म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच « Khabarhub

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित आयोजनामार्फत पाँच सय घरमा खानेपानी र ९१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८२–०८३ मा २२ सिँचाइ र १७ वटा खानेपानी योजना निर्माण गरी सुविधा विस्तार गरेको हो ।

कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले ९१ हेक्टर खेतीयोग्य जमिनमा थप सिँचाइ सुविधा र पाँच सय १८ घरमा एक घर, एक धारासहितको खानेपानी सुविधा विस्तार भएको जानकारी दिए ।

सिँचाइ सुविधा विस्तारका लागि ६ हजार पाँच सय ८० मिटर पक्की नहर, पाँच हजार नौ सय मिटर पाइपलाइन जडान र ५९ वटा विभिन्न संरचना निर्माण भएका छन् । खानेपानीतर्फ १२ किलोमिटर सात सय ७० मिटर मुख्य, ६९ दशमलव १४ किलोमिटर शाखा, तीन सय २० घनमिटर क्षमताका २० वटा पानी सङ्कलन गर्ने ट्याङ्की र एक सय ७८ वटा अन्य संरचना निर्माण भएका छन् ।

यस्ता छन् सम्पन्न भएका सिँचाइ आयोजना
रघुगङ्गा गाउँपालिका–३ मा राँखुपिप्ले सिँचाइ योजना, वडा नम्बर १ बृहत् बेगखोला सिँचाइ योजना र बाँदुक सिँचाइ योजना सम्पन्न भएर किसान लाभान्वित भएका छन् । मालिका गाउँपालिका–५ मा गौरखोला सिँचाइ योजना, वडा नम्बर ७ मा बेल्फी लुर्बाङ सिँचाइ योजना, मङ्गला गाँउपालिका–२ मा तल्लो ओखलढुङ्गा गडहरे सिँचाइ योजना, रणबाङ सिँचाइ योजना र घोरेनी कोत्रेबाङ सिम सिँचाइ योजना सम्पन्न भएको कार्यालयले जनाएको छ ।

यसैगरी मङ्गला–४ मा बुकेनी सिँचाइ योजना, अन्नपूर्ण गाउँपालिका–७ मा औल सिँचाइ योजना, बेनी नगरपालिका–१ मा १९२५ साले सिँचाइ योजना र वडा नम्बर २ मा बगरफाँट सतह तथा भूमिगत सिँचाइ योजना निर्माण भएपछि किसानले समयमै रोपाइँ गर्न पाएपछि खुसी भएका छन् ।

यसैगरी, रघुगङ्गा–३, मौवाफाँटमा घट्टेखोला पुर्नढाँड सिँचाइ योजना, मङ्गला–१ मा तुसारेपानी काउले पैयुँपाटा सिँचाइ योजना, वडा नम्बर २ मा नेवारेखोला सिँचाइ योजना, वडा नम्बर ३ मा अर्जेखोला आरबाङ सिँचाइ योजना, सिमकुना कस्केरी सातबिसे योजना र झ्याप्रेखोला बिसौना सिँचाइ योजना निर्माण भई किसानको खेतमा सिँचाइ सुविधा विस्तार भएको कार्यालयले जनाएको छ ।

बेनी नगरपालिका–९, घतानमा बाहुनपँधेरा पोखरी सिँचाइ योजना, वडा नम्बर ४ मा राहुखोला सिँचाइ योजना, सामतुङ सोता सिँचाइ योजना, मङ्गला–५, अर्मनमा पिपलबोट शेरा सिँचाइ योजना मर्मत र महखोला सिँचाइ योजना र मालिका गाउँपालिका–१ मा खोप्ती सिँचाइ योजना सम्पन्न भएको कार्यालयका इन्जिनियर विश्वासकुमार बस्नेतले जानकारी दिए ।

सम्पन्न भएका खानेपानी र नदी नियन्त्रण योजनाहरु
चिमखोला भगवती बृहत् खानेपानी योजना, भुकभुके खानेपानी योजना, तल्लो शिख, शिख उपल्लोगाउँ, ओखले, चिप्लेटी, एकपाटे, थाकनपोखरी, डम्मरा, चुत्रेनी खानेपानी योजना सम्पन्न भएका छन् । यसैगरी बिम तल्लो गाउँ लिफ्टिङ, खालखोला थाप्ले, कोसेपानी घोरेपानी र बगुवाखोला खानेपानी आयोजना निर्माण सकिएका कार्यालयका इन्जिनियर शिवशङ्कर शाहले बताए ।

अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, बेनी नगरपालिकाको सिंगा तातोपानी र मङ्गला गाउँपालिकाको सिममा नदी कटान र बाढी रोकथामका लागि तटबन्ध गरिएको छ । यसैगरी चार वटा योजनामार्फत नदी कटान, बाढी र पहिरो रोकथामका लागि २६ मिटर पक्की र ७५ मिटर ग्यावीयन पर्खाल निर्माण भएको उनले जानकारी दिए ।

मालिका गाउँपालिका–५ देवीस्थानको पन्थोकमा रहेको गौराखोला लघुजलविद्युत् परियोजना मर्मत गरि एक सय ८० घरमा विद्युत् आपूर्ति गरिएको छ । गत आर्थिक वर्ष २०८२–०८३ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जातर्फ पुँजीगत शीर्षकमा नौ करोड ६४ लाख ८५ हजार बजेट विनियोजन भएकोमा आठ करोड ८५ हजार विनियोजन भएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ९ : १२ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका