एकता महाधिवेशनका नाममा चिप्लियो रास्वपा, नयाँ-पुराना सबैको चर्को असन्तुष्टि « Khabarhub

एकता महाधिवेशनका नाममा चिप्लियो रास्वपा, नयाँ-पुराना सबैको चर्को असन्तुष्टि

बन्द सत्रमा बोल्न नपाएपछि प्रतिनिधिको आक्रोश



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी बितेका पाँच दिनदेखि चितवनमा अल्मलिएको छ। पार्टी मात्रै होइन, देश चलाइरहेको दुईतिहाइको सरकारका अधिकांश मन्त्री पनि भरतपुरमै अल्झिएका छन् ।

आइतबार काठमाडौं छाडेका प्रधानमन्त्री वालेन्द्र शाह महाधिवेशन लम्बिएपछि बुधबार मात्रै फिर्ता भएका छन् । तर अरू मन्त्री चितवनमै छन्। सिंहदरबारमा अहिले प्रधानमन्त्री नवप्रवर्त्तन मन्त्री महावीर पुनलाई मात्रै भेट्न सकिन्छ । अरू सबै मन्त्री महाधिवेशनबाट पार्टीको पद जोगाउन चितवनमै छन्।

छिटो छरितो र वैज्ञानिक रुपमा महाधिवेशन गर्ने भनेको रास्वपाले पाँच दिनसम्म पनि पदाधिकारीको निर्वाचन गर्न सकेको छैन । उसले बल्ल केन्द्रीय सदस्यको मतदान सकेको छ। तर अझै पनि प्रवासबाट मोबाइलमा हुने भोटिङ हुन सकेको छैन । केन्द्रीय सदस्यको भोटिङ नसकी पदाधिकारीको प्रक्रिया अघि बढ्ने अवस्था छैन । रास्वपाको यो महाधिवेशनले नेपाली कांग्रेस र नेकपा एमालेलाई पनि पछि पारेको छ।

साता छुन लाग्दा पनि महाधिवेशन नसक्दा धेरैले प्रश्न उठाउन थालेका छन्। कमजोर व्यवस्थापन, महाधिवेशनका कार्यक्रम विकेन्द्रित नगर्नु, विभिन्न पार्टीबाट आएकालाई समायोजन र नयाँ भूमिकाबारे महाधिवेशन अगाडि छलफल नहुँदा समस्या जटिल बनेको छ।

पार्टी पदाधिकारी र निर्वाचन आयोगबीच पनि समन्वय नहुँदा समस्था थपिएको छ। त्यहीकारण रास्वपाको महाधिवेशन सातामा पनि नसकिने अवस्था आएको छ।

२०७९ को निर्वाचनमा २१ सिट ल्याएको रास्वपाले सामाजिक सञ्जाल र प्रविधिको प्रयोग गरेरै ०८२ को निर्वाचनमा १८२ सिट जित्यो। तर आफ्नो महाधिवेशनमा भने रास्वपा पूरा असफल देखियो ।

न प्रविधिको प्रयोग राम्रोसँग भयो न व्यवस्थापकीय अब्बलता नै । प्राविधिक रुपमा कयौँ ठाउँमा चुकेपछि आफ्नै नेताहरू र प्रतिनिधिले कार्यसमितिमाथि प्रश्न उठाएका छन्। केहीले त विद्युती भोटिङ मेशिनमै सेटङ भएको आरोप पनि लगाएका छन् ।

संसदीय चुवनामा पुराना दललाई ठेगान लगाउन ‘नो भोट’को वकालत गरेको रास्वपा आफ्नै नेतृत्व छान्दा भने त्यसलाई बेवास्ता गरेर अघि बढ्यो । त्यसैगरी अन्य कयौँ व्यवस्थापकीय पाटोमा चिप्लिएको छ। चुनाव हुने बेलासम्म पनि महाधिवेशन प्रतिनिधिको टुंगो लाग्न सकेको थिएन । तयारीबिनै महाधिवेशन बोलाएको, असन्तुष्टको स्वर नसुनेको, सेटिङ गरेर नाम चलेका नेतालाई मतदानका लागि माथिल्लो क्रममा राखेको आरोपसहित प्रतिनिधिहरूले आपत्ति जनाए ।

