काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा चर्चित अनुहारले उम्मेदवारी दिएका छैनन्।
महामन्त्री भूपदेव शाह, भौतिक पूर्वधारमन्त्री सुनिल लम्साल र गृहमन्त्री सुदन गुरुङले उम्मेदवारी दिएनन् । उनीहरूलाई मनोनित कोटाबाट समावेश गर्ने कुरामा शीर्ष तहमा सहमति भएको छ।
यी कुनै नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएपछि सभापति लामिछानेले मनोनित गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ।
सुनिललाई वरिष्ठ नेता बालेन शाहले उपसभापतिमा मनोनित गर्दा भूपदेवलाई महामन्त्री र प्रमोद न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी दिन लागिएको स्रोतको दाबी छ।
गृहमन्त्रीसमेत रहेका सुधन गुरुङलाई केन्द्रीय सदस्यसँगै सचिवालय सदस्य या सह-ममन्त्रीमध्ये कुनै एक पद दिने तयारी सभापतिको छ।
स्रोतका अनुसार भूपदेव शाह महामन्त्री बन्ने पक्का भएको छ। उता मन्त्रीसमेत रहेका सुनिल लम्साल उपसभापति बन्दैछन् ।
उता सभापति रवि लामिछानेका विश्वास पात्रमध्ये एक नेता प्रमोद न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीको खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। उनी केन्द्रीय सदस्यको उम्मेदवार बनेसँगै सभापति रवि लामिछानेले प्रवक्तामा नियुक्त गर्ने सम्भावना छ ।
जेन-जीको नेता बताउने सुधनलाई पनि बालेनले केन्द्रीय सदस्यमा मनोनित गरेर सचिवालयमा स्थान दिने निश्चित छ । उनीनिकट स्रोतका अनुसार यसको निर्णय करिब भइसकेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा तीनजना उपसभापति छन् । जसमध्ये एकलाई सभापतिले मनोनीत गर्ने व्यवस्था विधनमा छ। यस पटक पनि डा. स्वर्णिम वाग्ले उपसभापतिमा दोहोरिन तयार छन् ।
उता महिला उपसभापतिमा सोबिता गौतम र वर्तमान कोषाध्यक्ष लिमा अधिकारी दौडमा छन्। सोबिता मन्त्री भएकाले लिमालाई उपसभापतिमा सर्वसम्मत लैजाने तयारी छ। तर त्यसका लागि पहिला केन्द्रीय सदस्य पदमा जित्नुपर्ने हुन्छ।
यस्तै पार्टी विधानमा एकजना महामन्त्री पनि सभापतिले नियुक्त गर्न पाउने व्यवस्था छ। त्यसमा बालेनका सहयोगी भूपदेवलाई रविले मनोनीत गर्दैछन् ।
सभापतिले मनोनीत गर्ने महामन्त्रीमा केन्द्रीय सदस्य जित्नुपर्ने बाध्यता छैन। सभापतिले प्रवक्ता पनि आफैँ रोज्न पाउने विधानमा व्यवस्था छ। यस्तोमा रविले प्रमोदलाई रोज्ने सम्भावना छ। वर्तमान प्रवक्ता मनिष झाले महामन्त्रीमा उम्मेदवारी दिइसकेका छन्।
सुधनलाई सचिवालयमा ल्याउने तयारी रविले गरेका छन् । गृहमन्त्री गुरुङसँगै भदौ २३ र २४ गतेको आन्दोलनमा सक्रिय जेन-जी नेताहरूलाई पनि सचिवालय र केन्द्रीय सदस्यमा नियुक्ति गर्ने तयारी छ ।
महामन्त्रीमा धेरै आकांक्षी
पदाधिकारीमा सर्वसम्मतको कोसिस भए पनि धेरैजनाले आकांक्षा राख्दा तनाव भएको छ। विशेषत: महामन्त्री पदमा धेरैको आकांक्षा छ । यस्तोमा यो पदमा निर्वाचन हुने अवस्था छ।
एक खुल्ला महामन्त्रीका लागि वर्तमान प्रवक्ता मनिष झा, सह-ममन्त्री विपिनकुमार आचार्य, वर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी लगायत नेताहरू दौडमा छन् ।
महामन्त्रीमा चर्चित नेताले इच्छा जाहेर गरेपछि निर्वाचन हुने अवस्था छ । कविन्द्रलाई प्रमुख सचेतकको जिम्मेवारी दिएकाले महामन्त्री पद छोड्नुपर्ने माग उठ्दा अन्तिममा सहमति हुन सक्छ ।
तर वर्तमान सह-महामन्त्री विपिन र प्रवक्ता मनिष मैदानमा अग्रपंक्तिमा देखिएका छन् । विपिनलाई रविले महामन्त्री बनाउने तयारी गरेका छन् । उता मनिष आफ्नो परीक्षण निर्वाचन प्रक्रियाबाट गर्न चाहन्छन्। उनले यसअघि नै महामन्त्रीमा उम्मेदवारीको घोषणा गरिसकेका छन् ।
उपसभापतिमा पनि उस्तै
उपसभापतिमा स्वर्णिम वाग्लेसहित गणेश पराजुली लगायत नेता आकांक्षी छन्। शिशिर खनाल र विराजभक्त श्रेष्ठ पनि पदाधिकारीका आकांक्षी हुन्।
उनीहरूको दाबी उपसभापतिमा देखिन्छ । महिला उपसभापतिका लागि सोबिता र लिमा अधिकारीसँगै प्रतिभा रावलको नाम पनि आएको छ।
सोबिता कानुन मन्त्री र प्रतिभा भूमिसुधार तथा सहकारी मन्त्री छिन् । यसमा लिमा अधिकारीलाई उपसभापति पद दिनुपर्ने आवाज उठेको छ। तर सोबिता र प्रतिमा पछाडि हटेका छैनन् ।
सोबिताको सचिवालयले उनी उपसभापतिमा उठ्न तयार रहेको जानकारी दिएको छ। उता सांसदसमेत रहेकी लिमा आफू उपसभापतिको स्वभाविक दाबेदार रहेको बताउँछिन्।
भुलसुधार : यस अगाडि यसै समाचारमा प्रमोद न्यौपानेले केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएको भन्ने विषय समेटिएकाले सच्याएका छौँ। -सम्पादक












प्रतिक्रिया