नेपालका जोखिमपूर्ण चार हिमताल : कुन तालको अवस्था के छ ? « Khabarhub

नेपालका जोखिमपूर्ण चार हिमताल : कुन तालको अवस्था के छ ?

विष्फोटको जोखिम राेक्न सुरु हुँदै ‘ग्लोफ सञ्जीवनी’


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालको उच्च हिमाली भेग बाहिरबाट जति शान्त र रमणीय देखिन्छ, भित्रभित्रै त्यहाँ जलवायु परिवर्तनको दबाब त्यति नै तीव्र बन्दै गएको छ। हिमनदी पग्लने क्रम तीव्र हुँदा हिमतालको आकार र पानीको मात्रा बढिरहेकाले तल्लो तटीय बस्ती, जलविद्युत् आयोजना, कृषिभूमि, पर्यटन पूर्वाधार र पारिस्थितिकीय प्रणालीमाथि हिमताल विस्फोटको जोखिम चुलिएको छ। यही जोखिमलाई सम्बोधन गर्न नेपाल सरकार, हरित जलवायु कोष (जिसिएफ) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा सञ्चालन हुने ‘ग्लोफ सञ्जीवनी’ परियोजनाबारे सरोकारवालाबीचको छलफल भएको छ।

हिमाली नदी बेसिनमा हिमताल विस्फोट (ग्लोफ) तथा जलवायुजन्य बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहितको ‘ग्लोफ सञ्जीवनी’ परियोजना बनेको हो । यो परियोजना सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुनेछ । मनाङको थुलागी, सोलुखुम्बुको लुम्दिङ र होङ्गु तथा सङ्खुवासभाको तल्लो बरुण ताललाई पहिलो श्रेणीको सम्भावित जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको छ।

हिमालय क्षेत्रमा १० वर्षामा ०.६ देखि १.० डिग्री सेल्सियससम्म तापक्रम वृद्धि भइरहेको छ, जसले सन् १९७७ देखि २०१० को अवधिमा नेपालको हिमनदी क्षेत्रमा २४ प्रतिशत कमी ल्याउन योगदान पुर्‍याएको छ। तापक्रम वृद्धिसँगै हिमताल विस्तार भइरहेका छन् । यस्ता हिमताल नेपालमा २१, चीनमा २५ र भारतमा एउटा भएको अध्ययनले देखाएको छ ।

पूर्वतयारी के छ ?

विगतका अनुभवले नेपाललाई विपद् आएपछि उद्धार र राहतमा मात्र सीमित नरही जोखिम पहिचान, पूर्वसूचना प्रणालीको सुदृढीकरण र जोखिम घटाउने उपायमा केन्द्रित हुनुपर्ने पाठ सिकाएका छन्। सन् २०२४ मा सगरमाथा क्षेत्रमा भएको थामे हिमताल विस्फोट, रसुवामा गएका पहिरो तथा बाढी र गण्डकी प्रदेशमा देखिएका ठूला बाढीका घटनाले जलवायुजन्य विपद्को बढ्दो असरलाई उजागर गरेका छन्।

ग्लोफ सञ्जीवनीका परियोजनाका निर्देशक डा. राजन भट्टराईका अनुसार हिमताल विस्फोटको सम्भावित जोखिममा ३ लाख ८५ हजारभन्दा बढी मानिस, १ हजार २०१ हेक्टर खेतीयोग्य जमिन, ८ हजार १८० गिगावाट घण्टा क्षमता बराबरका जलविद्युत् आयोजना तथा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ६.७ प्रतिशत योगदान पुर्‍याउने पर्यटन क्षेत्र परेका छन्। त्यसैले जोखिमको पूर्वानुमान गरी समयमै समुदायलाई सचेत गराउने र तालको सतह घटाउने जस्ता दीर्घकालीन कामलाई प्राथमिकतामा राखिएको छ।

प्राथमिकतामा चार हिमताल

परियोजनाले नेपालका चार प्रमुख हिमताललाई प्राथमिकतामा राखेको छ। तीमध्ये थुलागी मनाङमा, लुम्दिङ त्सो र होङ्गु-२ सोलुखुम्बुमा तथा तल्लो बरुण सङ्खुवासभामा अवस्थित छन्। यी चारवटै ताललाई पहिलो श्रेणीको सम्भावित जोखिमयुक्त हिमतालका रूपमा वर्गीकरण गरिएको छ। यी चार तालको पानीको सतह घटाउँदा तल्लो तटीय क्षेत्रका २३ लाखभन्दा बढी बासिन्दाका लागि जोखिम कम हुने अनुमान गरिएको छ।

परियोजनाको पहिलो लक्ष्यअन्तर्गत जलवायु जोखिम अनुगमन, सूचना उत्पादन र योजना तथा निर्णय प्रक्रियामा सरकारी निकायलाई सक्षम बनाइने छ, जसले संवेदनशील पर्वतीय नदी बेसिनमा जोखिम घटाउने लगानीलाई मार्गदर्शन गर्ने छ।

दोस्रो लक्ष्यअन्तर्गत अनुगमन र पूर्वसूचना प्रणाली विस्तार गरी समुदाय तथा संवेदनशील क्षेत्रलाई समयमै भरपर्दो सूचना उपलब्ध गराइने छ, साथै तालिम र पूर्वतयारीमार्फत समुदायलाई छिटो र प्रभावकारी प्रतिक्रिया दिन सक्षम बनाइने छ। तेस्रो लक्ष्यअन्तर्गत हिमतालको सतह घटाउने काम, बाढी न्यूनीकरणका उपाय, प्रकृतिमा आधारित समाधान र इको–डिआरआरमार्फत तल्लो तटीय क्षेत्रको जनधन, पूर्वाधार र पारिस्थितिकीय प्रणालीको सुरक्षा गरिने छ।

मनाङको थुलागी हिमतालको अवस्था के छ ?

मनाङ जिल्लाको गण्डकी बेसिनमा रहेको थुलागी हिमतालको क्षेत्रफल सन् १९९० यता ०.७२ वर्गकिलोमिटरबाट बढेर ०.९४ वर्गकिलोमिटर पुगेको छ। सन् २०१७ को सर्वेक्षणअनुसार यो तालको अधिकतम गहिराइ ७६ मिटर र अनुमानित पानीको भोल्युम ३ करोड ६१ लाख घनमिटर रहेको छ।

थुलागी नदी बेसिन परियोजना क्षेत्रमा करिब १ लाख ८० हजार प्रत्यक्ष लाभग्राही र ७ लाखभन्दा बढी अप्रत्यक्षा रुपमा प्रभावित रहेका छन्। यहाँ तालको पानीको सतह ३ मिटर घटाउने योजना बनाइएको छ। नियन्त्रित निकासमार्फत तालको सतह ३ मिटर घटाउँदा पानीको चाप र विस्फोटको सम्भावना कम हुने तथा तल्लो तटीय समुदाय थप सुरक्षित हुने अपेक्षा गरिएको छ।

सङ्खुवासभाको तल्लो बरुण हिमतालको अवस्था ?

सङ्खुवासभा जिल्लामा रहेको तल्लो बरुण हिमताल पनि छिटो विस्तार भइरहेका हिमतालमध्ये पर्छ। सन् २०१५ को सर्वेक्षणअनुसार यसको अधिकतम गहिराइ २०५ मिटर र अनुमानित पानीको भोल्युम ११ करोड २३ लाख घनमिटर रहेको छ।

अरुण नदी बेसिन परियोजना क्षेत्रमा पर्ने यो तालबाट करिब २० हजार प्रत्यक्ष लाभग्राही र ३ लाख ५० हजारभन्दा बढी परोक्ष लाभग्राही प्रभावित हुने अवस्थामा छन्। तल्लो बरुणको पानीको सतह पनि ३ मिटर घटाउने लक्ष्य लिइएको छ। तालको सतह घटाउनुका साथै जोखिम सूचना तथा योजना सुधार, अनुगमन तथा पूर्वसूचना प्रणालीको स्तरोन्नति र तल्लो तटीय संरक्षणका कामलाई सँगसँगै अघि बढाइने छ।

