कानुनी लडाइँ जितेर डाक्टर बनेका तीन फुटे गणेश « Khabarhub

कानुनी लडाइँ जितेर डाक्टर बनेका तीन फुटे गणेश

फरक क्षमताको शक्ति र होचो डाक्टरको चर्चा



के एउटा मानिसको उचाइले उसको क्षमताको मापन गर्न सक्छ ? यदि संसारले तपाईंलाई तपाईंको रूप, आकार वा कमजोरीका आधारमा सीमित गरिदियो भने-के तपाईं त्यसैमा सीमित हुनुहुन्छ ? यही प्रश्नलाई चुनौती दिँदै उभिएको छ- २५ वर्षीय गणेश बरैयाको जीवनकथा। जहाँ तीन फिटको कदले होइन, अटल आत्मविश्वास र अडिग संघर्षले इतिहास लेख्यो। यस्तै प्रेरणादायी र चासो जगाउने कथा हो- गणेश बरैयाको, जसले जीवनका कठोर चुनौतीलाई जित्दै विश्वकै सबैभन्दा होचो डाक्टर बन्ने अद्भुत यात्रा तय गरेका छन्।

भारतको गुजरात राज्यअन्तर्गत पर्ने तलाजा क्षेत्रको सामान्य परिवारमा जन्मिएका गणेशको बाल्यकाल सुरुमा अरू बच्चा जस्तै सामान्य थियो। तर, चार वर्षको उमेर पुगेपछि उनका शरीरमा असामान्य परिवर्तन देखिन थाल्यो।

शरीरको अनुपातमा टाउको अस्वाभाविक रूपमा ठूलो हुँदै गयो, जसले उनका आमाबुबालाई चिन्तित बनायो। अस्पतालमा गरिएको परीक्षणपछि डाक्टरले दिएको जवाफ झन् झस्काउने खालको थियो। गणेशमा यस्तो स्वास्थ्य समस्या छ जसको उपचार सम्भव नै छैन।

त्यो क्षण एउटा परिवारका लागि मात्र होइन, एउटा सानो बालकको भविष्यका लागि पनि निर्णायक थियो। समस्या रोक्नका लागि उनकी आमाले उनको टाउकोमा कसिलो हेलमेट बाँधिदिने गर्थिन्, ताकि टाउकोको वृद्धि नियन्त्रणमा रहोस्। तर, शारीरिक अवस्था मात्रै चुनौती थिएन। समाजको व्यवहार पनि त्यत्तिकै कठोर थियो।

विद्यालयमा उनी आफ्नो कद र शारीरिक बनावटका कारण साथीका लागि हाँसोको पात्र बन्न गर्थे। गणेशका केही असल साथी पनि थिए, जसले उनलाई साथ दिए, हौसला दिए। यही साथ र आफ्नै दृढ इच्छाशक्तिका कारण गणेशले पढाइमा ध्यान केन्द्रित गर्न सके।

गणेशको परिवारको आर्थिक अवस्था सहज थिएन। उनका बुबा कृषि मजदूरका रूपमा दैनिक करिब २०० भारतीय रुपैयाँ कमाउँथे। यही बीचमा एक दिन एउटा चकित पार्ने प्रस्ताव आयो। गणेशलाई सर्कसमा लैजान एक लाख रुपैयाँको अफर। यस्तो प्रस्ताव धेरैका लागि आकर्षक हुन सक्थ्यो, तर गणेशका बुवाले आफ्नो छोराको भविष्यलाई सस्तो मनोरञ्जनमा बेच्न मानेनन्।

त्यसपछि बुबाको मनमा झन् डर बढ्न थाल्यो। कहीँ कसैले जबरजस्ती गणेशलाई अपहरण गरेर सर्कसमा लैजान्छ कि ? यही डरका कारण उनका बुबाले गणेशलाई कहिल्यै एक्लै बाहिर जान दिएनन्। आफैंले स्कुल पुर्‍याउने र ल्याउने जिम्मा लिए।

यस्ता चुनौतीबीच पनि गणेशको अर्जुनदृष्टि डाक्टर बन्ने थियो। शरीर सानो भए पनि सपना ठूलो थियो। उनले कठिन मिहिनेत गर्दै विद्यालय शिक्षा उत्कृष्ट अंकसहित पूरा गरे। तर, वास्तविक संघर्ष त त्यहीँबाट सुरु भयो। जहाँ एमबीबीएस पढ्नका लागि आवेदन दिँदा उनले प्रवेश परीक्षामा राम्रो अंक त ल्याए तर उनको कद केवल तीन फिट भएकोले सबैभन्दा ठूलो अवरोध बन्यो। भारतको मेडिकल काउन्सिलले उनलाई “भविष्यमा डाक्टरको भूमिका निभाउन नसक्ने” भन्दै आवेदन अस्वीकृत गरिदियो।

