सरकारलाई श्रम संस्कृतिका नेताको प्रश्न : सुकुम्बासीलाई लजमा हनिमुन मनाउन लैजान लागेको हो ? « Khabarhub

सरकारलाई श्रम संस्कृतिका नेताको प्रश्न : सुकुम्बासीलाई लजमा हनिमुन मनाउन लैजान लागेको हो ?



काठमाडौं- सरकारले यही शनिबार बिहान ६ बजेदेखि काठमाडौं महानगरपालिकाभित्रका सुकुम्बासी बस्तीमा डोजर चलाउन निर्देशन दिएको छ । प्रधानमन्त्री वालेन्द्र शाह आफैँले पनि सुरक्षा प्रमुखहरूलाई कुनै हालतमा नदी किनारका सुकुम्बासी बस्ती हटाउन भनिसकेका छन् ।

सरकारको यो कठोर निर्णयमा नेकपा एमाले, श्रम संस्कृति पार्टी र नेपाली कांग्रेस लगायतले असहमति जनाएका छन् । श्रम संस्कृति, एमाले र कांग्रेसले यसबारे औपचारिक धारणा ल्याएर बल प्रयोग नगर्न भनिसकेका छन् । सरकारको यो निर्णयपछि खबरहब टिम रिपोर्टिङका लागि थापाथलिस्थित सुकुम्बासी बस्ती पुगेको थियो ।

यो सामाग्री तयार गर्दै गर्दा प्रधानमन्त्री वालेन्द्र शाहले बल प्रयोग नहुने तथा मानवीय ढंगले सुरक्षित स्थानमा सारिने बताइसकेका छन् । रिर्पोटिङका क्रममा थापाथलीको सुकुम्वासी बस्तीमा श्रम संस्कृति पार्टीका नेता समिर लामा भेटिए । उनी काठमाडौँ क्षेत्र नम्बर १ बाट उठेर पराजित भएका उम्मेदवार हुन् । यो बस्ती उनी उठेको निर्वाचनमा क्षेत्रअन्तर्गत पर्दछ । सरकारको निर्णयपछि सुकुम्बासी परिवारको अवस्था बुझ्न पुगेका उनीसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश-

आज तपाईं सुकुम्बासी बस्तीमा किन आउनु भएको ?

यो बस्ती मेरो निर्वाचन क्षेत्रमा पर्छ । यहाँका जनतालाई पीडा हुनु भनेको मलाई दुख्नु हो । म सहन सक्दिनँ । सरकारको निर्णय आउँदादेखि नै मलाई यहाँका जनताले फोन गरिरहनु भएको थियो । के गर्ने होला ? कसरी अगाडि बढ्ने होला ? सरकारले साँच्चै डोजर लाउँछ कि चलाउँदैन भनिरहँदा जनताको पीडा सुन्न म आएको हुँ । यहाँ पनि सबैको एकै स्वर नभएको पाएको छु । मलहम लगाउन सक्दो प्रयास गरिरहेको छु । पार्टीले पनि सरकारको निर्णयविरुद्ध वक्तव्य जारी गरेको छ । आज बिहानैबाट म यहाँ छु । उहाँहरूको समस्या सुनिरहेको छु । सरकारले व्यवस्थापनको विकल्प नदिई यस्तो निर्णय गर्नु गलत छ । विकल्प पाएको भए यस्तो गन्हाउने ठाउँमा त उहाँहरू पनि बस्नुहुन्न होला । त्यसो गरेमा उहाँहरूले पनि पक्कै यो ठाउँ सहजै छोड्नुहुन्छ भन्ने मलाई लाग्छ ।

सबैको एक स्वर छैन भन्नुभयो । बस्तीका नागरिकमा के कस्ता भिन्नता पाउनुभयो ?

