काठमाडौँ- सभामुख डोलप्रसाद (डीपी) अर्यालले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गरिसकेको बताएका छन्। आयोजना बन्छ कि बन्दैन भन्ने लामो समयदेखिको अन्योल अन्त्य भएको उल्लेख गर्दै उहाँले अब निर्माणलाई तीव्रता दिने समय आएको बताए।
धादिङमा आज बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गर्दै सभामुख अर्यालले बूढीगण्डकीलाई विद्युत् उत्पादनमा मात्र सीमित नराखी बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजनाका रूपमा विकास गरिने बताए।
उनका अनुसार आयोजनाले धादिङ, गोरखा र चितवनको आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याउनुका साथै रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, स्थानीय उत्पादनको बजारीकरण र विपद् जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ।
आयोजना कार्यान्वयनका लागि आवश्यक कानुनी तथा संस्थागत संरचना निर्माणको काम अघि बढिरहेको जानकारी दिँदै उनले बूढीगण्डकी विकास प्राधिकरणसम्बन्धी विधेयकको अन्तिम मस्यौदा तयार भइरहेको बताए। संसद्को अधिवेशन सुरु भएको दुई साताभित्र उक्त विधेयक सदनमा पेस गर्ने लक्ष्य रहेको उनको भनाइ थियो।
आयोजनाबाट प्रभावित नागरिकको मुआब्जा, पुनर्स्थापना, बस्ती विकास तथा सम्पदा संरक्षणका विषय न्यायोचित ढङ्गले सम्बोधन गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
सभामुख अर्यालले आयोजनाको अनुमानित लागत साढे चार खर्ब रुपैयाँभन्दा बढी रहेको जानकारी दिँदै प्रारम्भिक कामका लागि डेढ अर्ब रुपैयाँ विनियोजन भइसकेको र थप डेढ अर्ब रुपैयाँ उपलब्ध गराउन सरकार तयार रहेको बताए। निर्माण निर्धारित समयभन्दा अगाडि नै सम्पन्न गर्न नियमित प्रगति समीक्षा र सम्बन्धित निकायलाई जवाफदेही बनाउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बूढीगण्डकीलाई जलविद्युत् उत्पादनमा मात्र सीमित नराखी पर्यटन, औद्योगिक विकास, वातावरण संरक्षण र व्यवस्थित बस्ती विकाससमेत समेटिएको बहुआयामिक परियोजनाका रूपमा अघि बढाउनुपर्ने बताए।














प्रतिक्रिया