काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक दस्तावेजमा पार्टीले स्वतन्त्रता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई मूल आदर्शका रूपमा अघि सारेको छ ।
प्रतिबद्धता पत्रमा संघीयता सुदृढीकरण, प्रदेशलाई स्वायत्त र अधिकारसम्पन्न बनाउने, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, दलित, महिला, मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिमलगायत सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।
संविधान संशोधन वा पुनर्लेखनमार्फत राज्य पुनर्संरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, भ्रष्टाचारविरुद्ध कडा कारबाही र सुशासनको प्रत्याभूति पनि मुख्य एजेन्डामा छन् ।
शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्व बनाउने, युवालाई स्वदेशमै रोजगारी र स्टार्टअप पूँजी उपलब्ध गराउने, कृषि आधुनिकीकरण, औद्योगिकीकरण, महङ्गी नियन्त्रण, वातावरण संरक्षण तथा सामाजिक सुरक्षा विस्तार गर्ने प्रतिबद्धता पनि पत्रमा समेटिएको छ ।
जनता समाजवादी पार्टी, नेपाल प्रचार–प्रसार समितिद्वारा सार्वजनिक गरिएको उक्त प्रतिबद्धता पत्रमार्फत पार्टीले आफूलाई सामाजिक न्याय र समावेशिताको बलियो पक्षधरका रूपमा प्रस्तुत गरेको छ ।















प्रतिक्रिया