काठमाडौं– दोलखाको धार्मिक तथा पर्यटकीय स्थल जिरीबाट नजिकै रहेको रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको संगम स्थलको रूपमा अवस्थित पर्यटकीय गन्तव्य ताँबेडाँडामा पछिल्लो समय जिरी हुँदै घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको संस्था बढ्न थालेको छ ।
जिरी घुम्न पुग्ने जोकोही पनि अहिले ताँबेडाँडाँ पुग्न थालेका छन् । जिरी बजारबाट २ घण्टाको छोटो यात्रामा सहज रूपमा ताँबेडाँँडाँ पुग्नुहुँदा दोलखा सदरमुकाम चरिकोट हुँदै जिरी पुग्ने पर्यटकले त्यहाँ पुगेपछि ताँबेडाँडाको यात्रा तयार गर्ने गरेका छन् ।
रामेछापको सदरमुकाम मन्थली हुँदै आउने पर्यटक भन्दा पछिल्ला दिनहरुमा काठमाडौँ-जिरी हुँदै ताँबेडाँडा पुग्ने पर्यटक बढेको जिरीका स्थानीय इन्द्रबहादुर जिरेलले बताए ।
दर्जनौँ हिमशृङ्खलासँगै दोलखा-रामेछापका रमणीय दृश्यअवलोकन गर्न सकिने हुँदा पछिल्ला दिनहरूमा जिरी हुँदै ताँबेडाँडा पुग्ने पर्यटक बढेको उनले बताए ।
जिरी नगरपालिकाको लिकंन बजार देखि ताँबेडाँडाको दुरी करिब ३० किलोमिटर रहेको छ जहाँ पुग्न करिब डेढ-दुई घण्टा लाग्ने गर्छ ।
३२ सय मिटर उचाइमा अवस्थित ताँबेडाँडाबाट दोलखाको सदरमुकाम चरिकोट, गौरीशंकर हिमाल, चेर्दोङ, हनुमन्तेडाँडा, शैलुङ र कालिञ्चाेकको सहज रूपमा अवलोकन गर्न सकिन्छ ।
त्यसैगरी सिन्धुपाल्चोक,सोलुखुम्बुमा,दोलखा लगायतका जिल्लामा रहेका दर्जनौँ हिमालय हिम शृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ ।
ताँबेडाँडाबाट देखिने गाउँबस्ती र आलु खेती तथा आसपासको हरियालीसँगै पर्यटकको आकर्षणको लागि ताँबेडाँडा निर्माण गरिएका पर्यटकीय तथा धार्मिक संरचनाले जोकोहीलाई लोभ्याउने गर्छ । तस्बिर/सुवाश बस्नेत/दोलखा




























प्रतिक्रिया