मलाई पर्दा मेरो छिमेकी र छिमेकिलाई अफ्ठ्यारो पर्दा म हुनुपर्‍यो नि त । यहाँ कोही चुपचाप झोला बाँधेर हिड्ने, कोही यहीँ बसिरहनुभएको छ । अब वास्तविक सुकुम्बासी को हो ? भन्ने थाहा हुनु पर्‍यो । देशभर ७२ लाख सुकुम्बासीको तथ्याङ्क आइरहँदा तीमध्ये भूमिहीन ७ लाखमात्रै सडकमा उत्रिए के होला ? हिजो एक लाख जेन–जीले त उथलपुथल बनाइदिए भने अबको अवस्था के होला ? यी विषयलाई मनन गरेर अघि बढ्नुपर्छ ।

सरकारले भोलि बिहान डोजर लिएर आउँदै छ, त्यसमा यहाँको पार्टीले विरोधका कार्यक्रमको तयारी गरेको छ ?

हामीले भन्दा पनि यहाँका स्थानीयले के गर्नुहुन्छ भन्ने मुख्य कुरा हुन्छ । हामीले त डोजर ल्याउनु पहिले व्यवस्थापन गर्नुपर्छ । त्यसपछि मात्रै के गर्ने, कसो गर्ने निर्णय गर्नुपर्छ भन्ने हो । भनिरहेका छौँ । सरकारको निर्णयविरुद्ध हाम्रो पार्टीसँगै काठमाडौँ निर्वाचन क्षेत्र–१ बाट पनि वक्तव्य निकालिसकेका छौँ ।

सरकारको यो निर्णयमा अन्तर्राष्ट्रिय संघ संस्थादेखि अन्य पार्टी वा नेताबाट पनि मानवीय दृष्टिकोण र विरोधका आवाज सुनिन्छन् । सरकार बाहिरका पार्टीहरुबीच सहकार्य छ ?

अन्तर्राष्ट्रिय फोरमका कुरा त हामीले पनि समाचारमा देखेका हौँ । तर अन्य कुनै पार्टीबाट यहाँ कोही नेता कार्यकर्ताको उपस्थिति मैले देखेको छैन । सरकारको यो निर्णय कति अपरिपक्व छ भन्ने त उहाँहरूलाई लजमा राख्ने कुराबाटै प्रष्ट हुन्छ । अब सरकारले कति दिन लजमा राख्ने ? कति जनालाई राख्ने ? यहाँ कति बिरामी हुनुहुन्छ । उपचार गर्ने कसरी ? हनिमुन मनाउन लैजाने त होइन, सरकारको बजेटले भ्याउँछ कि भ्याउँदैन ? नेपालमा कति लज होटल छन । यहाँ सामान्य चाडपर्वमा त प्रयाप्त होटल पाइँदैनन् अब, लाखौँ जनतालाई होटलमा लगेर कति दिन पाल्ने ?

यो विषय त डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदादेखि बारम्बार विवादमा आउँछ । तर समाधान कहिले भएन । के कारणले निक्र्यौल नभएको जस्तो लाग्छ ?

अहिलेसम्म सरकारले सुकुम्बासीका लागि उचित व्यवस्थापन गरेको जस्तो मलाई लाग्दैन । विगतका सरकारले सोचेको भए त यो समस्या नै उत्पन्न हुँदैनथ्यो । ललितपुरतर्फकै जस्तो बनाउने भए उहाँहरू छोड्न तयार हुनुहुन्छ । अझै पनि सरकारले उहाँहरूलाई २/४ दिन, महिना समय दिएर व्यवस्थापन गर्न सक्ला । हाम्रो अध्यक्षज्यूले भनिरहनुभएको छ, बच्चा खेलाउने जस्तो होइन यो काम ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ६ : ४५ बजे

सहकारी बैंकको सञ्चालक : छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने

काठमाडौं– राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण

मदनको स्मृति दिवसकै दिन विद्यालाई शंकर र विष्णुको ढाडस

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने भगीरथ प्रयत्नमा छिन्

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

काठमाडौं– युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा

चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै

एजेन्सी– चीनले नयाँ मानवसहित अन्तरिक्ष अभियानका लागि अन्तरिक्षयान प्रक्षेपणको तयारी

विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहन्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका