न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासन नियन्त्रणसम्बन्धी कडा नीतिहरू लागू भइरहेका बेला अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) हिरासत केन्द्रहरूमा मृत्यु हुने व्यक्तिको संख्या दशकयताकै उच्च स्तरमा पुगेको एक प्रतिवेदनले जनाएको छ।
मानवअधिकार संस्था ह्युमन राइट्स वाच (एचआरडब्लु) र फिजिसियन्स फर ह्युमन राइट्स (पीएचआर) ले संयुक्त रूपमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२५ जनवरीमा ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता आईसीई हिरासतमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ।
प्रतिवेदनमा ट्रम्प प्रशासनले अवैध आप्रवासन नियन्त्रणलाई प्राथमिकतामा राख्दै हजारौं आप्रवासीलाई हिरासतमा लिएको उल्लेख गरिएको छ। सन् २०२५ जनवरीदेखि २०२६ जनवरीसम्म आईसीई हिरासतमा वार्षिक मृत्युदर अघिल्लो वर्षको तुलनामा १४० प्रतिशतले वृद्धि भएको जनाइएको छ।
उक्त मृत्युदर पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालको तुलनामा करिब चार गुणा तथा ट्रम्पको पहिलो कार्यकाल (सन् २०१७–२०२१) को तुलनामा दुई गुणाभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनका सह–लेखक तथा एचआरडब्लुका अनुसन्धानकर्ता रेगन विलियम्सका अनुसार हिरासतमा रहेका व्यक्तिहरूले आवश्यक स्वास्थ्य सेवा नपाउँदा ज्यान गुमाउनुपरेका घटनाहरू भेटिएका छन्।
प्रतिवेदनले स्ट्रोक भएपछि पनि समयमै उपचार नपाएका एक बन्दीको घटना उल्लेख गरेको छ। त्यस्तै, हृदयघात भएका एक मेक्सिकन नागरिकको आवश्यक चिकित्सा उपचारको अभावमा मृत्यु भएको उदाहरण पनि समेटिएको छ।
प्रतिवेदनअनुसार हिरासत केन्द्रहरूको विस्तारसँगै स्वास्थ्य सेवाको गुणस्तर र पहुँच कमजोर बन्दै गएको छ। हार्वर्ड मेडिकल स्कुलकी बालरोग विशेषज्ञ तथा प्रतिवेदनकी सह–लेखिका क्याथरिन पिलरले आईसीई हिरासतमा रहेका व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्न अमेरिकी सरकार असफल भएको टिप्पणी गरेकी छन्।
प्रतिवेदनले हिरासतमा आत्महत्याका घटनाप्रति पनि चिन्ता व्यक्त गरेको छ। सन् २०२५ जनवरीदेखि २०२६ जनवरीसम्म आईसीई हिरासतमा सात जनाले आत्महत्या गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।












प्रतिक्रिया