काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न विभिन्न ट्राभल एजेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ ।
सीआईबीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पर्वतीय क्षेत्रबाट नक्कली उद्धार कागजात तयार गरी ठगी गरेको आरोपमा विभिन्न ट्राभल एजेन्सीका ६ जनालाई पक्राउ गरिएको जनाएको हो ।
पक्राउ पर्नेमा माउन्टेन रेस्क्युका सञ्चालक जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया तथा एभरेस्ट एक्स्पेरेन्स एन्ड एसीस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सञ्चालक एवं प्रबन्धक सुभाष केसी रहेका छन् ।
उनीहरुले एउटै नियमित वा चार्टडबाट ५ जना सम्म ल्याइ फरक–फरक रेस्क्यु गरेका बताइ करौडौँको बीमा दाबी गरेको देखिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी मनोज केसीले जानकारी दिए ।
त्यस्तै एउटै स्थानबाट चार्टडमार्फत आएका धेरै पर्यटकलाई छुट्टाछुटै स्थानबाट फरक फरक समयमा रेस्क्यू गरेको भन्दै फाइदा उठाएको देखिएको उनले बताए ।
फेक रेस्क्यूमा संलग्नमध्ये बीमा कम्पनीमा दाबी गर्नेहरूलाई अहिले कारबाहीको दायरामा ल्याइएको जानकारी दिँदै केसीले यसमा अन्य धेरै संलग्न हुन सक्ने भएकाले अनुसन्धान जारी रहेको उल्लेख गरे ।
उनले फेक रेस्क्यूका कारण आर्थिक लाभ मात्रै भन्दा पनि नेपालको पर्यटन क्षेत्रको अन्तराष्ट्रिय छविमा समेत असर पर्ने र बीमा सुविधा समेत बन्द हुन सक्ने अवस्था आउने उल्लेख गरे ।
पक्राउ परेकाविरुद्ध राष्ट्रहित कसुर, आपराधिक लाभको कसुर र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया