पुस्तौँदेखिको आस्थाको धरोहर रामबोले, फूलको डोलीदेखि बलि पूजासम्मको परम्परा « Khabarhub

पुस्तौँदेखिको आस्थाको धरोहर रामबोले, फूलको डोलीदेखि बलि पूजासम्मको परम्परा


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– फूलको डोली, सोली, पञ्चेबाजा र परम्परागत बलि पूजाले हरेक वर्ष कात्तिक पूर्णिमामा दोलखाको जिरी नगरपालिका–८ स्थित रामबोले क्षेत्र गुञ्जायमान बन्ने गर्छ। 

धार्मिक आस्था र परम्परासँग जोडिएको रामबोले कालीदेवी मन्दिरमा लाग्ने जात्रामा दोलखासहित छिमेकी जिल्ला रामेछाप र सोलुखुम्बुबाट हजारौँ भक्तजन पुग्ने गरेका छन् । प्रत्येक वर्ष कात्तिक पूर्णिमादेखि पञ्चमीसम्म विशेष पूजाआजा तथा जात्रा लाग्ने यस मन्दिरमा पछिल्ला वर्षहरूमा एकादशीदेखि नै बलि पूजा गर्ने भक्तजनको चहलपहल सुरु हुने गरेको छ । 

दुई दिन रातको समयमा र अन्य दिन दिउँसो मेला लाग्ने रामबोलेमा भक्तजनहरू फूलको डोली, सोली र परम्परागत बाजागाजासहित देवीको दर्शन गर्न पुग्छन् । मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अनुसार यस वर्ष एकादशीदेखि पूर्णिमासम्म मात्रै १० हजारभन्दा बढी भक्तजन रामबोले पुगेका छन् । 

जात्राको मुख्य दिन मंगलबार पूर्णिमामा मात्रै करिब पाँच हजार भक्तजनले कालीदेवीको दर्शन गरेका थिए। यस वर्ष दुई हजारभन्दा बढी पाठी, परेवा र भालेको बलि पूजा भएको समितिले जनाएको छ ।

विशेषगरी फूलको डोली र सोली बोकेर मन्दिर पुग्ने भक्तजनको संख्या पछिल्ला वर्षमा बढ्दै गएको छ । आफ्नो मनोकामना पूरा होस्, परिवारमा सुख, शान्ति र समृद्धि छाओस् तथा रोगव्याधिबाट मुक्ति मिलोस् भन्ने धार्मिक विश्वासका साथ भक्तजनले देवीको भाकल गर्ने र भाकल पूरा भएपछि पूजाआजा गर्ने परम्परा छ ।

रामबोलेस्थित कालीदेवी मन्दिरलाई स्थानीयस्तरमा परापूर्वकालदेखिको आस्थाको धरोहरका रूपमा लिने गरिन्छ । जिरी उपत्यका तथा आसपासका क्षेत्रमा बसोबास गर्ने जिरेल, सुनुवार, शेर्पा, तामाङ र क्षेत्री–बाहुन समुदायले पुस्तौँदेखि यस जात्रालाई निरन्तरता दिँदै आएका छन् ।

स्थानीय किंवदन्तीअनुसार प्राचीन समयमा यस क्षेत्रमा गोठालाहरूले गाईवस्तु चराउने क्रममा एउटा शिलामा अलौकिक शक्ति रहेको अनुभूति गरेका थिए । सोही शिलालाई कालीदेवीको स्वरूप मानेर पूजाआजा गर्न थालिएपछि यस क्षेत्रको धार्मिक महत्त्व बढ्दै गएको जनविश्वास छ । संकट र विपत्तिमा देवीको नाम पुकार्दा भक्तको आवाज सुनेर रक्षा गर्ने विश्वाससँग जोडेर रामबोले नाम रहन गएको भन्ने स्थानीय जनश्रुति पनि छ ।

जात्राको अर्को विशेष आकर्षण सोली–डोली, धामी तथा झाँक्रीको नाच र परम्परागत पञ्चेबाजा हुन् । भक्तजनले धूप, ध्वजा, अक्षता, फूल चढाउनुका साथै आफ्नो भाकलअनुसार पाठी, परेवा र भालेको बलि दिने गर्छन् ।

धार्मिक आस्था, स्थानीय संस्कृति र पुस्तौँदेखिको परम्परालाई निरन्तरता दिँदै आएको रामबोले जात्रा जिरी क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित हुँदै गएको छ । सुवाश बस्नेत/ दोलखा

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ५ : १८ बजे

विवाहित महिलाले जितिन् ‘मिस युनिभर्स २०२६’ को ताज

काठमाडाैँ – मिस युनिभर्सको इतिहास रच्दै जेनिफर ब्यारेटो ‘मिस युनिभर्स

लैङ्गिक हिंसा अन्त्यका लागि एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले लैङ्गिक हिंसा अन्त्यका लागि सबै

यौन हिंसासम्बन्धी विधेयक संशोधन गर्न माग

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरूले यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अपुरो रहेको भन्दै आवश्यक

घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

चितवन– पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण

पुस्तौँदेखिको आस्थाको धरोहर रामबोले, फूलको डोलीदेखि बलि पूजासम्मको परम्परा

दोलखा– फूलको डोली, सोली, पञ्चेबाजा र परम्परागत बलि पूजाले हरेक