यो निर्णय कुनै पनि व्यक्तिका लागि निराशाजनक मात्र होइन, सपनालाई समाप्त गर्ने खालको हुन सक्थ्यो। तर गणेश त्यस्तो व्यक्ति थिएनन्, जो सजिलै हार मान्छन्। उनले आफ्नो विद्यालयका प्रधानाध्यापकको सहयोग लिए।

जिल्ला अधिकारीदेखि शिक्षामन्त्रीसम्म धाए। न्यायका लागि ढोका ढक्ढक्याउँदै अन्ततः उनी भारतको सर्वोच्च अदालतसम्म पुगे। धेरै प्रयासपछि सन् २०१८ मा सर्वोच्च अदालतले गणेशलाई एमबीबीएस अध्ययन गर्न दिनुपर्छ भनि ऐतिहासिक फैसला सुनायो । यो निर्णय केवल गणेशको जित मात्र थिएन, यो हजारौं फरक क्षमताका व्यक्तिका लागि आशाको सन्देश पनि थियो।

गणेश बरैयाको कथा केवल व्यक्तिगत सफलताको कथा मात्रै होइन, यो समाजका पूर्वाग्रहलाई चुनौती दिने कथा हो।

अन्ततः उनी मेडिकल कलेजमा भर्ना भए र आफ्नो अध्ययन पूरा गर्न सफल भए। तीन फिट उचाई र करिब १८ केजी तौल भएका गणेशले अहिले डाक्टर बन्ने आफ्नो सपना साकार पारिसकेका छन्। उनी हाल भावनगर मेडिकल कलेज अस्पतालमा प्रशिक्षार्थी डाक्टरका रूपमा काम गरिरहेका छन्। अस्पतालमा सुरुमा धेरै बिरामीले उनलाई गम्भीर रूपमा लिँदैनन्। उनीसँग खुल्न हिच्किन्छन्। तर, केही समय कुरा गरेपछि जब उनको ज्ञान र दक्षता प्रस्ट हुन्छ, बिरामी ढुक्क हुन्छन्।

यो अनुभव सामान्य कदका डाक्टरले प्रायः भोग्नुपर्दैन। तर गणेशले यसलाई कमजोरी होइन, आफ्नो यात्राको एउटा हिस्सा मानेका छन्। उनको नाम अझै गिनिज बुकमा आधिकारिक रूपमा दर्ता हुन बाँकी भए पनि, विश्वकै सबैभन्दा होचो डाक्टरका रूपमा उनको चर्चा चुलिएको छ। गणेश बरैयाको कथा केवल व्यक्तिगत सफलताको कथा मात्रै होइन, यो समाजका पूर्वाग्रहलाई चुनौती दिने कथा हो।

यो कथा हो, जहाँ शरीरको उचाइले होइन, आत्मविश्वासको उचाइले सफलता निर्धारण गर्छ। सायद, उनको जीवनले हामीलाई एउटा गहिरो प्रश्न सोधिरहेको छ– हामीलाई रोक्ने वास्तविक बाधा के हो ? परिस्थिति, समाज वा आफ्नै डर ?

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ११ : १७ बजे

सभ्यताको मूल जरो ‘तोरकीन’

उपन्यासको नाम ‘तोरकीन’ले नै मेरो पुस्तकप्रति आकर्षण बढेको थियो ।

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ– नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने

झापामा पुँजीगत खर्च ५१ प्रतिशत मात्र

झापा– गत आर्थिक वर्षमा झापामा पुँजीगत बजेटको ५१ प्रतिशत मात्र

बीपीको वैचारिक कांग्रेसमा विरासतको मोलतोल

पृष्ठभूमि आज बीपी कोइराला जीवित हुनुहुन्थ्यो भने नेपाली कांग्रेसको वर्तमान

कृषि, खानेपानी र घरायसी विद्युतमा १३ प्रतिशत भ्याट दुर्भाग्यपूर्ण : घिसिङ

काठमाडौँ– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले कृषि सिँचाइ,