कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । दार्मा, कुमाख र कालीमाटी गाउँपालिका तथा बागचौर नगरपालिकाका स्वास्थ्य शाखाले असोज ७, ८ र ९ गते सञ्चालन गरेको स्क्रबटाइफस स्वास्थ्य खोजपड्तालसम्बन्धीको शिविरमा ८८ जनामा सङ्क्रमण देखिएको हो ।
तीन स्थानीय तहमध्ये दार्मा गाउँपालिकामा सबैभन्दा बढी ५४ जनामा उक्त रोगको सङ्क्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले जानकारी दिए ।
उनले भने, “दार्मा गाउँपालिका–१ मा १६० जनाको जाँच गर्दा ३७ र वडा नं ५ मा १८१ जनाको स्वास्थ्य परीक्षण गर्दा १७ जनमा सङ्क्रमण भेटिएको छ । कुमाख गाउँपालिका–४ मा सात जनाको परीक्षणमा एक पुरुष, वडा नं ६ मा ५३ मध्ये छ र वडा ७ मा ३८ जनाको परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखियो ।”
जनस्वास्थ्य अधिकृत रिजालका अनुसार कालीमाटी गाउँपालिका–४ धुरचौरमा २१ जनाको स्वास्थ्य परीक्षण गर्दा एक महिला र एक पुरुषमा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएको पाइएको छ । बागचौर नगरपालिका–४ मा १११ जनाको जाँच गर्दा १० जना महिला सङ्क्रमित भेटिएका जनस्वास्थ्य अधिकृत रिजालले जानकारी दिए ।
रोग फैलिँदै गएको र त्यसमा सङ्क्रमणको अवस्था भयावह बन्दै गएपछि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले यसअघि करिब ८०० थान कीटसहित आवश्यक औषधि पठाइसकेको उक्त निर्देशनालयका निर्देशक डा रविन खड्काले जानकारी दिए । उनका अनुसार आज प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट थप ४५० कीट स्वास्थ्य परीक्षणका लागि पठाइएको छ ।













प्रतिक्रिया