रविलाई जिम्मा लगाएर हिँडे बालेन, केन्द्रीय सदस्यको निर्वाचनपछि सचिवालय र पदाधिकारीको निर्णय हुने « Khabarhub

रास्वपा महाधिवेशन

रविलाई जिम्मा लगाएर हिँडे बालेन, केन्द्रीय सदस्यको निर्वाचनपछि सचिवालय र पदाधिकारीको निर्णय हुने

नेताहरूलाई सकेसम्म दोहोरो जिम्मेवारी नदिइने



काठमाडौं- यही आइतबारदेखि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेता चितवनमा उत्रिए । मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको बास चार दिनसम्म चितवनमै भयो ।

यता सिंहदरबार रुँघ्ने काममा थिए विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन । उता चितवनमा महाधिवेशन नसकिएकै अवस्थामा प्रधानमन्त्री एवम् रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह भने बुधबार काठमाडौं फर्किएका छन्।

काठमाडौँ फर्केपछि उनले मन्त्रिपरिषद्का सदस्यसँग भर्चुअल छलफलसमेत गरे । यो कुराको पुष्टि उनको सचिवालयले गरेको छ। चार दिन चितवनमै सरकार पनि अड्किएपछि विपक्षीले विरोध र आलोचना गर्ने बताउँदै बालेन रविसँग सल्लाह गरेरै फर्किएका हुन्।

बालेनले पार्टी महाधिवेशनको सम्पूर्ण कार्यभार रविलाई दिएर हिँडेका छन्। विवाद आउन नदिन अन्य नेताहरूलाई पनि आग्रह गरिएको छ । पार्टीमा गुटगत र समूहगत राजनीति गर्न खोजे विधि र नीतिको दायरामा ल्याउन अनुरोध गर्दै बालेनले रविलाई महाधिवेशन सहज रुपमा सक्न आग्रह गरेका थिए । रविले पनि बालेनलाई सरकार परीक्षण कालमै रहेकाले लामो समय चितवनमा अड्किनु नहुने सुझाए ।

केन्द्रीय सदस्य चुनिएपछि थप छलफल

भद्रगोल शैलीमा महाधिवेशन चलिरहँदा बुधबारसम्म पनि प्रतिनिधिको टुंगो लागिसकेको थिएन। यस्तो अवस्थमा सचिवालयमा पठाउने नेताबारे दुईजनाले छलफललाई निष्कर्षमा लगेका छैनन् ।

९९ सदस्यीय केन्द्रीय कमिटी चुनिएपछि मात्रै सचिवालयमा पठाउने अनुहारबारे निष्कर्षसहितको छलफल गरिने भएको छ। सकेसम्म रविले सचिवालयका लागि सर्वसम्मतिको प्रयास गर्नेछन् । तर आकांक्षी धेरै भएकाले उनीहरूलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन बन्देज नगर्ने तयारी रविले गरेका छन्।

बालेनको सचिवालयका एक सदस्यले केन्द्रीय सदस्यमा जितेकाहरूलाई सचिवालयमा मनोनीत गर्न सहमतिको प्रयास हुने बताए । ठूलो पार्टी भएकाले सचिवालयमा धेरै नेताहरूले इच्छा राखेका छन् । ‘तर उहाँहरूले केन्द्रीय सदस्यमा जित निकाल्नु पर्ने भएकाले अनिमात्रै निष्कर्षसहितको छलफल हुन्छ’, बालेनका एक सहयोगीले भने ।

बालेन अब महाधिवेशनकै लागि चितवन फर्किने छैनन् । यदि अवस्था सम्हाल्न नसक्ने भएमा उनी जाने सम्भावना भने कायमै छ। तर रविले बालेन फर्किनुपर्ने अवस्था आउन नदिन नेताहरूलाई भनिरहेका छन् ।

निर्णायक छलफल बाँकी

बालेन-रविबीच केन्द्रीय सदस्यको निर्वाचनपछि पदाधिकारीमा सर्वसम्मतिका लागि छलफल हुने भएको छ। प्रारम्भिक छलफलपछि रविले उक्त प्रस्ताव आकांक्षी उम्मेदवारसामु राख्ने छन् । आकांक्षीहरूले सर्वसमतिको प्रयास गरेमा निर्वाचन नहुने जानकारी सचिवालयको छ।

लामिछानेसामु अहिले पदाधिकारी हुन धेरै नेताले इच्छा जाहेर गरेका छन् । बालेन र रविले गुट-उपगुट नहेर्ने बताएका छन् । सकेसम्म दोहोरो भूमिकामा नरहेका र कम अवसर पाएकालाई सचिवालयमा ल्याउने कोसिस हुँदैछ ।