लुम्दिङ त्सो हिमताल

सोलुखुम्बु जिल्लामा पर्ने लुम्दिङ त्सो हिमताल समुद्र सतहबाट ५ हजार २२० मिटर उचाइमा अवस्थित छ। यो ताल दूधकोसी बेसिन क्षेत्रमा पर्छ। लुम्दिङ त्सोको पानीको सतह १ मिटर घटाउने योजना छ। यससँगै जलवायु तथा ग्लोफ जोखिम विश्लेषणका आधारमा स्थानीय योजना बनाउने, अनुगमन तथा पूर्वसूचना प्रणाली विस्तार गरी छिटो र भरपर्दो चेतावनी दिने तथा तल्लो तटीय जोखिम घटाउने उपाय अवलम्बन गरिने छ। यसबाट दूधकोसी बेसिनका तल्लो तटीय समुदायको जोखिम घट्ने र उत्थानशीलता बलियो हुने अपेक्षा गरिएको छ।

होङ्गु-२ हिमतालको अवस्था

सोलुखुम्बु जिल्लाकै कोसी बेसिनमा रहेको होङ्गु-२ हिमताल पनि पहिलो श्रेणीको सम्भावित जोखिमयुक्त हिमताल हो। सन् २०१५ को सर्वेक्षणअनुसार यसको अधिकतम गहिराइ ११४ मिटर र अनुमानित पानीको भोल्युम ५ करोड ७७ लाख घनमिटर रहेको छ।

होङ्गु-२ को पानीको सतह ३ मिटर घटाउने लक्ष्य राखिएको छ। तालको सतह घटाउने कामसँगै जोखिम नक्साङ्कन र मोडलिङमार्फत स्थानीय योजना सुदृढ गर्ने, पूर्वसूचना प्रणाली र सामुदायिक सचेतना तथा प्रतिकार्य योजना बलियो बनाउने र प्रकृतिमा आधारित संरक्षण उपाय लागू गर्ने योजना छ।

पाँच करोड अमेरिकी ८लर लगानीमा ग्लोफ सञ्जीवनी

कुल ४ करोड ९९ लाख ४० हजार अमेरिकी डलर लगानी रहने ‘ग्लोफ सञ्जीवनी’ परियोजनामा हरित जलवायु कोषबाट ३ करोड ६१ लाख ६० हजार डलर अनुदान प्राप्त हुने छ। नेपाल सरकारको सहलगानी १ करोड १३ लाख २० हजार डलर, युएनडिपीको योगदान २१ लाख ४० हजार डलर र निजी क्षेत्रको ३ लाख २० हजार डलर छुट्याइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जिव बरालले सम्झौता सात वर्षे आयोजनाको सबै तयारी पूरा भएको र अब कार्यान्वयनमा लगिने बताए।

परियोजना कार्यान्वयनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल पर्यटन बोर्ड र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) संलग्न छन्।

प्राविधिक तथा नियामक सहकार्यमा जल तथा मौसम विज्ञानसम्बन्धी अनुसन्धान केन्द्र, चुरे तथा वन विनाश नियन्त्रण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण साझेदारका रूपमा रहेका छन्। यो पहलले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यअन्तर्गत जलवायु कार्य, गरिबी निवारण तथा दिगो सहर र समुदाय को प्राप्तिमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

हिमालयको काखमा बढ्दो जलवायु जोखिमबीच तालको सतह घटाउने प्राविधिक प्रयास, पूर्वसूचना प्रणाली र स्थानीय समुदायको तयारीलाई एकैसाथ अघि बढाउन सके मात्र हिमाली क्षेत्र र तल्लो तटीय बस्तीको भविष्य सुरक्षित राख्न सकिने निष्कर्ष कार्यक्रमले दिएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ३ : ५० बजे

नेपालका जोखिमपूर्ण चार हिमताल : कुन तालको अवस्था के छ ?

नेपालको उच्च हिमाली भेग बाहिरबाट जति शान्त र रमणीय देखिन्छ,

हिमतालको जोखिमबाट जोगाउन ‘जिएलओएफ सञ्जिवनी परियोजना’ कार्यान्वयन गरिँदै

काठमाडौँ– हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट

‘भविष्यको आवश्यकता र ऐनको व्यवस्था मिलाउन पुँजी वृद्धिको प्रस्ताव गरिएको हो’

काठमाडौं– नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले भविष्यको

गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

क्वालालम्पुर– युट्युबमा जुवा, ठगी तथा मानहानिकारक सामग्री हटाउन असफल भएको

दीपकराज गिरीको प्रश्न : सरकारलाई अन्धसमर्थन गर्ने कि अन्धविरोध मात्रै ?

काठमाडौं– सरकारको हरेक काममा समर्थन वा विरोध गर्नैपर्छ भन्ने सोचले