रास्वपाका दस्तावेजको सन्देश : वर्तमान शासन व्यवस्था नै हुन सक्छ ‘कोल्याप्स’ ! « Khabarhub

टिप्पणी

रास्वपाका दस्तावेजको सन्देश : वर्तमान शासन व्यवस्था नै हुन सक्छ ‘कोल्याप्स’ !



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चार दिनदेखि चितवनमा चलिरहेको छ । असार ७ गतेबाट सुरु भएको महाधिवेशनमा मंगलबार नै राजनीतिक, अर्थ–राजनीतिक लगायत प्रतिवेदन पारित भइसकेका छन् । सबै छवटै प्रतिवेदन बिनाछलफल पारित गरिएको छ।

महाधिवेशनमा प्रस्तुत भएर बिनाछलफल पारित प्रतिवेदनले भने वर्तमान व्यवस्थामाथि गम्भीर प्रश्न सिर्जना गरेका छन् । सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन र उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ललेको अर्थ–राजनीतिक प्रतिवेदनले वर्तमान संविधानका मुख्य अन्र्तवस्तुलाई नै अस्वीकार गरेका छन् ।

जसले संविधान संशोधनका क्रममा रास्वपाको पल्लाभारी भएमा वा वैधानिक बल पुगेमा वर्तमान व्यवस्था नै नरहन सक्ने संकेत गरेको छ।

संघीयतामा असहमति

वर्तमान संघीय व्यवस्थाबारे रास्वपामा एकमत भएको देखिँदैन । महाधिवेशनमा प्रस्तुत दस्तावेजले पनि नेतृत्व तहमै संघीयताबारे एकमत नरहेको अवस्था झल्काएको छ ।

महाधिवेशनमा लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रदेशलाई पुनर्संरचना गरेर जाने उल्लेख गरिएको छ । अर्थात्, सभापति लामिछानेले अहिलेको तीन तहको शासकीय स्वरूपलाई राजनीतिक रूपमा स्वीकारेको प्रतिवेदनमा उल्लेख छ ।

तर, महाधिवेशनमा उपसभापति तथा अर्थमन्त्री वाग्लेले प्रस्तुत गरेको अर्थ–राजनीतिक प्रतिवेदनमा संविधान संशोधनका क्रममा रास्वपाको बल पुगेको बेला वर्तमान संघीय व्यवस्थाको एउटा मुख्य खम्बा प्रदेश खारेज गर्ने उल्लेख गरिएको छ ।

संघीयताको विषयमा फरक–फरक विचार भए पनि राजनीतिक शक्ति सन्तुलन रास्वपाको पक्षमा थप बलियो हुँदै जाँदा संघीयता जोखिममा पर्नसक्ने देखाएको छ ।

त्यस्तै, रास्वपाको महाधिवेशनमा प्रस्तुत सभापतिको राजनीतिक प्रतिवेदनमा उल्लेख नभए पनि उपसभापति डा. वाग्लेले स्थानीय तहलाई नै दलविहीन बनाउने पक्षमा रहेको विचार अर्थ–राजनीतिक प्रतिवेदनमा राखेका छन् ।

अहिले पनि कतिपय स्थानीय तहमा प्रमुखदेखि सदस्यसम्मका व्यक्ति स्वतन्त्र ढंगले निर्वाचित भएका छन् । तर, मूलतः स्थानीय तहमा हुने निर्वाचन प्रणाली भने दलीय रहेको छ । जहाँ दलको निर्वाचन चिह्नमै प्यानल खडा गरेर मतदान हुने गर्छ ।

डा. वाग्लेको प्रस्तावले अहिलेको अभ्यासलाई खारेज गनुपर्ने तर्क गरेको छ। जुन विषयलाई उनले शासकीय सुधारका रूपमा औँल्याएका छन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी

अहिलेको नेपाली व्यवस्थाको मूल मर्म संसदीय व्यवस्था हो । संविधानमा यो व्यवस्था ल्याउने विषयमा तत्कालीन नेकपा माओवादीले औपचारिक रूपमै असहमति जनाएको थियो ।

सभापति लामिछाने र उपसभापति वाग्ले दुवै प्रस्तुत गरेका प्रतिवेदनमा संविधान संशोधन गर्दा कार्यकारी प्रमुखको व्यवस्था गर्ने प्रस्ताव अघि सारिएको छ । जसमध्ये डा वाग्लेको प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नै उल्लेख गरिएको छ ।

निर्वाचन प्रणालीमा पनि सभापति र उपसभापति दुवैको प्रतिवेदनमा अहिले अभ्यास गर्दै आएको मिश्रित निर्वाचन प्रणालीको साटो पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा लैजाने प्रस्ताव गरिएको छ । जसले अहिलेको निर्वाचन प्रणालीलाई खारेज गरेर नयाँ प्रणाली स्थापना गर्नेछ ।

‘समाजवादोन्मुख’ मर्म अस्वीकार

रास्वपा महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा संविधानको मूल प्रस्तावनामा उल्लेखित समाजवादोन्मुख विषयमा मुख्य असहमति जनाइएको छ ।

रास्वपाले समाजवादलाई अस्वीकार गर्दै सामाजिक लोकतान्त्रिक विचारको पक्षमा आफूलाई उभ्याउने लामिछानेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा सभापति लामिछानेले आफूहरू दक्षिणपन्थी र वामपन्थी दुवै नरहेको भनेर व्याख्या पनि गरेका छन् ।

यसका साथै, उपसभापति डा. वाग्लेले उदार अर्थतन्त्रमा विश्वास गर्ने पार्टी भनेर व्याख्या गरेका छन् । उनले उदार लोकतान्त्रिक व्यवस्थामार्फत् नै समृद्ध–सम्मुनत समाज बनाउने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ६ : २० बजे

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री

पोखरा आइपुग्यो फ्लाइ दुबईको विमान, आजै यात्रु लिएर फर्कने 

काठमाडौं– फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान

मेयरले आफ्नै मान्छेलाई सभापति बनाउन बलजफ्ती गरेपछि रोकियो कांग्रेसको नगर अधिवेशन

भोजपुर- नेपाली कांग्रेस भोजपुर नगरपालिका नगर कार्यसमितिको अधिवेशन भाँडिएको छ