महाधिवेशन प्रतिनिधि रविन महत ‘नो भोट’को व्यवस्था नगरिएकोमा आक्रोशित छन् । सबै कामको तयारी नगरी महाधिवेशन थालिएकोमा पनि उनी निराश छन् ।

उनी निकै कष्ट गरेर महाधिवेशनमा आए पनि पार्टीको व्यवस्थापन देखेर दिक्क छन् । त्यहीकारण १३ सय बढी प्रतिनिधिहरू भोटै नहाली फर्किनु परेको गुनासो उनी सुनाउँछन् ।

‘प्रतिनिधिलाई पनि बेवास्ता गरेर महाधिवेशन भयो भन्ने हामीलाई लागेको छ। व्यवस्थापनमा पनि हाम्रो पार्टी चिप्लिएको छ । पहिलो महाधिवेशन भएकाले यस्तो भयो भन्नुहुन्छ, तर कमजोरी र असन्तुष्टि राख्ने ठाउँ धेरै छन्’, महतले अगाडि भने, ‘धेरै महाधिवेशन प्रतिनिधि लामो समय महाधिवेशनको प्रक्रिया सुरु नभएको र पूरा नभएपछि भोटै नहाली फर्किनुभयो। यसले हामीलाई थप निराशा बनाएको छ।’

चर्चित नेताहरू राजीव खत्री, सागर ढकाल र आशिका तामाङ पनि ‘नो भोट’को व्यवस्था नगरिएकोमा आक्रोशित छन् । उनीहरू महाधिवेशन प्रतिनिधिको भावना बाहिर गएर काम गरिएकोले आगामी दिनमा सच्चिनुपर्ने बताउँछन् ।

आशिकाले सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेकी छन् । खबरहबसँगको कुराकानीमा उनले पार्टीको भद्रगोल अवस्था देखे चिन्ता लागेको बताइन् ।

‘तयारी पूरा भएको रहेनछ । महाधिवेशन अलिक पछाडि धकेलेको भए पनि हुन्थ्यो। हेर्नुहोस् त, हाम्रा कतिजना साथीहरूको बिजोग भयो । सबै साथीहरूलाई आफ्नो मत सुरक्षित गरौँ भन्ने त हुन्छ नि, तर उहाँहरू निराश भएर फर्किनुभयो । हामीले धेरै गल्ती गरेका छौँ, आगामी दिनमा यस्तो हुनु हुँदैन’, तामाङ भन्छिन्, ‘म त फागुन २१ को निर्वाचन जस्तै हुन्छ होला भनेको, तर कतैको क्रम संख्या कता, कतैको क्रम संख्या कता । के हो, के हो ? अचम्मै भयो नि !’

अर्का प्रतिनिधि यदुकुमार गिरी पनि प्रतिनिधिको भावना बाहिर गएर महाधिवेशन भएको उल्लेख गर्छन् । गिरीले आफूले नचिनेका कतिलाई मत हालेको उल्लेख गरे । आफ्नो इच्छा नहुँदा नहुँदै पनि तिनलाई मतदान गरेको उनले बताए ।

‘‘नो भोट’को व्यवस्था गरिने भनेपछि हामी उत्साहित थियौँ तर त्यो नहुँदा कतिलाई मन नलाग्दा नलाग्दै पनि मतदान गर्नुपर्‍यो। आयोजक कमिटीले धेरै कुरा व्यवस्थापन गर्न नसकेको देखिन्छ । ४ हजार भन्दा बढी महाधिवेशन प्रतिनिधि उपस्थित थिए । तर कसरी ७०, ७५ प्रतिशत मात्रै भोट खस्छ यत्रो ठूलो पार्टीमा ?’, उनी भन्छन्, ‘यसपटकको महाधिवेशन सोचेअनुरुप भएन भनेर सबैले स्वीकार्नुपर्छ। स्मार्ट र छरितो महाधिवेशन गर्ने भनेका थियौँ, तर धेरै ठाउँमा चिप्लियौँ ।’

रास्वपाको पहिलो महाधिवेशनमा ७६.६७ मत खसेको छ। यो आमनिर्वाचनको भन्दा कमजोर दर हो । महाधिवेशन प्रतिनिधिको एकिन नगरी भएको मतदानमा निर्वाचनमा आयोगले ३८५८ जनाको विवरण निर्वाचनपछि सार्वजनिक गर्‍यो। आयोगका अनुसार जसमा २९५८ जनाले मतदान गरे। अरू १३ सय ५२ प्रतिनिधि मतदान नै नगरी हिँडेका छन् ।

एकताको महाधिवेशनका नाममा अपरिपक्क र अव्यवहारिक महाधिवेशनले रास्वपामाथि प्रश्न उठेको छ। त्यो प्रश्न विपक्षी दल र अरूले नभएर आफ्नै महाधिवेशन प्रतिनिधिले गरेका हुन् । प्रश्न मात्रै होइन, नेता र महाधिवेशन प्रतिनिधिले नेतृत्वको नियतमाथि नै आशंका गरेका छन् । तर महामन्त्री कविन्द्र बुर्लाकोटी नेतृत्वको नियतमा शंका गर्नुपर्ने ठाउँ नरहेको बताउँछन् । यही कुरा महाधिवेशनस्थलमा उपसभापति डा. स्वर्णिम वाग्लेले समेत राखेका छन्।

प्रतिनिधिले बोल्न पाएनन्

रास्वपाले बन्दसत्रबाट छवटा प्रतिवेदन पारित गरेको छ। ती प्रतिवेदनमा समूहगत छलफल नै भएन । बिना छलफल पारित गरिएकामा महाधिवेशन प्रतिनिधिले असन्तुष्टि जनाए ।

पाँचथरबाट आएका एक नेताले पार्टीको हलभित्र सबै प्रतिवेदन बाचन गरेपछि छलफल हुनुपर्ने माग उठेको थियो । तर एकसरो बाचन गरेपछि पारित भएको घोषणा गरियो।

सामूहिक छलफल नै नभई प्रतिवेदन पारित गरिएपछि लोकतान्त्रिक प्रक्रियामाथि नै प्रश्न उठेको उनी बताउँछन्।

‘हामी पुराना पार्टीमा हुँदा त विभिन्न प्रस्ताव बन्द सत्रमा छलफल हुन्थे । समूहगत छलफल भएपछि निष्कर्ष निकालेर पास गरिन्थ्यो । यहाँ त सोझै पारित भयो। आफ्नो विचार महाधिवेशन प्रतिनिधिले राख्नुहुन्थ्यो । त्यसलाई एकीकृत गरिन्थ्यो तर त्यो प्रक्रिया नै भएन’, पाँचथरका ती प्रतिनिधिले भने, ‘कसैले पनि विधि विधानबारे हलभित्र नबोलेपछि हामी पनि चुप लाग्यौँ । पहिलो महाधिवेशनमा धेरै सिक्न बाँकी छ। सभापतिले यो कुरा यहाँहरूले बुझिदिनुहोला भनेपछि सबै चुपचाप हुनु भयो । वरिष्ठ नेता र पार्टी सभापति मिलुञ्जेल हामी पनि चुप लागौँ भनेर बोलेनौ ।’

बन्दसत्रबाहिर पनि नाराबाजी गर्दै प्रतिनिधिले विधिबारे धारणा राख्न नपाएको गुनासो गरे। स्वतः प्रतिवेदन पारित हुँदा लोकतान्त्रिक प्रक्रियाको पालना नभएको महसुस आफूहरूलाई भएको प्रतिनिधिहरूको गुनासो थियो।

घोराही दाङका सुभाष शर्मा पनि भोटिङ मेशिनमा उम्मेदवारको फोटो नराख्दा समस्या भएको बताउँछन् । ‘भोटिङ मेसिनमा उम्मेदवारको नामसँगै फोटो पनि देखिने जानकारी पाएपछि ३८४ उम्मेदवारको भीडमा मतदातालाई नाम सम्झिन र खोज्न सहज होस् भनेर दिनभर ‘फोटो हेरेर चिन्नुहोला’ भन्दै आफ्नै तस्वीर देखाउँदै हिँडियो’, उनले भने, ‘तर अन्तिममा मतदान गर्न जाँदा न फोटो छ, न त भूगोलअनुसार छुट्याइएको सूची नै। त्यो भीडमा न मैले अन्य भूगोलका उम्मेदवार चिन्न सकेँ, न अरूले मेरो नाम भेट्टाउन सके होलान्।’

‘नचिनेकोलाई भोट दिन्न’ भन्दा पनि ‘नो भोट’ को विकल्प नभएको गुनासो उनले गरे । प्रत्येक भूगोलमा ५ जनालाई भोट नहाल्दासम्म अर्को भूगोलको सूची नै नखुलेको उनले बताए ।

धेरैले १, २, ३, ४, ५ नम्बरमा देखिएका नाममै भोट हालेर अघि बढ्नुबाहेक अरु विकल्प नभएको उनले सुनाए । ‘अब यस्तो प्रणालीमा नतिजा कस्तो आउला ?’, उनले भने।

पार्टीका चर्चित नेता गणेश कार्कीले पनि सूची र प्रारम्भिक नामावलीअनुसार क्रमसंख्या नराखिएकोमा असन्तुष्टि जनाउँदै आएका छन्। पार्टीले विधि विधान मिच्नु नहुने उल्लेख गर्दै मतदाता आफूहरूको कामलाई हेरिरहेको बताउँछन्।

उनले सामाजिक सञ्जालमै असन्तुष्टि जनाए । व्यवस्थापकीय पाटो कमजोर हुँदा आफूभन्दा अगाडि नाम दर्ता गर्नेको सूची तल रहेको पनि उनले बताए । अर्कातिर आफूभन्दा पछाडि उम्मेदवारी दर्ता गर्नेको नाम माथि रहेको उनी बताउँछन्।

कार्की जस्तै अर्का चर्चित नेता यज्ञमणि न्यौपाने पनि अल्फाबेटिकल अर्डर र नेपाली वर्णानुक्रम नमिलाई क्रमसंख्या राखिएको बताउँछन्। अर्का नेता उत्तम पौडेल पनि चर्चित नेताहरूलाई माथि राखेर अरुलाई तलतिर लगिएको बताउँछन् ।

सांसद धनञ्जय रेग्मीले त पार्टीको वर्णानुक्रमअनुसार संख्या मिलाउन नसक्ने पार्टीले देश चलाउन नसक्ने भन्दै प्रश्न उठाए । ‘पार्टीको पहिलो महाधिवेशनमा धेरै आशंका गर्ने ठाउँ रह्यो। यो आशंका मात्रै होस्, यस्तो हुँदा प्रतिनिधि र उम्मेदवारमाथि अन्याय हुन्छ’, उनले भने, ‘जानेलाई छान्ने भनेका छौं, जान्नेलाई छान्नलाई त ‘नो भोट’को व्यवस्था हुनुपर्यो नि । संवैधानिक अधिकार पनि त प्रतिनिधि र उम्मेदवारलाई दिनुपर्छ ।’

प्रतिनिधि सत्यराज उपाध्याय आफूले विद्युतीय मत हालेको बताउँछन् । तर के के नपुगेको जस्तो लागेको उनी बताउँछन्। ‘इलेक्ट्रोनिक भोटिङमा म अभ्यस्त त होइन, मैले पहिलोपटक मतदान गरेको हो । तर पनि केही नपुगेको जस्तो अनुभूति भयो। लामो समय गर्मीमा प्रतिक्षा गर्दा रिंगटा चल्ने समस्या भएका धेरै देखिनुभएको छ’, उनले भने, ‘झट्ट हेर्दा पनि केही त्रुटि अवश्य भएको छ, नेतृत्वले त्रुटि स्वीकार्नु त भएको छ। तर यो कुरा सामान्य होइन ।’

नेताहरू गणेश पराजुली, प्रवक्ता मनिष झा र महामन्त्री कविन्द्र बुलाकोटी तथा सहममन्त्री विपिन कुमार आचार्य केही त्रुटि भए पनि महाधिवेशनमा उत्साहित भएर मतदान गरेको भन्दै धन्यवाद दिन्छन् ।

तीन दिनका लागि बोलाइएको महाधिवेशन ५ दिनसम्म चल्दा आफूहरूलाई समेत लज्जित बनाएको उनीहरू बताउँछन् ।

