काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा करिब दुई दर्जन प्रकाशन गृहका पुस्तक प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीको शुभारम्भ गर्दै प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठले मानव चेतनाको विकासका लागि प्रदर्शनीले सहयोग गर्ने विश्वास व्यक्त गरे । यस वर्ष प्रतिष्ठान परिसरमा पुस्तक प्रदर्शनीको तयारी गरिए पनि वर्षाका कारण केही दिन भानुभक्त प्रदर्शनी कक्षमा गरिने र वर्षा रोकिएपछि परिसरमा प्रदर्शनीलाई निरन्तरता दिइने जानकारी पनि उनले दिए ।
परिसरमा सारेपछि निजी क्षेत्रका प्रकाशन गृहले पनि प्रदर्शनी कक्ष राखेर प्रदर्शनीले निरन्तरता पाउने छ । नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानसम्बन्धी पुस्तकहरूको प्रवर्द्धनका लागि प्रतिष्ठानले आजदेखि असोज १८ गतेसम्म बृहत् प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनीका लागि नेपालका प्रमुख प्रकाशन गृहले आवेदन दिएको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिए । प्रज्ञाले सरकारी प्रकाशन गृह बाहेकलाई सहभागी गराएर पहिलोपटक पुस्तक प्रदर्शनी गराउन लागेको पनि उनले सुनाए । प्रदर्शनीमा साझा प्रकाशनलगायत सबैजसो सरकारी प्रकाशनका पुस्तकको कक्ष पनि रहने पनि उनले सुनाए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय अभिलेखालयलगायतका सरकार मातहतका प्रकाशन पनि पुस्तक प्रदर्शनीमा राखिएको छ । पठन संस्कृतिको विकास तथा पाठक र प्रकाशकबीचको सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले प्रतिष्ठानको आयोजनामा आजदेखि असोज १८ गतेसम्म कमलादीस्थित प्रतिष्ठान परिसरमा बृहत् पुस्तक प्रदर्शनी–२०८३ आयोजना गरिएको हो । यसअघि असोज १२ गतेदेखि २३ गतेसम्म प्रदर्शनी गर्ने भनिएकामा विशेष कारणवश आजदेखि असोज १८ गतेसम्म आयोजना गर्न लागिएको पनि उनले बताए ।
प्रदर्शनीमा प्रज्ञा प्रतिष्ठानका प्रकाशनमा ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिएको छ । ललितकला प्रज्ञा प्रतिष्ठानका पुस्तकमा भने ५० प्रतिशतसम्म सहुलियतमा बिक्री भइरहेको छ । प्रदर्शनी कक्षमा नेपाली भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन, समाजशास्त्र, बालसाहित्य, लोकसाहित्य तथा अन्य ज्ञानमूलक एवं सिर्जनात्मक विधाका पुस्तकहरू प्राथमिकताका साथ राखिएको छ ।
प्रत्येक सहभागी प्रकाशन गृह/संस्थालाई आयोजकले निर्धारण गरेको मापदण्ड तथा उपलब्धताका आधारमा निःशुल्क कक्ष उपलब्ध गराइएको छ । प्रत्येक सहभागी प्रकाशन गृह/संस्थाले प्रदर्शनीको समयावधिभर कक्ष राख्नुपर्ने नियम बनाइएको छ । कक्ष तथा प्रदर्शनीस्थलको व्यवस्थापन, पुस्तकको प्रदर्शन, बिक्री–वितरण, सरसफाइ र सुरक्षासम्बन्धी आवश्यक सम्पूर्ण व्यवस्था सहभागी प्रकाशन गृह/संस्था आफैँले गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।













प्रतिक्रिया