पर्सनलाइज्ड एमआरएनए खोपले मेलानोमा क्यान्सर दोहोरिने वा मृत्यु हुने जोखिम ४२ प्रतिशत घटायो « Khabarhub

पर्सनलाइज्ड एमआरएनए खोपले मेलानोमा क्यान्सर दोहोरिने वा मृत्यु हुने जोखिम ४२ प्रतिशत घटायो


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्सनलाइज्ड एमआरएनए क्यान्सर खोप र प्रतिरक्षा उपचार औषधिको संयुक्त प्रयोगले छालाको क्यान्सर दोहोरिने वा बिरामीको मृत्यु हुने जोखिम ४२ प्रतिशतले घटाएको एक तेस्रो चरणको क्लिनिकल परीक्षणले देखाएको छ ।

अमेरिकी औषधि निर्माता मोडेर्ना र मर्कका अनुसार ‘इन्टिस्मेरान’ नामक पर्सनलाइज्ड एमआरएनए खोप र ‘कीट्रुडा’ (पेम्ब्रोलिजुमाब) औषधिको संयोजनले कीट्रुडा मात्र प्रयोग गर्ने बिरामीको तुलनामा जोखिम घटाएको हो ।

परीक्षणका नतिजा युरोपियन सोसाइटी फर मेडिकल अंकोलोजी (ईएसएमओ) को सन् २०२६ को सम्मेलनमा प्रस्तुत गरिने जनाइएको छ ।

परीक्षणमा शल्यक्रियामार्फत क्यान्सर हटाइएका उच्च जोखिमयुक्त मेलानोमा भएका एक हजार १३७ जना बिरामी सहभागी थिए । मेलानोमा छालाको क्यान्सरको एक प्रकार हो, जुन शरीरका अन्य भागमा फैलिन सक्ने भएकाले खतरनाक मानिन्छ ।

अमेरिकाको मोफिट क्यान्सर सेन्टर पनि यस अनुसन्धानमा सहभागी थियो । केन्द्रका छालासम्बन्धी क्यान्सर अनुसन्धान निर्देशक अहमद तार्हिनीका अनुसार तेस्रो चरणको परीक्षणको नतिजा यसअघिको दोस्रो चरणको अध्ययनसँग मेल खान्छ । नियामक निकायबाट समीक्षा र स्वीकृति प्राप्त भएमा यसले मेलानोमाको उपचार पद्धतिमा परिवर्तन ल्याउन सक्ने उनले बताएका छन् ।

कसरी काम गर्छ पर्सनलाइज्ड खोप ?

इन्टिस्मेरान खोप बिरामीकै ट्युमरको आनुवंशिक जानकारीका आधारमा तयार गरिन्छ । शल्यक्रियाबाट निकालिएको ट्युमरको नमुना प्रयोगशालामा विश्लेषण गरी त्यसमा रहेका विशिष्ट आनुवंशिक परिवर्तन पहिचान गरिन्छ । त्यसपछि ती परिवर्तनलाई लक्षित गर्ने एमआरएनए खोप तयार गरिन्छ ।

खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई क्यान्सर कोष पहिचान गरी आक्रमण गर्न प्रशिक्षित गर्ने उद्देश्य राख्छ । कीट्रुडाले पनि प्रतिरक्षा प्रणालीलाई क्यान्सरविरुद्ध सक्रिय बनाउन मद्दत गर्छ । यी दुईको संयोजनले शल्यक्रियापछि क्यान्सर पुनः देखा पर्ने वा शरीरका अन्य भागमा फैलिने जोखिम कम गर्न सक्ने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।

यसअघि गरिएको दोस्रो चरणको परीक्षणमा पनि इन्टिस्मेरान र कीट्रुडाको संयुक्त उपचार पाएका बिरामीमा पाँच वर्षको अवधिमा क्यान्सर दोहोरिने वा मृत्यु हुने जोखिम कीट्रुडा मात्र प्रयोग गर्ने बिरामीको तुलनामा करिब आधा देखिएको थियो ।

नियामक स्वीकृतिको प्रतीक्षा

तेस्रो चरणको परीक्षणको नतिजाले पर्सनलाइज्ड क्यान्सर खोपको प्रयोग विस्तार हुने सम्भावना बढाएको छ । मोडेर्ना र मर्कले नतिजापछि नियामक निकायहरूसँग छलफल अघि बढाइरहेको जनाएका छन् । यद्यपि, यो उपचार व्यापक रूपमा प्रयोगमा आउन सम्बन्धित निकायको समीक्षा र स्वीकृति आवश्यक छ ।

पर्सनलाइज्ड एमआरएनए खोपको प्रयोग फोक्सोको क्यान्सरलगायत अन्य क्यान्सर दोहोरिन नदिन सकिने सम्भावनाबारे पनि अध्ययन भइरहेको छ ।

स्रोत: मोफिट क्यान्सर सेन्टर

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  २ : ३४ बजे

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपिएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

काठमाडौँ– तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस

सप्तकोशीमा जेट बोट दुर्घटना : तीन जनाको मृत्यु

विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको

राष्ट्रपति पौडेलले गरे नवदुर्गा मन्दिरमा पूजाअर्चना

भक्तपुर- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा