दृष्टिविहीन स्नातकोत्तर अम्बिकाको आक्रोश- ‘सरकारले न जागिर दियो, न सडकपेटीमा गीत गाउन’  « Khabarhub

दृष्टिविहीन स्नातकोत्तर अम्बिकाको आक्रोश- ‘सरकारले न जागिर दियो, न सडकपेटीमा गीत गाउन’ 



काठमाडौं– जुम्लाकी ३७ वर्षीया अम्बिका थापाले राज्यले दृष्टिविहीनमाथि बर्बरता मच्चाएको आरोप लगाएकी छिन् । ग्रामीण विकास विषयमा स्नताकोत्तर गरेकी उनी सडकपेटीमा नङ काट्ने, तौल जोख्ने मेसिन लिएर बस्थिन् । साथै, सडक संगीत गरेर जीविकोपार्जन गर्दै आएकी थिइन् । 

आफूजस्तै दृष्टिविहीन श्रीमान् र उनले सडकलाई नै कर्मथलो बनाएका थिए । तर काठमाडौँ महानगरपालिकाले आफूहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरी सडकबाट उठाएकोमा उनको घोर आपत्ति छ । 

महानगरले सडकपेटीमा खुद्रा व्यापार गर्न, गीत गाउन र माग्न रोक लगाएपछि दृष्टिविहीनहरू आफूहरूको व्यवस्थापन गर्नुपर्ने माग राख्दै माइतीघर मण्डलामा विरोध प्रदर्शनमा उत्रिएका छन् । 

राज्यले दृष्टिविहीनहरूलाई सडकपेटीमा मर्यादित रूपमा गरी खान दिनुपर्ने, योग्यता अनुसारको रोजगारीको व्यवस्था गर्नुपर्ने बताएका छन् । त्यस्तै, रोजगार दिन नसकेको खण्डमा बेरोजगार भत्ता बापत प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।

अम्बिका दम्पती

असारको चर्को घाममा सेतो छडी श्रीमान्को हात समातेर मण्डलामा उभिएकी अम्बिकाले राज्यले आफूहरूलाई भोटबैँकको रुपमा मात्रै प्रयोग गरेको आरोप लगाएकी छिन् । 

खबरहबसँग कुरा गर्दै उनले भनिन्, ‘नेताहरूले चुनावको बेला मात्रै चिन्नुहुन्छ । भोट हालेर जिताएर पठाएपछि बिर्सनुहुन्छ । हिजोका पुराना नेताले पनि त्यसै गर्नुहुन्थ्यो । अहिले नयाँ भन्नेहरूले भोटबैँकको रुपमा प्रयोग गर्नुभयो । अपाङ्गता तथा असक्ततामाथि पनि राज्यले बल प्रयोग गरेर शक्ति प्रदर्शन गर्नु निकम्मापन हो ।’

‘नगर प्रमुख विष्णु जोशीले दृष्टिविहीन ‘चिनी चियापत्ति’ भन्ने शब्द प्रयोग गरे । तिमीहरूलाई भाटा हान्छु भने, उनी थप भन्छिन्, ‘म दृष्टिविहीनको सुरुवाल घुँडासम्म च्यातिदिए । लछारपछार पारेर गाडीमा हालेर होल्डिङ सेन्टर लगे । बिहानदेखि बेलुकासम्म पानी पनि नदिएर राखे । बेलुका ५ बजे डिएसपी आएपछि झनै झडप भयो । प्रहरीले हामीमाथि हातपात ग¥यो । हाम्रो मोबाइल जफत गरियो ।’

त्यसैगरी अम्बिकाका श्रीमान् अर्जुन सापकोटाले कोठाभाडा र चार वर्षको छोराको स्कुल फी समेत तिर्न नसकेको बेलामा महानगरले सडकबाट उठाएर आफूहरूमाथि अन्याय गरेको बताए । उनले भने, ‘सडकमा बसेर मागेर गुजारा गर्न, धुवाँ धुलोसँग पौँठेजोरी खेल्दै अगरबत्ती बेचेको रहरले होइन । बाध्यताले हो । हामी पनि सडकमा बस्न चाहन्नौँ। सरकारले हामीलाई सडकमा बस्न नपर्ने वातावरण बनाइदिनुपर्‍यो ।’

हेटौंडाका ४२ वर्षीय सापकोटा र अम्बिकाले पाँच वर्ष अगाडी प्रेम विवाह गरेका थिए । अहिले उनीहरूको एक चार वर्षको छोरा छन् । सानोठिमी मगरगाउँमा भाडा गरेर बस्ने उनीहरू सडकमै भेटिएका थिए । 

यसरी जुर्‍यो लगन

प्रेमको लहरो कसरी झाँगियो त ? अम्बिका भन्छिन्– अगरबत्ती बेच्न हिँड्ने क्रममा भेट भएको हो । ग्रुप भएर हामी बेच्न हिँड्थ्यौ । एकदिन ग्रुप जुध्यो । त्यसैक्रममा चिनापर्ची भयो । बिस्तारै–बिस्तारै कुराकानी बढ्दै गएपछि मायाप्रेम हुँदै गयो । तीन महिनाको प्रेम सम्बन्धलाई विवाह गरेर श्रीमान्– श्रीमती बन्यौ । २०७८ साल वैशाख २७ गते बिहे गर्‍यौं ।

आवाज सुनेरै प्रेम जाग्यो । प्रेम हृदयले महसुस गर्ने हो । आँखाले देखेर मात्रै हुँदैन । हृदय हामीसँग पनि छ । आँखा नभएर प्रेम गर्न छेकिँदैन । बोलीवचन र व्यवहारले मन जित्न सकिन्छ । 

