काठमाडौं– चीनको तिब्बत हुँदै रसुवागढी नाकाबाट भोटेकोसीमा आएको बाढीले नुवाकोटको त्रिशूली र बेत्रावती बजारक्षेत्रमा अकल्पनीय क्षति गरेको छ । बाढी यति ठूलो थियो कि शताब्दीऔँदेखिका बजार क्षेत्र र सडक, पुलसहितका संरचना ध्वस्त भएका छन् ।
उक्त बाढीले रसुवाको गोसाईंकुण्ड गाउँपालिकाका तीन वडा २,३ र ५ का करिब ४० प्रतिशत मानिस सम्पर्कविहीन रहेको वडाध्यक्ष वडाध्यक्ष मिङमार छिरिङ तामाङ ले बताएका छन् ।
उनै वडाध्यक्ष तामाङसँग खबरहबले गरेको संक्षिप्त कुराकानी :
अहिले त्यहाँको अवस्था कस्तो छ ?
टिमुरे र स्याफ्रुबेँसी गाउँ नै छैन । उहाँहरू उद्धारका लागि याचना गरिरहनुभएको छ । हामीले पनि सक्दो पहल गरिरहेका छौँ । ४० प्रतिशत मान्छे कोही रूखमा त कोही डाँडामा बसेको भन्दै उद्धारको पर्खाइमा रहेको बताइरहनुभएको छ । हामीले पर्याप्त रुपमा हेलिकप्टर पठाउनका लागि गृहमन्त्रीलाई अनुरोध गरिरहेका छौँ।
जनता गुहार गुहार भनिरहनु भएको छ, आफ्नो मन रोइरहेको छ। कसो गर्ने के गर्ने केही सोच्नै सकेको छैन । म पनि कामले काठमाडौँ नै आएको थिएँ। बरु जनतासँगै उहीँ बस्न पाएको हुने रहेछ जस्तै भइसक्यो । घटेकोला गाउँ बचेको छ कि छैन हामीलाई पनि थाहा छैन। मेरो विचारमा ४० प्रतिशत मानिसहरू सम्पर्कविहीन हुनुभएको छ। धनको क्षतिको त एकिन विवरण नै छैन।
कति क्षेत्र चाहिँ प्रभावित छन् ?
रसुवाको सीमा केरुङमा पोहोर जहाँ खोला बगेको थियो, फेरि त्यही अवस्थामा पुगेको छ । विहान ९ बजे आएको घटना हो। अब अहिले यति क्लियर नै छैन। यति घटना भयो भन्ने भन्न सक्दैन । मेरो विचारमा हाम्रो ४० प्रतिशत मान्छे, टिमुरे र स्याप्रबेँसीमा क्षति भयो । अनगिन्ती मानिस सम्पर्कविहीन छन् ।
अहिले उद्दार पर्याप्त छ कि छैन भूगोलको अवस्था कस्तो छ ?
स्याप्रुबेसी र टिमुरेमा फोन कन्ट्याक्ट भएको छैन । भागेर केही मान्छेहरू डाँडामा बस्नुभएको छ रे। डाँडामा पुगेका व्यक्तिहरू अलिअलि भागेर यहाँ पुगेका छौँ भन्नुभएको छ। यति हो भनेर क्लियर रूपमा भन्न सक्ने अवस्था छैन ।

त्यसो भए तीनवटा वडा बढी प्रभावित छन् हो ?
गोसाईकुण्डको २,३, ५ नम्बर वडामा असर परेको छ। यहाँका धेरै मान्छे सम्पर्कविहीन हुनुहुन्छ। ६० प्रतिशत मान्छे मात्रै सम्पर्कमा आउँदै हुनुहुन्छ तर तत्काल उहाँहरूलाई उद्धारको आवश्यक छ।
उद्दारहरू पर्याप्त छ ?
गृहमन्त्रीको आदेशबाट उद्धार कार्य भइरहेको छ । उद्धारका लागि हेलिकप्टर पुगेपनि ल्यान्ड हुन नसकेको अवस्था देखिन्छ। साथीहरूलाई नआत्तिन आग्रह गर्दछु। र सुरक्षित ठाउँमा सकेजति जान अनुरोध गर्दछु ।
के गरिदिए थप क्षति हुने थिएन ?
फसेका मान्छेहरूलाई काठमाडौँमा उद्धार गरेर ल्याउनुपर्यो । सम्भव भएसम्मको अमूल्य वस्तुहरूलाई उद्धार गर्ने प्रयत्न गर्नुपर्यो । राज्यको सम्पूर्ण सुरक्षा निकाय परिचालन गरेर भएपनि त्यहाँको अवस्थालाई सामान्यकरणतर्फ लानका लागि पहल गर्नुपर्यो। स्थानीयलाई नआत्ति काम गर्न अनुरोध गर्दछु ।












प्रतिक्रिया