‘तीन दिनलाई देशभरबाट प्रतिनिधि बोलाएका थियौँ। पाँच दिनसम्म महाधिवेशन लम्बिँदा हामी लज्जित छौँ। तर कामै नभइई हामी उपारखुट्टी लगाएर बसेको होइन । व्यवस्थापकीय काम मिलाउँदा ढिलो भयो । गल्ती स्वीकार्नुपर्छ’, झाले भने, ‘पहिलो महाधिवेशन भएकाले धेरै कुरा सिक्न बाँकी रहेको महसुस गरेका छौँ। प्रतिनिधिसँग माफी माग्छौँ, उहाँहरूले धैर्य गरेर हामीलाई पर्खिनुभयो । अब एक दिन धैर्य गरिदिनु भए भोलि सफल महाधिवेशन गरेर फर्कन्छौं।’

कोषाध्यक्ष लिमा अधिकारी पनि आगामी दिनमा व्यवस्थापकीय पाटोमा सुधार गर्ने बताउँछिन्। उनी कहिलेकाहीँ गल्ती हुने बताउँदै त्यही कारण महाधिवेशन प्रतिनिधिको शुल्क पनि मिनाह गरिएको उल्लेख गर्छिन्।

‘महाधिवेशन लम्बिएपछि ५००० शुल्क मिनाहा गरेका छौँ। त्यसलाई ऐच्छिक बनाएका छौँ । बुझाएका प्रतिनिधिको शुल्क फिर्ता हुन्छ’, उनले अगाडि भनिन, ‘पार्टी समायोजन र विभिन्न समूह मिलाउँदै जाँदा प्रतिनिधिमा पनि गडबडी भएको देखियो। यो स्वीकार्नुपर्छ ।’

रास्वपा सचिवालय सदस्य सोबिता गौतम पनि प्रतिनिधिहरूले धैर्य गरेर मतदान गरेकाले पदाधिकारीको मतदान पनि यस्तै हुने बताउँछिन्। पदाधिकारीको निर्वाचनमा राजनीति प्रक्रियाअनुसार सहमति खोजिने र नमिलेका पदमा निर्वाचन पनि हुने उनको संकेत छ।

‘गल्ती स्वीकारेका छौँ, आगामी दिनमा सच्चिन्छौँ। सच्याएर जान्छौँ, सबैले पार्टी बनाउँदै जाने हो, सच्याउँदै जाने हो’, उनले अगाडि भनिन, ‘पार्टी स्थापना भएको चार वर्ष भयो । हामीले धेरै काम गर्न बाँकी थियो। समायोजन हुनुभएका साथीहरूलाई पनि समेट्नुपर्दा समस्या भएको हो।’

सहमति नभए पदाधिकारीमा निर्वाचन

पहिलो चरणको नतिजा सार्वजनिक भएको छैन। ९९ केन्द्रीय सदस्यको नतिजा सार्वजनिक भएपछि पदाधिकारीका आकांक्षीसँग रविले बैठक गर्नेछन्।

केन्द्रीय सदस्यको परिणाम आएपछि रवि र वरिष्ठ नेता बालेन्द्र शाहले भर्चुअल बैठक गरेर अरू पदाधिकारीबारे छलफल गर्ने छन् । नमिलेका पदमा मात्रै निर्वाचन गर्ने योजना छ । सकेसम्म पदाधिकारीमा सर्वसम्मत गर्ने तयारी छ । तर धेरैजना पदाधिकारीको आकांक्षी देखिएपछि निर्वाचन हुने अवस्था छ।

केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएपछि पदाधिकारीको निर्वाचन हुन्छ। ‘केन्द्रीय सदस्यमा जित्ने मात्रै पदाधिकारीमा उठ्न पाउने प्रावधान पार्टीको छ। रहेकाले त्यसपछाडी मात्रै छलफल हुने भयो’,सह-ममन्त्री बिपीन आचार्यले भने, ‘राजनीतिक दलमा सहमतिको प्रयास पक्कै हुन्छ। केन्द्रीय सदस्यको परिणाम आएपछि सहमतिका लागि छलफल गर्नुहोला। नमिलेमा लोकतान्त्रिक प्रक्रिया अगाडि बढ्छ।’

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ७ : १० बजे

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा

विराजभक्तले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय