फागुन २१ गते हुने निर्वाचन आउन अब ८ दिन मात्रै बाँकी छ । निर्वाचन आयोगले सबै जिल्लामा मतपत्र र निर्वाचन सामग्री पठाइसकेको छ । निर्वाचन गराउने अधिकृत समेत निर्क्यौल भइसकेका छन् । करिब–करिब निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । तर पनि काठमाडौं–१ का मतदातामा अझै निर्वाचनको उत्साह पसेको छैन ।
२०६४ सालसहित चार निर्वाचनमा यहाँका मतदाताले कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई निर्वाचित गरेका थिए । उनी सरकारमा पटक–पटक मन्त्री तथा उपप्रधानमन्त्री समेत बने । तर यसपटक भने नवनिर्वाचित सभापति गगन थापाले उनको सट्टा प्रवल थापालाई उक्त क्षेत्रको उम्मेदवार बनाएका छन् ।
यस क्षेत्रका अर्का बलिया प्रतिस्पर्धी हुन्– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्र । मिश्र २०७४ सालदेखि सिंहका प्रतिस्पर्धी हुन् । दुई पटकसम्म हार व्यहोरिसकेका उनी अहिले पनि मैदानमा उत्रिएका छन् ।
यस्तै, समानुपातिक सूचीबाट प्रत्यक्ष प्रतिस्पर्धामा होमिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले पनि उनीहरूलाई टक्कर दिएकी छिन् । यस क्षेत्रमा उनीहरूसहित एमालेबाट मोहनराज रेग्मी, नेकपाबाट मेनुका भण्डारी तथा स्वतन्त्र उम्मेदवार गरी २९ जना उम्मेदवार घरदैलो चहारिरहेका छन् ।
मंगलबार खबरहब मतदाताको मनोभाव बुझ्न उक्त क्षेत्र पुगेको थियो । सोही क्रममा २२ वर्षदेखि मन्त्री हुँदै उपप्रधानमन्त्री पाइसकेको उक्त क्षेत्रका मतदाताको प्रतिक्रिया के छ ?
भवानी तिमल्सिना (नयाँबानेश्वर)

पुराना दलले आफूहरूको मतको कदर नगरेको उनको गुनासो छ । ‘म १४ वर्षकी हुँदादेखि रूख र चारतारे झण्डाको पछि लागेँ । अहिले ५० वरपर मेरो उमेर भइसक्यो त्यही खिचातानी र आरोप प्रत्यारोप, घुसकाण्ड भन्दा अरु खोई के पायौँ ?’ उनले प्रश्न गरिन् ।
अहिले देशमा उदयमान शक्तिको विकल्प नभएको उनको टिप्पणी छ । सत्तामा पुगेपछि विगतका नेतृत्व जस्तो आफू र आफ्ना मिलाउँदैमा जनताका मुद्दा पर सार्ने छुट उनीहरूलाई नभएकोमा उनले जोड दिइन् ।
‘हिजो विकास र जनताको मतको मान गरेनन्, आफ्ना भर्ती गर्ने खाने खुवाउने मात्रै भयो, कांग्रेस, कम्युनिष्ट त अहिले सुन्न पनि मन छैन, दिग्दार भइयो । भ्रष्टाचारमुक्त नेतृत्व पाइन्छ जस्तो त लाग्दैन । तरपनि यसपटक नयाँको विकल्प छैन । नयाँले केही गर्लान्, नगर्लान् त्यो हेर्न कुर्नुपर्छ । तर गर्ने ठाउँसम्म त पु¥याउनुप¥यो नि !’ उनले भनिन् ।
निर्वाचित बनेपछि भने विगतका नेतृत्वले जस्तो निरास बनाउने छूट नयाँलाई नभएकोमा उनले खबरदारी समेत गरिन् ।
‘पुरानाले जस्तो हामीलाई निराश बनाउने छुट नयाँलाई छैन । मलाई लाग्छ निराश हुन पर्र्दैन’ उनले आशा व्यक्त गरिन् ।
रामकुमार खड्का (मध्यबानेश्वर)
मध्यबानेश्वरबाट पुरानो बानेश्वरतर्फ लम्किँदै गर्दा भेटिए अर्का मतदाता रामकुमार खड्का । उनी २०६५ सालसम्म नेपाल आर्मीका रूपमा देशको सेवा गरेपछि अवकास लिएको सुनाउँछन् ।
‘२०४७ सालदेखिको निर्वाचन देखेँ । विकास हुँदै नभएको त होइन तर पुरानामा धेरै नातावाद र कृपावाद भयो’ दिग्दारीका साथ उनले भने ।
२०४६–४७ को जनआन्दोलनपछि देशमा प्रजातन्त्र पुनःस्थापना भयो । अहिले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाइएको छ । यहाँसम्म आइपुग्दा देश र जनताले के हासिल गरे जस्तो लाग्छ ? भन्ने खबरहबकर्मीको प्रश्नमा उनको जम्मा दुई शब्दको उत्तर आयो । ‘जनताले निराशा र दुःख पाए,’ उनले भने ।
देशले भने समयगति अनुसार सामान्य परिवर्तन र भदौ र २४ गते विष्फोट भएको आक्रोस बाहेक केही पाएजस्तो नलागेको उनले सुनाए ।
‘केही नयाँ दल त उदाएका छन् तर तिनले पनि हामीमाथि न्याय नै गर्छन भन्ने केही आधार भने देखिँदैन । तर पनि आक्रोस शान्त पार्न यो निर्वाचनले सहयोग पुर्याउने आशा राखेको छु’, उनले बताए ।
गीताश्रेष्ठ (घट्टेकुलो)

