काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध माघ ९ गते सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सकिएको छ।
राष्ट्रपतिबाट माफी मिनाह पाए पनि कसुर र कैदको अभिलेख कायमै हुने भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि उनी सर्वोच्च गएका थिए ।
चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर भएको रिटमा आइतबार सुनुवाइ सकिएपछि न्यायाधीश बालकृष्ण ढकालको इजलासबाट अब आदेश आउन बाँकी छ।
कैलाली क्षेत्र नम्बर १ मा आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नाउपा नेपालका संरक्षक चौधरी सर्वोच्च पुगेका थिए ।
चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि मनोनयन दर्ता गराएका थिए । तर, निर्वाचन आयोगले चौधरीविरुद्ध टीकापुर हत्यकाण्डलाई जोडेर परेको उजुरीका आधारमा उम्मेदवारी खारेज गरिदिएको थियो ।
आफ्नो उम्मेदवारी यथावत रहनुपर्ने र निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने रिट निवेदक चौधरीको माग थियो । टीकापुर घटनामा जन्मकैदको सजाय पाएका चौधरीले राष्ट्रपतिबाट माफी मिनाह पाएका थिए ।
चौधरी सर्वोच्च अदालतबाट जन्मकैदको सजाय भई उक्त मुद्दा अन्तिम फैसला भएकाले मनोनयन पत्र बदर गरिएको थियो । चौधरीले आफूले चुनाव लड्न पाउनुपर्ने माग राखेका थिए । चौधरीले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी हुन सक्ने सम्भावना छ ।













प्रतिक्रिया