि अनिर्णयको बन्दी बनेको हो ।
दलको नेता चयनका लागि निर्वाचन तालिकासमेत सार्वजनिक भइसकेको कांग्रेसले हाललाई उक्त कार्यक्रम नै स्थगित गरेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले दलको नेता चयनसम्बन्धी चुनावी तालिका नै सार्वजनिक गरेको अवस्थामा नेतृत्वले त्यसलाई तत्कालका लागि रोकेको हो ।
निर्वाचन प्रक्रिया रोकिएसँगै कांग्रेसभित्र विशेष महाधिवेशनबाट नयाँ जनादेशसहित आएको नेतृत्वमा पनि उही पुरानै समस्या देखिएको छ ।
अन्तिम समयमा चयन प्रक्रिया रोकिएको पुष्टि निर्वाचन समिति सदस्य मुना भुसालले गरेकी छन् । उनले अब नयाँ प्रक्रिया कहिले सुरू हुन्छ भन्ने अनिश्चित रहेको बताएकी छन् ।
यसअघि नै दलको नेता सहमतिबाट चयन गर्न उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा सात सदस्यीय समिति बनाइएको थियो ।
सभापति थापा र उपसभापति शर्माबीच नेता भीष्मराज आङ्देम्बेलाई दलको नेता बनाउने सहमति भएको चर्चाबीच फेरि प्रक्रिया अनिश्चितकाललाई पछि धकेलिएको हो । तर गगन र विश्वप्रकाशबीच अझै पनि पूर्णसहमति नभएको चर्चा छ ।
कांग्रेसले बनाएको शर्मा समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे पनि छन् । उता निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाललाई पनि सदस्य तोकिएको छ
सहमति भएको चर्चाबीच कांग्रेसमा पुरानै समस्या दोहोरिने गरी दलको नेता चयनले झमेला बढाएको हो । सभापति थापाले रसुवा सांसद मोहन आचार्यलाई बोक्दा उपसभापति शर्माले समानुपातिक सांसद आङ्देम्बेलाई साथ दिएको बताइएको छ।
उता सभापति थापाका ससुरासमेत रहेकका अर्का समानुपातिक सांसद अर्जुननरसिंह केसीले सहमति नबनेको अवस्थामा आफू चुनावी प्रतिस्पर्धाका लागि तयार रहेको बताएका छन् । शीर्ष नेताबीचको मतभेद र दाबेदारबीच पनि एकमत हुन नसक्दा शुक्रबारका लागि तोकिएको दलका नेताको निर्वाचन नै भाँडिएको छ।













प्रतिक्रिया