घट्टेकुलो नजिकै भेटिएकी गीता श्रेष्ठ भने मत हाल्न जान समेत कुनै उत्साह नभएको सुनाउँछिन् ।
‘हाम्रै करबाट तलब भत्ता खाने नेताले वडाबाटै सुधार गर्दै जानुपर्ने हो । एकैदिनमा हुने काम ४–५ दिन लाग्छ, हैरान पारिसके । अदालत गयो काम हुँदैन भनेर फर्काउँछन् । अस्पताल गयो उस्तै दुःख, लामो लाइन बस्नुपर्छ । त्यही पनि कहाँ सजिलो छ र उपचार पाउन ?’
लामो श्वास तान्दै उनले थपिन्– ‘भोट खसाल्न पनि जाउँ जस्तो लाग्दैन । नजाउँ समाजबाट बाहेक भइन्छ कि जस्तो लाग्ने । न पुरानाले गरे न नयाँले गर्छन् जस्तो लाग्छ कसलाई भोट हाल्नु ?’
नानु मानन्धर (पुरानोबानेश्वर)

पुरानो बानेश्वर चोकबाट सय मिटर जति मैतीदेवीतर्फको सडक वरिपरी हेर्दै जाँदा पसलमा सामान सम्हाल्दै गरेकी अर्की मतदाता नानु मानन्धर भेटिइन् । अधवैँशे उमेरकी उनको गुनासो भने उम्मेदवार मत माग्नै नआएको थियो ।
‘गाडीमा यहीँ बाटो झण्डा हल्लाउँदै कुदिरहेको हेर्छु । यसो गाडी रोकेर मत माग्ने फुर्सद नभएको त होला नि ! अहिलेसम्म मसँग कोही उम्मेदवार मत माग्न आएका छैनन्’ नानुले गुनासो पोखिन् ।
सोही रुटको छेवैमा किराना पसल सञ्चालन गरेकी उनले एक उम्मेदवारले देखाएको व्यवहार सम्झदै भनिन्, ‘अस्ति एकजना आउनुभएको थियो म ग्राहकले मागेको सामान लिएर आउँछु भन्दै भित्र के छिरेको थिएँ, उहाँले त पर्चा छोडेर जानुभएछ ।
प्रचारप्रसारमा हिँडेको उम्मेदवारले समेत दुई मिनेट कुर्न सक्दैन भने उसलाई मत दिएर जिताउँदा भोलि हाम्रो गुनासो सुन्छ त ?,’ शंकासहित उनले प्रश्न गरिन् ।
करमा मिलेसम्म च्यापे पनि विकासमा कुनै उम्मेदवारले ध्यान नदिएको उनले गुनासो गरिन् । ‘कर कति धेरै छ केही गरौँ भन्दा आँट्न सकिँदैन । कर लिएअनुसार सुविधा भए त हो, त्यो पनि छैन,’ उनले भनिन् ।
अब आउने सरकारले गृहिणीको लागि भान्सा सस्तो गराउन र रोजगारी तथा व्यवसायमा जोड्न पहलका लागि आग्रह गरिन् ।
‘बालेन साह काठमाडौं महानगरपालिकाको प्रमुख भएपछि केही राम्रो भाको छ । सबैले अवसर पाएका त छैनन् । छोराछोरीलाई दुःखसँग पढाइरहेका छौँ । महिलालाई काममा जोड्नुपर्याे । हाम्रो वडाले त्यस्तो केही गरेको छैन, महँगी छ त्यसलाई कम गर्नुपर्छ,’ उनले सुझाइन् ।
सुरेन्द्रबहादुर सिंह (पुरानोबानेश्वर)

पुरानो बानेश्वर चोकमै भेटिएका ८४ वर्षीय अर्का मतदाता सुरेन्द्रबहादुर सिंहले उम्मेदवारको प्रचार शैलीले नै उनीहरूमाथि प्रश्न उठाएको बताए ।
‘अहिले उम्मेदवार आफैँ मपाई छन् । उनीहरूको लक्ष्य सुनेर हामीले कति राम्रो, साँच्चै हाम्रा खास मुद्दा उठायौँ भन्नुपर्नेमा आफैँ म इमान्दार छु, मलाई भोट हाल भनेर हिँडेका छन् हामीले किन मान्ने ?’ उनले प्रश्न गरे ।
काम देखाएकै छैन उम्मेदवारले भनेकै भरमा हामीले राम्रो मान्दिनुपर्ने भन्दै उनी कड्किए ।
पुरानाले त गरेनन् गरेनन् अहिल नयाँ भनेकाले मतदालाई फुक्ला सपना देखाएर मिसलिड गरिरहेको उनको टिप्पणी छ ।
‘अभावमा भएका जनता भड्काइरहेका छन् भोलि नयाँ पनि फरक हुँदैनन् । हेर्नुन प्रचार शैली त त्यही पुरानो जस्तो आरोपप्रत्यारोप जस्तो थियो उस्तै छ । के फरक गर्लान् ? मुद्दा लागेका मान्छे त्यसलाई पुरा गरेर चुनावमा आउँदा हुँदैन र ?,’ उनले जवाफ खोजे ।
काठमाडौं– १ मा ४८ हजार ४ सय ८९ जना मतदाता रहेका छन् । उनीहरूका लागि २२ मतदानस्थल र ५७ वटा मतदान केन्द्र निर्वाचन आयोगले तयार गरेको छ ।













प्रतिक्रिया