दोहोरो भूमिका नदिने

अधिकांश मन्त्रीहरू पनि पार्टी सचिवालयका दाबेदार छन्। अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोबिता गौतम, भूमिसुधार तथा सहकारी मन्त्री प्रतिभा रावल, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, शिक्षामन्त्री सस्मित पोखरेल लगायत पदाधिकारीका दाबेदार छन्।

केही मन्त्रीहरूको हकमा पदाधिकारीमा राख्नै नहुने बाध्यता छ । तर धेरै मन्त्रीहरूको हकमा दोहोरो जिम्मेवारी नदिने गरी बालेन-रवि छलफलमान्। ‘दोहोरो जिम्मेवारी नदिने हिसाबले कुराकानी भएको छ । तर मन्त्री हुँदैमा पदाधिकारीमा आउन नपाइने बाध्यकारी निषेध कतै नभएकाले रोक्न सकिँदैन । तर सकेसम्म एउटा जिम्मेवारी दिँदा पार्टी र सरकारलाई पनि फाइदा हुने विश्लेषण दुवै नेताहरूले गर्नुभएको छ’, रविका एक सहयोगीले भने, ‘पहिलो महाधिवेशन भएकाले एकता र समानुपातिक प्रतिनिधित्वसहित सबैलाई अवसर दिने तयारी छ ।’

चितवनमा पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता मनिष झाले पनि एकै व्यक्तिलाई दोहोरो जिम्मेवारीबारे पार्टीले सोच्ने बताए । महामन्त्रीका दाबेदार उनले मन्त्री र पार्टी पदाधिकारी हुन्छु भन्नुले स्वार्थपूर्ण राजनीतिलाई प्रेरणा दिने उल्लेख गरे।

पदाधिकारीमै उपसभापतिका दाबेदार रहेका गणेश पराजुलीले पनि दोहोरो भूमिकाभन्दा ‘एक पद एक व्यक्ति’को सिद्धान्तलाई अंगीकार गरिने बताउँछन्।

उनले खबरहबसँगको कुराकानीमा पनि नेतृत्वले ‘एक व्यक्ति एक पद’लाई प्राथमिकता दिएको उल्लेख गरे। ‘स्वभाविक रुपमा ‘एक व्यक्ति एक पद’को सिद्धान्तलाई हाम्रो पार्टी र नेतृत्वले अंगीकार गर्नुभएको छ। दुई नेता सहमतिमा अगाडि बढ्नुहोला’, पराजुलीले भने, ‘हाम्रो पार्टीले सबैलाई समान व्यवहार र सहमतिसहित कार्यसमिति र सचिवालय मिलाउँछ भन्नेमा ढुक्क छौँ।’

उपसभापतिकै दावेदार लिमा अधिकारी पनि सरकारमा गएकाहरूले त्यही जिम्मेवारी सम्हाल्नुपर्ने बताउँछिन्। उनी पार्टीको जिम्मेवारी सम्हाल्न अरू नेता ल्याउनुपर्ने धारणा राख्छिन्। उनी पार्टीले अहिलेसम्म कसैलाई अन्याय नगरेकाले यो महाधिवेशनले पनि एकता र सर्वसम्मतिको सन्देश दिने बताउँछिन्।

‘पार्टी स्थापना भएको चार वर्ष हुँदैछ, अझै पनि पार्टीमा परिपक्वता र पूर्णता पाइनसकेकाले मन्त्रीहरूलाई पनि पदाधिकारीमा नसमेटी नहुने बाध्यता छ। यो विषय पनि सम्बोधन हुनेछ’, रविनिकट नेताले भने, ‘एकपटक त मन्त्रालय र अरू जिम्मेवारीकालाई पदाधिकारीमा नल्याउने, सचिवालयमा मात्रै राख्ने किसिमले कुराकानी भएको हो । तर त्यो व्यवहारिक नहुने कुरा भयो। स्वर्णिम वाग्लेकै हकमा उहाँलाई उपसभापति नबनाए अरू कसलाई बनाउने त ? सुनिल लम्सालको पनि कुरा त्यही हो ।’

धेरैले अवसर नपाउने

रास्वपाको पहिलो महाधिवेशन एकताको सन्देश दिन लागिएको छ। रविले धेरै नेताहरूलाई पदीय जिम्मेवारी आउने सम्भावना कम रहेको सन्देश उद्घाटन सत्रमै दिइसकेका छन् ।

उनले सांकेतिक रूपमा पदीय जिम्मेवारी नआएमा सानो मन नगर्न आग्रह गरे। पार्टी भर्खरै स्थापना भएर पहिलो महाधिवेशन हुँदै गरेकाले एकताको सन्देश दिन कहीँ कतै पद छोड्नुपर्ने र गुमाउनुपर्ने अवस्था आउन सक्ने उनले बताएका थिए । ‘पदाधिकारी र केन्द्रीय सदस्यमा जिते पनि रास्वपाकैले जित्ने हो। तपाईंहरू ढुक्क हुनुहोस् । हामी एउटै घरका सदस्यहरू हौँ । पद पाउँदा ठूलो मन र पद नपाउँदा सानो मन नगर्नुहोला।’

प्रधानमन्त्री बालेनले पनि धेरै समूह र नेतालाई मिलाउँदा एकताको सन्देश दिनुपर्ने बताए । सबैलाई पदीय जिम्मेवारी मिल्न नसक्ने दुवैको सन्देशका कारण नेताहरू मौन छन् ।

रवि-बालेनसँग पद माग्न पुगेकालाई पनि उनीहरूले यस्तै सुझाव दिने गरेका छन्। विभिन्न समूहबाट आएकालाई समेट्नुपर्ने र एकताको सन्देशसिहतको महाधिवेशन भएकाले सचिवालय र पदाधिकारीसहित अरू पदमा इच्छा हुँदाहुँदै पनि समेट्न नसक्नेर्ने बाध्यता आएको रविले निकट नेताहरूलाई भनिसकेका छन् ।

रास्वपा स्थापनाकालमा जोडिएका धेरैजना नेता पदाधिकारीमा नआउने अवस्था छ। पहिलो महाधिवेशनमा गुट हुन नदिन विभिन्न समूहलाई समायोजन गरेर केन्द्रीय समिति बनाउनुपर्ने बाध्यता छ । त्यहीकारण अहिलेको समस्याग्रस्त अवस्था झेल्नुपरेको महामन्त्री कविन्द्र बुर्लाकोटी उल्लेख गर्छन्।

बालेनले भने, ‘चिर्कटो भेटिए एक्सन लिनु’

रविलाई बालेनले चितवनबाट हिँड्ने बेला महाधिवेशनमा आफ्नो कुनै स्वार्थ नरहेकाले कसैको चिर्कटो भेटिए तत्काल एक्सनमा जान भनेका छन् ।

यो या त्यो जुनसुकै व्यक्ति भए पनि विधिभन्दा माथि कोही पनि नहुने भन्दै बालेनले कसैले बाँडेको चिर्कटो अथवा सूची भेटिए कारबाही गर्न रविलाई आग्रह गरेका छन् ।

बालेनले रविलाई ठट्यौली शैलीमा भनेका थिए, ‘चिर्कटो भेटिनु भएन, मेरा न तेरा । गुट अन्त्य गरेर एक हुने बेला यही हो, त्यसमा तत्काल एक्सनमा जानुस्। मलाई पनि सोध्नु पर्दैन।’

रविले पनि त्यस विषयमा निर्वाचन आयोगसँग संवाद गरेका छन् । त्यस्तो अवस्था आएमा कुनै कुरा नसोच्ने उनले बताएका थिए । यता महामन्त्री बुर्लाकोटी पनि स्वास्थ्य र निष्पक्ष निर्वाचन हुने बताउँदै कसैले समूहगत चिर्कटो बाँडे आयोगलाई जानकारी गराउन आग्रह गर्छन्। इच्छा लागेको जो कोहीलाई मतदान गर्न पाउने अधिकार ४१०० महाधिवेशन प्रतिनिधिलाई भएको उनी उल्लेख गर्छन् । ३८४ उम्मेदवारमध्ये जोजसलाई मनलाग्छ उसैलाई भोट हाल्न प्रतिनिधिले पाउने अधिकारको सुनिश्चित गरिएको उनी बताउँछन्।

उता महाधिवेशनस्थलमै बालेनले आफ्नो कोर टिमकालाई निर्वाचन नलडाएर सुरक्षित गरी काठमाडौँ फर्किएको आरोप पनि लगाएका छ्न । बालेनले आफ्ना सहयोगी भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेका छन् । सुनिल लम्साललाई उपसभापति बनाउने तयारी छ। उता सभापति रवि लामिछानेले उनीहरूलाई चुन्न पाउने अधिकार छ।

तर रविपक्षीय नेताहरू पनि एकताको भावनालाई समेट्न बालेनले यसो गरेको बताउँछन्। लम्साल र शाहलाई महामन्त्री र उपसभापतिमा उठाउँदा पनि अत्यधिक मतले जित्ने अवस्था रहेको उनीहरूको तर्क छ। यस्तोमा आफूनिकट नेताको व्यवस्थापन गरेको आरोप लगाउन नहुने उनको तर्क छ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ७ : ४३ बजे

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम

रास्वपा महाधिवेशन : राति १० बजेदेखि मतदान

काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत केन्द्रीय