राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज मतदान प्रक्रिया सुरु भएर बिहानसम्म पहिलो चरणको नतिजा नआए महाधिवेशन प्रतिनिधिमाथि अन्याय हुने बताउँछन्। कमजोर व्यवस्थापकीय पक्षका कारण समयमै महाधिवेशन सम्पन्न हुन नसकेको उनको स्वीकारोक्ति छ।
२०७९ को निर्वाचनमा समानुपातिक सांसद र २०८२ को उपनिर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद बनेका चौधरीले पार्टीको पहिलो महाधिवेशन भएकाले धेरै कुरा सिक्न बाँकी बताएका छन् । महाधिवेशन प्रतिनिधिले पनि यो अवस्था बुझेर सक्रिय रूपमा मतदानमा सहभागी हुनेमा उनी विश्वस्त छन् । उनै चौधरीसँग खबरले पछिल्लो अवस्थाबारे गरेको कुराकानीः
चार दिनदेखि चितवनमा महाधिवेशन प्रतिनिधिहरू बसिरहनुभएको छ । अहिले राति १० बजिसक्दा पनि मतदान सुरु भएको छैन । आज पनि मतदान नहुने हो ?
आज मतदान नगरी सुखै छैन। प्रतिनिधिहरू लाइनमा लागिसक्नुभएको छ। आज मतदान नभएको खण्डमा उहाँहरूमाथि अन्याय हुन्छ। मतदान प्रक्रिया लगभग सुरु हुने अवस्थामा छ। भोलि बेलुकासम्म पनि महाधिवेशन प्रतिनिधिहरू घर फर्कन नपाए अन्याय हुन्छ। यो विषयमा हामी सजग छौँ।
अझै पनि मतदान अनिश्चित छ भन्ने प्रतिनिधिहरूको गुनासो छ नि ?
होइन, मतदान आजै सकाउने तयारी छ। प्रक्रिया विधि–विधानभन्दा बाहिर गएर काम गर्न नमिल्ने भएकाले पनि केही धैर्य आवश्यक देखियो। हाम्रा महाधिवेशन प्रतिनिधि साथीहरूले चितवनको गर्मीसँग जुध्दै निकै धैर्य देखाउनुभएको छ।
प्रतिनिधिसँग खर्चको अभावसम्म भएको अवस्था छ। किन महाधिवेशन लम्बियो ?
धेरै हदसम्म प्राविधिक कारणले यस्तो भयो। केही व्यवस्थापकीय कमजोरी पनि भएकै हो। चार हजारभन्दा बढी प्रतिनिधि भएकाले उनीहरूको यकिन विवरण समयमै नहुँदा व्यवस्थापनमा समस्या आयो। प्रतिनिधिको प्रमाणीकरण र विवरण बुझाउने काममा पनि अलमल भयो। सबै प्रक्रिया पूरा गर्दा समय लाग्यो।
महाधिवेशन प्रतिनिधिको यकिन विवरण नगरी महाधिवेशनमा हाम फाल्दा समस्या भयो होइन ?
महाधिवेशन प्रतिनिधि यकिन गरेरै महाधिवेशन सुरु गरिएको थियो। तर बीचमा समूहगत साथीहरूलाई मिलाउने क्रममा केही गडबडी भयो। प्रतिनिधिमाथि दाबी–विरोधका प्रक्रिया पनि भएकाले समस्या उत्पन्न भयो। उम्मेदवारी दर्ता, दाबी–विरोध र फिर्ताजस्ता प्रक्रियाले सोचेजति छिटो काम हुन सकेन। प्राविधिक कारणले यस्तो भएको हो। पहिलो महाधिवेशन भएकाले धेरै कुरा सिक्न बाँकी रहेछ भन्ने महसुस गरेका छौँ।

कामहरू विकेन्द्रीकृत गर्न नसक्दा पनि तपाईहरु अलमलिनुभएकाे हाे ?
हो । तर पहिलो महाधिवेशन भएकाले पूर्ण रूपमा विकेन्द्रीकरण गर्ने अवस्था पनि थिएन। सबैलाई समेटेर अघि बढ्दा केन्द्रीय समितिले बढी जिम्मेवारी वहन गर्नुपर्यो। आयोजक समितिले निर्वाचन आयोगलाई बुझाउनुपर्ने काममा केही ढिलाइ गरेको हो, तर उहाँहरूले काम नगरेर ढिलाइ गर्नुभएको होइन। उपसमितिहरूले पनि राम्रोसँग काम गरेका छन्। पहिलो महाधिवेशन र देशभरका प्रतिनिधिको सहभागिताका कारण एक दिन मात्रै लम्बिएको हो। यसमा कुनै स्वार्थ छैन।
बिहीबारसम्ममा महाधिवेशन सकिन्छ ?
पहिलो चरणको मतदान हुँदैछ। ८० वटा डिजिटल भोटिङ मेसिनमार्फत मतदान हुने भएकाले प्रक्रिया सुरु भएपछि धेरै समय लाग्दैन। मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्न सकिने अवस्था छ। पहिलो चरणको मतदान आज बिहानसम्म टुङ्गिएर नतिजा सार्वजनिक हुने अपेक्षा छ। भोलि साँझसम्म जसरी पनि महाधिवेशन सम्पन्न हुन्छ।
धेरै महाधिवेशन प्रतिनिधिलाई खर्चको अभाव भएकाे सुनियाे, कतिपय घर पनि फर्किनुभएकाे खबर छ ? यसमा के भन्नुहुन्छ ?
गर्मी र वर्षा प्राकृतिक कुरा हुन्। असारको मौसम भएकाले पानी पर्नु स्वाभाविक हो। प्रतिनिधिहरूले पनि यो कुरा बुझ्नुभएको छ। छिटफुट रूपमा केही साथी फर्किनुभएको होला, तर ठूलो संख्या फर्किएको अवस्था छैन। हामीले भेटेका प्रतिनिधिलाई पहिलो महाधिवेशन भएकाले प्रक्रियागत काम मिलाउँदा ढिलाइ भएको जानकारी गराएका छौँ।
कति मत खस्ने अनुमान गर्नुभएको छ ?
रातिको समय र निर्वाचनमा भएको ढिलाइका कारण ४१०० जनाले नै मतदान गर्नुहुन्छ भन्ने अवस्था छैन। हाम्रो चाहना सबै प्रतिनिधिले मतदान गरून् भन्ने हो। मतदान प्रक्रिया सुरु भएपछि वास्तविक अवस्था थाहा हुन्छ।
कमजोर व्यवस्थापनका कारण प्रतिनिधिमाथि अन्याय भयो भन्ने महसुस गर्नुभएको छैन ?
अन्याय नै भएको जस्तो लाग्दैन। कार्यतालिकामा परिवर्तन हुँदा केही असुविधा भने भएको छ। आज पनि मतदान भएन भने चाहिँ केही हदसम्म अन्याय हुन्छ। त्यसमा हामी सचेत छौँ। उम्मेदवारी दर्ता, दाबी–विरोध र अन्य निर्वाचन प्रक्रियाले समय लिएको हो। राजनीतिक दलका महाधिवेशन कहिलेकाहीँ ढिलो–चाँडो हुन सक्छन् भन्ने कुरा प्रतिनिधिहरूले पनि बुझ्नुभएको छ। त्यसैले अन्याय भयो भन्न मिल्दैन। उहाँहरू अझै उत्साहित हुनुहुन्छ। सबै प्रक्रिया पूरा गरेर मात्रै महाधिवेशन गरेको भए अझ राम्रो हुने थियो। तर पहिलो महाधिवेशन भएकाले धेरै विषयमा अलमल भएको स्वीकार्छौँ।
पदाधिकारीमा पनि सभापतिले मनोनयन गर्नेबाहेक अन्य पदमा निर्वाचन हुने अवस्था छ ?
पहिलो चरणमा सबैजना केन्द्रीय सदस्य बन्ने र दोस्रो चरणमा सचिवालय पदाधिकारीको निर्वाचन हुने भएकाले अहिले यसै भन्न सकिने अवस्था छैन। तर पदाधिकारीमा पनि धेरै जनाको दाबी भएको कारण लोकतान्त्रिक प्रक्रिया अपनाउने अवस्था पनि देखिन्छ साथीहरुले सहमतिको बाटोलाई अवलम्बन गर्नुभयो भने त्यो पनि छदै छ । पहिलो चरणको निर्वाचन सम्पन्न नभएसम्म यसै हो भनेर किटान गर्ने अवस्था भएन। केही पदमा चाहिँ निर्वाचन हुन्छ कि । को को पदाधिकारी भेट्दै हुनुहुन्छ भन्ने कुरा अहिले यकिन गर्ने अवस्थौ भएन किनकि पहिला केन्द्रीय सदस्य जित्नुपर्यो। कोही कोही साथीले पदाधिकारीमा पनि उम्मेदवारी घोषणा गर्नुभएको छ। तर यो पूर्ण होइन। केन्द्रीय सदस्य जित्नका लागि पदाधिकारीमा उठ्ने भनेका सबै साथीहरू मत माग्न व्यस्त हुनुहुन्छ । यो उहाँहरूको अधिकार पनि हो।












प्रतिक्रिया