भरतपुरको गेस्ट हाउस चौरमा ‘शहीद मैदान’ बनाइँदै « Khabarhub

भरतपुरको गेस्ट हाउस चौरमा ‘शहीद मैदान’ बनाइँदै


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘शहीद मैदान’ बनाइने भएको छ । यसका लागि जिल्ला समन्वय समिति चितवनको ९औँ जिल्ला सभाले साविक जिल्ला विकास समितिको नाममा रहेको कित्ता नम्बर १९५९ को जग्गामध्ये एक बिघा १६ कठ्ठा १४ धुर जग्गा शहीद मैदान निर्माणका लागि भरतपुर महानगरपालिकालाई उपलब्ध गराउने निर्णय गरिएको थियो ।

महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले गेस्ट हाउस चौरको पृष्ठभूमि संरक्षण गर्दै ऐतिहासिककालदेखि देशका लागि योगदान गरेका शहीदहरूको सम्मान र सम्झनामा व्यवस्थित शहीद मैदान निर्माण गर्न लागिएको जानकारी दिए ।

उनले भने, ‘भरतपुरको मुटुमा रहेको यस ऐतिहासिकस्थललाई विभिन्न राष्ट्रिय तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने गरी र शहीदहरूको स्मृतिका लागि शहीद मैदानका रूपमा विकास गर्न लागेका हौँ । यसका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माणको काम महानगरले अघि बढाएको छ ।’

शहीद मैदान निर्माणका लागि हाल एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । मैदान स्तरोन्नति तथा सम्याउने कार्यका लागि महानगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माणका क्रममा सङ्कलित माटो प्रयोग गरी मैदान पुर्ने काम भइरहेको छ । केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक अधिवेशनसमेत यही स्थानमा रहेको मञ्चमा भएको थियो ।

कार्यवाहक प्रमुख अधिकारीले गेस्ट हाउस चौरलाई सबैले साझा थलोका रूपमा प्रयोग गर्दै आएकाले यसलाई व्यवस्थित गरी शहीद मैदानका रूपमा विकास गर्न महानगरपालिकाले प्रक्रिया अघि बढाएको बताए ।

उनका अनुसार मैदानमा हाल रहेको मञ्चलाई व्यवस्थित तथा सुदृढ गरिनेछ । यसका साथै आकर्षक मुख्य प्रवेशद्वार, घेराबार, दुवैतर्फ ढल निकास, फुटपाथ, हरित क्षेत्र तथा अत्याधुनिक स्मार्ट शौचालय निर्माण गरिनेछ । यी सबै कामलाई एउटै प्याकेजमा समेटेर बोलपत्र आह्वान गर्ने अन्तिम तयारी भइरहेको छ ।

आगामी माघ १६ गते शहीद दिवसको अवसर पारेर शहीद मैदानको औपचारिक शुभारम्भ गर्ने लक्ष्य राखिएको कार्यवाहक महानगरप्रमुख अधिकारीले जानकारी दिए । सोही दिन भरतपुरलाई ‘बालमैत्री महानगरपालिका’ घोषणा गर्ने कार्यक्रमसमेत तय भएकाले दुवै कार्यक्रम एकैसाथ सम्पन्न गर्ने गरी प्राविधिक टोलीलाई निर्देशन दिइएको उनको भनाइ छ ।

यसैगरी, जिसस परिसरमा रहेको चार बिघा ११ कट्ठा १६ धुर जग्गामध्ये एक बिघा १६ कट्ठा १४ धुरमा सहिद मैदान र एक बिघा नौ धुरमा समन्वय पार्क निर्माण गर्ने गरी भरतपुर महानगरपालिकालाई जग्गा उपलब्ध गराउने निर्णय भएको जिसस चितवनले जनाएको छ ।

जिसस चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले साविक जिल्ला विकास समिति तथा हाल जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको गेस्ट हाउस चौरलाई थप व्यवस्थित र सौन्दर्यीकरण गर्न शहीद मैदान तथा पार्क निर्माणका लागि भरतपुर महानगरपालिकालाई जग्गा उपलब्ध गराउने निर्णय जिल्ला सभाले गरेको बताए ।

उनका अनुसार ऐतिहासिककालदेखि शहीदहरूको सम्मान र सम्झनाका लागि शहीद मैदान तथा ज्येष्ठ नागरिक, बालबालिका र आमसर्वसाधारणका लागि समन्वय पार्क निर्माण गर्न लागिएको हो । महानगरपालिकाले उक्त क्षेत्रलाई व्यवस्थित र सौन्दर्यीकरण गर्दै दुवै योजना कार्यान्वयन गर्दा क्षेत्र थप प्रभावकारी र दिगो हुनुका साथै आम नागरिकको प्रत्यक्ष प्रयोगमा आउने उनले बताए ।

एक बिघा नौ धुर जग्गामा निर्माण हुने ‘भरतपुर समन्वय पार्क’लाई ज्येष्ठ नागरिक, बालबालिका तथा आम सर्वसाधारणका लागि मनोरञ्जन तथा पर्यटकीयस्थलका रूपमा विकास गरिने भएको छ । महानगरले पार्क निर्माणका लागि एक करोड बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाले यही महिनाभित्र पार्कको विस्तृत परियोजना प्रतिवेदन तथा लागत अनुमान तयार गरी बोलपत्र प्रक्रियामा लैजाने तयारी गरेको कार्यवाहक नगर प्रमुख अधिकारीले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ८ : ४३ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका