भोजपुरमा शेरधन र बालकृष्णलाई चुनौती बन्दै अजम्बर र ध्रुब « Khabarhub

भोजपुरमा शेरधन र बालकृष्णलाई चुनौती बन्दै अजम्बर र ध्रुब

एकै गाउँपालिकाका यी दुई एमालेबाटै राजनीतिमा उदाए


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरमा फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रतिस्पर्धा झन् कडा र अनिश्चित बन्दै गएको छ ।

स्थापित शक्तिलाई समस्या, मत विभाजन, मतदाताको असन्तुष्टि र सङ्गठन चलायमान हुँदा यसपटकको चुनाव यहाँ पूर्णरूपमा खुला प्रतिस्पर्धामा रूपान्तरण भएको छ । यसपटकको निर्वाचनमा परम्परागत शक्तिका उम्मेदवारहरूसँगै वैकल्पिक दलका नेताहरू पनि बलिया देखिएका छन् ।

भोजपुरमा परम्परागत शक्तिका रुपमा रहेका नेकपा एमाले र नेपाली कांग्रेसलाई नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले बलियो टक्कर दिने देखिएको छ । नेकपाका अजम्बर काङमाङ राई र श्रम संस्कृति पार्टीका ध्रुबराज राई ‘डार्क हर्स’ बन्न सक्ने आँकलन मतदाताबीच चलिरहेको छ। यी दुईजनाले अन्तिममा अप्रत्याशित नतिजा निकाल्न सक्ने सम्भावनातर्फ मतदाताले चर्चा गरिरहेका छन् ।  

भोजपुरमा अहिले जित्न सक्ने उम्मेदवारका रुपमा एमालेका शेरधन राई र नेपाली कांग्रेसका बालकृष्ण थापालाई हेरिएको छ। तर अजम्बर र ध्रुबराज पनि पछिल्लो समय बलियो देखिँदै गएका छन् । यी दुवै नेता हिजो एमालेमै थिए। अहिले उनीहरू एमाललेकै सचिव शेरधनविरुद्ध मैदानमा छन् ।

अजम्बर एमालेको भ्रातृसंगठन युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्ष भएका थिए । ध्रुबराज अनेरास्ववियुको केन्द्रीय सदस्यसम्म पुगे। सचिवमा पराजित भएपछि विद्यार्थी राजनीति छाडेर एमालेतिर सक्रिय भए । उनीहरू दुवैजना एमालेमै हुँदा जिल्लामा परिचित र स्थापित नेता हुन् ।

अजम्बरको हिसाब :

१. बलिया वामपन्थी : वाम मतको कुरा गर्दा भोजपुर सधैँ बलियो छ। भोजपुरमा लामो समयदेखि कम्युनिस्ट प्रभाव र पकड दुवै छ ।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेससहितको सहयोगमा माओवादी केन्द्रका सुदन किरातीले जित निकाले । त्यस निर्वाचनको समानुपातिक मत हेर्दा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समेत १७ हजार पुग्छ । यदि यो मत यस पटक जोगाएको अवस्थामा उता ध्रुबराजले एमालेको मत धेरै काटिदिए अजम्बरका लागि लगातारको हारलाई जितमा बदल्ने मौका हुनेछ ।

२. राजेन्द्रको सक्रिय समर्थन : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईको सक्रिय भूमिका अजम्बरका लागि महत्वपूर्ण चुनावी पूँजी हो । प्रदेश सभा क्षेत्र नं. १ मा उनको प्रभाव, संगठनात्मक सञ्जाल र कार्यकर्ता परिचालनले प्रतिनिधि सभाको नतिजामा असर गर्न सक्छ । उनले षडानन्दसहितका पालिकाको मत प्रभावित पार्ने क्षमता राख्छन् ।

 ३. बलियो क्षेत्रगत आधार : दक्षिणको आमचोक गाउँपालिका अजम्बरका लागि सबैभन्दा बलियो आधार मानिन्छ । जुन एमाले सचिव शेरधनको गृहपालिका पनि हो। तर त्यहाँ नेकपालाई बलियो मानिन्छ । टेम्केमैयुङ गाउँपालिका उनको गृहपालिका हो । अरुण गाउँपालिकामा पनि केही मत छ । षडानन्दङ्गँ राजेन्द्र राईको गृहपालिका हो । यी क्षेत्रबाट अग्रता हुन सके अन्तिम परिणाम तलमाथि हुन सक्छ।

ध्रुबराजको हिसाब

१. पुरानाको विकल्प : श्रम संस्कृति पार्टीका उम्मेदवार हुन ध्रुबराज राई । वैकल्पिक राजनीतिक धार समातेका उनी पुराना दलका विकल्पका रुपमाा उभिएका छन् । एमाले छाडेर ठूला दलभन्दा फरक राजनीतिक धारमा लागेका उनी मतदाताका लागि विकल्प हुन सक्छन् । ठूला दलप्रति बढ्दो असन्तुष्टिबीच श्रम संस्कृतिबाट ध्रुबको चुनौतीले जिल्लामा नयाँ बहस छेडेको छ।

 २. एमाले पृष्ठभूमि : ध्रुबले एमाले छाडेको केही महिना मात्रै भएको छ। ध्रुब एमालेको विद्यार्थी राजनीतिबाट उचाइमा पुगेका नेता हुन् । उनले अहिले एमालेकै धेरै मत काट्ने सम्भावना बलियो छ। उनले एमालेपछि नेपाली कांग्रेस र नेकपाको पनि मत काट्ने सम्भावाना बलियो छ।

नेकपाबाट निवर्तमान सांसद सुदन किराती प्रगतिपशील लोकतान्त्रिक पार्टीमा लागेका छन् । प्रलोपाले भोजपुरमा ध्रुब र सुनसरी १ मा हर्क साम्पाङलाई समर्थन गरेको छ। सुदनको जोडबलमा रामप्रसाद, आमचोकसहितका पालिकाबाट नेकपाको राम्रो मत ध्रुबतिर जाने सम्भावना उच्च छ।

 ३. विकासे छवि : टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष हुँदा उनले हरेक घरमा केन्द्रीय प्रसारणको बिजुली पुर्‍याइ । पूर्वाधार विकासका काममा उल्लेख्य योगदान दिउका उनको छवि स्थानीय स्तरमा सुदृढ छ। स्थानीय तहमा काम गरेको अनुभवले उनलाई ‘राम्रा नेता’ का रूपमा स्थापित गरेको छ ।

 ३. हर्क साम्पाङको प्रभाव : करिब ३५ प्रतिशत किरात राईहरूको बसोबास रहेको भोजपुरमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको प्रभाव राम्रो देखिएको छ। अझ उनी आफैं पनि भोजपुर आइरहन्छन् । यही सोमबार उनी भोजपुरका हतुवागढी र आमचोकमा आएर ध्रुबको पक्षमा माहोल बनाएर गए । हतुवागढी एमालेको र आमचोक नेकपाको पकड क्षेत्र हो । हर्कले चुनावी माहोल बनाइदिएपछि यी दुवै पालिकाबाट ध्रुबको भोट बढ्ने सम्भावना उच्च छ।

हर्क साम्पाङको प्रभाव पछिल्लो समय वैकल्पिक राजनीतिक नेतृत्वका रुपमा कोशी प्रदेशमा राम्रो देखिएको छ। हर्क जस्ता नेताको सक्रियताले परम्परागत दलका मतदाता वैकल्पिकतिर ढल्किएका छन् । यहीकारण ध्रुब अहिले भोजपुरमा एमाले, कांग्रेस र नेकपा तीनै दलका लागि चुनौती बनेका छन् ।

नेपाली कांग्रेस र एमालेप्रति पटक–पटक अवसर पाएर पनि परिवर्तनको महसुस गराउन नसकेको गुनासो छ । खासगरी शेरधनमाथि यही कोणबाट प्रश्न उठ्ने गरेको छ । सोमबार भोजपुर आएका हर्कले अलपत्र रहेको चुहार पुलमा पुगेर शेरधनप्रति नै प्रश्न उठाए ।  

पुराना साख जोगाउने दौडमा हुँदा यी दुई उम्मेदवारले अप्रत्याशित परिणाम दिन सक्ने सम्भावनातर्फ पनि धेरैले इंकित गरिरहेका छन् । जसका कारण भोजपुरको चुनाव खुला प्रतिस्पर्धात्मक हुने सम्भावना देखिएको छ। हेभिवेट उम्मेदवारप्रति प्रश्न गरिरहेका केही मतदाताको समूहले विकल्प खोज्ने भन्दै असन्तुष्टि जनाइरहेका छन् । कांग्रेसका थापा पाका हुँदा उनलाई चुनौती थपिएको छ । ७३ वर्षीय उनले नयाँ पुस्ताका मतदाता नचिन्ने, आफ्नै कार्यकर्तासँग पनि परिचित हुन नसकेको गुनासो आइरहेको छ। त्यहीकारण कांग्रेसको मत राष्ट्रिय स्वतन्त्र पार्टीतिर पनि सर्न सक्ने सम्भावना छ।

शेरधनले अवसर पाएर पनि विकासलाई गति दिन नसकेको आरोप लगाइरहेका मतदाताले कांग्रेसका बालकृष्ण राम्रोसँग चिन्न नकसेको गुनासो गरिरहेका छन् । यसको फाइदा अजम्बर र ध्रुबलाई मिल्ने सम्भावना छ । अझ कांग्रेस, एमाले र नेकपाको असन्तुष्ट मत ध्रुबले तानेर आफूलाई ‘डार्क हर्स’ का रूपमा उभ्याउने सम्भावना देखिँदैछ। अहिलेसम्मको चुनावी चहलपहलले भोजपुरमा अप्रत्याशित नतिजा आउँदा आश्चर्य नहुने टिप्पणी मतदाताबाटै भइरहेको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ७ : ०० बजे

निर्वाचन : चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, एमालेका दुई जना घाइते

काठमाडौँ– बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच

सयौँ नेपाली अनलाइन ‘स्क्यामिङ’को जालोमा

काठमाडौँ- सूचना प्रविधिको क्षेत्रमा आकर्षक रोजगारीको प्रलोभन देखाई नेपाली नागरिकलाई

टी–२० विश्वकप : न्यूजिल्याण्डले श्रीलंकालाई दियो १६९ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई

पशुपति क्षेत्रमा एक पुरुष मृत फेला

काठमाडौं – काठमाडौं महानगरपालिका–८ स्थित पशुपति बस्तलेश्वर मन्दिर नजिकको सरस्वती