मेरो तुलनामा धेरै कम पढ्नुभएको छ । तर उहाँ इमानदारीमा सबैभन्दा माथि पाएँ । धन सम्पत्ति, शैक्षिक योग्यताभन्दा पनि इमानदारी ठूलो कुरा हो । आजसम्म जाँडरक्सी छुनुभएको छैन । उहाँभन्दा धेरै छुची बरु म आफैँ छु । घरमा मेरो निर्णय चल्छ । 

आर्थिक अभावका झमेला

दुईकोठाको महिनाको ८ हजार ३ सय नियमित तिर्नुपर्छ । कसरी तिर्ने ? छोराको स्कुलको फिस तीन महिनादेखि तिर्न सकेको छैन । ड्रेसको तिर्न सकेको छैन । स्कुलले फोन गरेर बोलाइरहेको छ । शुल्क जुटाउन सकिरहेको छैन । कसरी जाने ? कसरी बाँच्ने भन्ने स्थिति आयो । सडकमा गीत गाएर हिँड्न कत्ति पनि रहर छैन । दृष्टिविहीनको क्षमता हेरेर जागिर दिने हो वा अन्य केही व्यवस्थापन गर्ने हो । सरकारले छिटो गरिदेओस् । बाध्य भएर सडक आन्दोलनमा आउनुपर्‍यो ।

समयमा उपचार नपाउँदा ज्योति गुम्यो

अर्जुनको दश वर्षको उमेरदेखि आँखा कमजोर हुँदै गएपछि उनले पढ्न छाड्नुपर्‍यो । त्यस्तै अम्बिकाको पनि ५ वर्षको उमेरमा आँखा पाकेर दृष्टि हरायो । समयमा उपचार पाएको भए, आँखा ज्योति जोगाउन सकिन्थ्यो । परिवारको आर्थिक उपचार गर्ने अवस्था थिएन । काठमाडौँ आएर उपचार गर्न बुवाआमाले सक्नुभएन । 

शिक्षा

अर्जुनले सात कक्षासम्म पढेका छन् । अम्बिकाले स्नातकोत्तर गरेकी छिन् । उनले ६ महिना जिल्ला विकास समितिको छात्रवृत्तिमा पढिन् । त्यसपछि पछि कान्तिपुरको देवेन्द्र भट्टराईले उनी र उनी जस्तै दृष्टिविहीनहरूको समाचार छापिदिए । समाचारपछि धेरै सहयोगीहरू अगाडी आइपुगे । उनी एनआइसी बैँकले छात्रवृत्तिले कलेज पढिन् । 

जागिर खोज्दाको छटपटी

सर्टिफिकेट बोकेर धेरै ठाउँमा जागिरको लागि गए तर कसैले पनि राखेनन् । तीनपटक पर्यटन बोर्डमा सर्टिफिकेट लिएर पुगे । उहाँहरू बोलाएरै गएको थिएँ । सीटीभीटीमा दुई पटक दिएँ । 

धूप बेच्ने, तौल नाप्ने, नङकट लिएर चोकचोकमा बेच्न बस्थ्यौँ । तर काठमाडौँ महानगरले सबै सामान फालिदिए । सडकमा बस्न दिएनन् । फेरि सडक संगीत गर्दै जीविकोपार्जन गर्दै आएका थियौँ । अहिले त्यो पनि गर्न दिएन । 

मेरो नेता राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले के गर्नुहुन्छ दिदी भनेर सोध्नुभयो ? धूप बेच्छु भने पनि उहाँले ढिलोमा २० दिनमा जागिर लगाउँछु भनेर आश्वासन दिनुभयो । भोट माग्ने बेला तपाईँको माग पुरा गर्छौ भनेर हात जोड्नुभयो । उहाँ दुई पटक सांसद हुनुभयो तर त्यसपछि भेटघाट छैन । सबैको हितको लागि बोल्नुहुन्छ । तर आफ्नै ठाउँको अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारको लागि बोलेको सुनेको छैन । 

हाम्रो आन्दोलनमा श्रम संस्कृति पार्टीका नेता आएर भेट्नुभयो । तर शाही आउनुभएको छैन । कृपया एकपटक माइतीघरमा हामी पीडितका कुरा सुन्न आइदिनुहोला । लकडाउनका उहाँले अपाङ्गता भएकालाई राहत वितरण गर्नुभएको थियो । फेरिका दिनमा भोट चाहिँदैन ?

राजनीतिक यात्रा

ज्ञानेन्द्र शाहीको प्यानलको मान्छे हो । अघिल्लो चुनावमा समानुपातिकमा उठेको हो । पहिले पुलिसका हाकिम ठाकुरमोहन श्रेष्ठले सिफारिस गर्नुभएपछि पार्टीले कोटामा राखेको थियो । शाहीसँग सानो बच्चा बोकेर भोट माग्न हिँडे । राजनीतिमा रुचि छ । नेता हुन्छु भन्ने थियो तर कर्मले सडकमा गीत गाएर बस्ने बनायो । त्यो पनि सरकारले लखेटेर उठिबास लगायो । अपाङ्गता भएका व्यक्तिहरूको लागि आवाज उठाउँछु भन्ने थियो । संगीत र समाजसेवामा रुचि छ । 

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  २ : २९ बजे

‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच सम्झौता

काठमाडौं– नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन

झन् वैचारिक अलमल र द्विविधा : दस्तावेजमाथि न छलफल, न परिमार्जन

काठमाडौं– चितवनमा जारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो

असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाडौं– नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य