विराटनगर – मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । घटनाबारे सोधपुछ गर्ने क्रममा आफ्नै आमालाई समेत छेउमा राखेर पीडित बालिकालाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने उनका २३ वर्षीय छोरालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत कात्तिक २९ गते राति कानेपोखरी गाउँपालिका–६ स्थित पीडितको घरमा बालिकामाथि जबरजस्ती करणी भएको सूचना प्राप्त भएको थियो ।
सूचनापछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा स्थानीय ५५ वर्षीय जयराम दर्जीलाई तत्काल पक्राउ गरेको थियो । उनलाई मंसिर १ गते अदालतबाट म्याद थप गरी जबरजस्ती करणी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यसै घटनालाई लिएर दर्जीका २३ वर्षीय छोराले आफ्नी आमालाई समेतसँगै राखेर पीडित बालिकालाई सोधपुछ गर्दै कुटपिट गरेका थिए । उक्त घटनाको भिडियो उनले आफ्नै सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।
भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो । उनीमाथि विद्युतीय अपराधसम्बन्धी कसुर र बालविवाहसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिविरुद्ध हुने अपराधमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक केन्द्रकुमार मिश्रले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी गराएका हुन् ।














प्रतिक्रिया