बेलायतका राजा चार्ल्सले सार्वजनिक गर्दै व्यक्तिगत कर विवरण « Khabarhub

बेलायतका राजा चार्ल्सले सार्वजनिक गर्दै व्यक्तिगत कर विवरण


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायती राजतन्त्रमा पारदर्शिता र जवाफदेहिता बढाउने उद्देश्यले राजा चार्ल्स तृतीयले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने तयारी गरेका छन्। यससँगै उनी व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने पहिलो बेलायती राजा बन्ने अपेक्षा गरिएको छ।

बेलायती सञ्चारमाध्यमहरूका अनुसार बकिङ्घम दरबारले सार्वभौम अनुदान (सोरभरेन ग्रान्ट) सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा राजाको कर विवरण पनि सार्वजनिक गर्ने तयारी गरेको हो। सार्वभौम अनुदानमार्फत बेलायती करदाताले राजतन्त्रका आधिकारिक गतिविधिका लागि आर्थिक सहयोग गर्दै आएका छन्।

गत वर्ष दरबारले करिब आठ करोड ६३ लाख पाउन्ड खर्चको विवरण समेटिएको १५९ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको थियो। उक्त प्रतिवेदनमा दरबारको नवीकरण तथा सञ्चालनसम्बन्धी खर्चसमेत उल्लेख गरिएको थियो।

राजा चार्ल्सले वेल्सका राजकुमार रहँदा आफ्नो व्यक्तिगत आम्दानीमा तिरेको करबारे जानकारी सार्वजनिक गर्ने परम्परा अपनाएका थिए तर सन् २०२२ मा रानी एलिजाबेथ द्वितीयको निधनपछि सिंहासनमा आरोहण गरेयता उनले पहिलो पटक राजाको हैसियतमा यस्तो विवरण सार्वजनिक गर्न लागेका हुन्। वेल्सका राजकुमार विलियमले पनि आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

बेलायतमा पछिल्ला वर्षहरूमा राजतन्त्रको आर्थिक तथा प्रशासनिक गतिविधिमा थप पारदर्शिता आवश्यक रहेको आवाज उठ्दै आएको छ। विशेषगरी राजपरिवारका सदस्य एन्ड्र्यु माउन्टब्याटन–विन्डसरसँग सम्बन्धित विवादपछि शाही संस्थामाथिको सार्वजनिक निगरानी बढेको छ।

दरबार निकट स्रोतहरूका अनुसार राजा चार्ल्सले राजतन्त्रप्रति जनविश्वास अभिवृद्धि गर्न तथा संस्थागत जवाफदेहिता सुदृढ गर्न व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने निर्णय गरेका हुन्। उनले लामो समयदेखि राजसंस्थालाई थप सानो, कम खर्चिलो र आधुनिक लोकतान्त्रिक मूल्यअनुकूल बनाउने प्रयास गर्दै आउनुभएको छ।

राजा चार्ल्सको व्यक्तिगत सम्पत्ति करिब ६८ करोड पाउन्ड रहेको अनुमान गरिएको छ। उनको निजी आम्दानीका प्रमुख स्रोत स्कटल्यान्डस्थित बालमोरल एस्टेट, इङ्ग्ल्यान्डको स्यान्ड्रिङ्घम एस्टेट, बचत तथा विभिन्न लगानीहरू हुन्। बालमोरलमा करिब ५० हजार एकड तथा स्यान्ड्रिङ्घममा करिब २० हजार एकड जमिन रहेको छ। यी सम्पत्तिका केही भाग सर्वसाधारणका लागि खुला छन् र पर्यटन तथा कृषि गतिविधिबाट समेत आम्दानी हुने गर्दछ।

यद्यपि सार्वभौम अनुदान तथा राजकीय जिम्मेवारी पूरा गर्न प्रयोग हुने आम्दानीमा राजाले कर तिर्नु पर्दैन। कानुनी रूपमा बाध्यता नभए पनि राजा चार्ल्सले आफ्नो निजी आम्दानीमा स्वेच्छिक रूपमा कर तिर्दै आएका छन्। सन् १९९३ मा विन्डसर क्यासलमा आगलागी भएपछि बढेको सार्वजनिक दबाबका कारण रानी एलिजाबेथ द्वितीयले पनि स्वेच्छिक रूपमा कर तिर्न सुरु गरेका थिए।

यस्तै, राजकुमार विलियमको प्रमुख निजी आम्दानीको स्रोत डची अफ कर्नवाल हो। करिब एक लाख ३० हजार एकड क्षेत्रफलमा फैलिएको उक्त सम्पत्तिले गत वर्ष दुई करोड २९ लाख पाउन्ड नाफा कमाएको जनाएको थियो।

राजा चार्ल्सको यो निर्णयलाई बेलायती राजतन्त्रलाई थप पारदर्शी, उत्तरदायी र आधुनिक बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  १२ : ४४ बजे

केही हप्ताभित्र होर्मुजमा फसेका अधिकांश जहाज खाली गरिने : आईएमओ

एजेन्सी– अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले नयाँ निकासी ढाँचा अन्तर्गत

देशका विभिन्न जिल्लामा एकैदिन सर्पदंशबाट ४ जनाको मृत्यु 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका प्राकृतिक तथा

दृष्टिविहीन स्नातकोत्तर अम्बिकाको आक्रोश- ‘सरकारले न जागिर दियो, न सडकपेटीमा गीत गाउन’ 

काठमाडौं– जुम्लाकी ३७ वर्षीया अम्बिका थापाले राज्यले दृष्टिविहीनमाथि बर्बरता मच्चाएको

रास्वपा महाधिवेशन : प्रवासमा रहेका प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत प्रवासमा रहेका

स्थायी व्यवस्थापन नभए पुरानै बासस्थानमा फर्किने सुकुम्वासीहरूको चेतावनी

काठमाडौं – होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले