काठमाडौं– रसुवामा बुधबार बिहान आएको बाढीपछि टिमुरे र स्याफ्रुबेंसीमा फसेका सयौँ कामदार र स्थानीयबासीको अझै उद्धार हुन सकेको छैन ।
पीडितहरूले गुहार मागिरहेको तर हेलिकप्टरबाहेक अन्य साधनबाट उद्धारको सम्भावना नरहेकोले स्थिति भयावह पूर्ण रहेको गोसाईकुण्ड गाउँपालिका-४ लाङटाङका वडासचिव तेम्पा छिरिङ तामाङ बताउँछन् ।
असंख्य मानिस टिम्मुरेको जंगलमा उद्धारका लागि पर्खाइमा रहेको उनी बताउँछन् । त्यहाँको वस्तुस्थितिका सन्दर्भमा वडा सचिव तेम्पा छिरिङ तामाङ तामाङसँग खबरहबले गरेको कुराकानीको सारसंक्षेप :
अहिले त्यहाँको अवस्था कस्तो छ ?
हामी त एउटा गाउँमा सुरक्षित बसेका छौँ । तीनवटा वडाका बहुसंख्यक मानिसहरू बेपत्ता हुनुहुन्छ । हामीसँग पनि सम्पर्क हुन सकेको छैन । भौगोलिक अवस्था मिलेको ठाउँमा त आर्मीले जसोतसो रेस्क्यु गरिराखेको छ। तर सम्भव नभएको ठाउँमा त हेलिकप्टर बस्ने अवस्था छैन ।
अवस्था विरक्तलाग्दो छ । हामी त टुलुटुलु हेर्दै बसिरहेका छौँ । केही गर्न सक्ने अवस्था छैन । बिरामीलाई, लासलाई हेलिकप्टरले ओसार्छ, त्यही हेर्दै बस्छौं। गएर उद्धार गर्ने वातावरण नै छैन ।
गुहार गुहार जस्तो आवाजहरू आइराखेको छ तर अब के गर्नु उद्धार गर्ने अवस्था छैन । हामीसँग सम्पर्कमा आएका धेरै जना मानिसहरू टिमुरेको जङ्गलमा उद्धारको प्रतीक्षामा हुनुहुन्छ।
तपाईंहरू चाहिँ अहिले कहाँ हुनुहुन्छ ?
हामी अहिले धुन्चेबाट हेरिराखेका छौँ । जताततै धुवाँको मुस्लो जस्तै अन्धकारको अवस्था देखिएको छ। सबै मान्छेहरूको होस उडेको छ । बोल्ने अवस्थामा कोही छैनन् ।
टिमुरे बजार बगर जस्तो भएको छ । घर पसल सबै बगाइरहेको छ। अरु क्षेत्र पनि उस्तै छन्। स्याब्रबासीहरूको अवस्था पनि उस्तै छ । त्यहाँ पनि कालो मुस्लो बाहेक केही देखिँदैन । धेरै जना साथीहरूसँग सम्पर्क नै हुन सकेको छैन। सम्पर्क भए त जसोतसो उद्धार गरौँ भन्ने हुन्थ्यो होला । तर त्यो सम्पर्क हुने अवस्था नै छैन।
त्यसो भए अझै उद्धारमा कठिनाइ छ ?
हेलिकप्टर बस्ने ठाउँ नै छैन । आर्मीले सकेजति रेस्क्यु गरिरहेको छ तर अवस्था नै नभएपछि कसरी गर्ने ? कसैलाई डोरीको सहायताले ल्याइरहेको छ । भेटिएका लास ल्याउने काम भएको छ ।
टिमुरेमा त कुनै पनि हिसाबले सम्पर्क नै हुन सकेको छैन। उद्धार गर्नुपर्ने कतिपय ठाउँमा त हेलिकप्टर ल्यान्ड गर्ने अवस्था छैन । कर्मचारी साथी र मेरो सरोकारवाला निकायका साथीहरूसँग पनि सम्पर्क गर्न सकिराखेको छैन।
हेलिकप्टरै बस्न नसक्ने भनेपछि त अवस्था अझै जटिल रहेछ हैन ?
हो, हेलिकप्टरै बस्न सकेको छैन । हामी त ‘रामनाम’ बसिराखेका छौँ। हामी त के गर्ने र, सबै आफ्ना मान्छे बगाएर लगिसक्यो । धनजन सबै क्षति भइसक्यो । सपना जस्तो भएको छ । साथीहरू सम्झ्यो, बस्यो ।
आफन्त सम्झ्यो बस्यो । फिल्ममा नदेखिने जस्तो दृश्य यहाँबाट देखिरहेका छौँ । गर्न सक्ने केही होइन । मानसिक तनावको अवस्था छ ।

गोसाईकुण्डका कुन कुन वडा बढी प्रभावित छन् ?
तीनवटा वडा पुरै प्रभावित भएको छ । एक्कासि बाढी आएपछि मात्रै थाहा भएकाले कसैले पनि सुरक्षित ठाउँमा जाने मौका पाउनु भएन । जंगलमा फसेका धेरै मान्छेहरू रुख चढेर बसेको जस्तो देखिन्छ । फोन गरौँ न फोन लाग्छ, न फोन बुझिन्छ। तपाईँसँग पनि पाँच पटकमा कल सफल भएर कुराकानी भएको हो।
नदी किनारमा थुप्रै शव फेला परेको भनेर साथीहरूले खबर गर्नुभएको छ । कसो गर्ने, के भन्ने अवस्था नै छैन । टिमुरे, स्याफ्रुबेसी, हाकुबेसी ,मोलुङ शान्तिनगर बेत्रावती बजार ध्वस्त भएको जस्तो देखिन्छ ।
राज्यले के गर्ने, कसरी गर्ने स्थानीयलाई कसरी उद्धार गर्ने त्यो तत्काल सोच्नुपर्छ । यो त अकल्पनीय घटना भयो।
तीनवटा वडा चाहिँ पुरै बगाएको हो ?
टिमुर् र स्याप्रबेसी चाहिँ लगभग बगर छ । हाकुबेसीका केही घरहरू हो कि जस्तो, रुखबिरुवा हो कि जस्तो देखिन्छ । त्यहाँ धेरै जना मान्छेहरू फसेको हाम्रो अनुमान छ। मोलुङ, शान्ति बजार लगायतका क्षेत्रमा पनि धेरै मान्छे फस्नुभएको छ ।
शान्ति बजार, पहिरोबेसी, नौबीसे, बेत्रावती बजारलगायतका क्षेत्रमा पनि धेरै जना मान्छेहरू उद्धारको प्रतीक्षामा भएको देखेका छौँ ।
मिल्छ भने नेपाल टेलिकम र एनसेलको टावर निर्माण गरिदिए धेरै सम्पर्क हुने थियो । पीडित धेरै मानिस बचाउन सकिने थियो। यति प्रभावित भयो भन्ने त आंकलन नै छैन ।
फिलिममा पनि यस्तो घटना बिरलै देखिन्थ्यो। कुनै उद्धारको साधन छैन । नदी किनार आसपासका सबैलाई बगाएर लगेको छ। बोल्न सक्ने अवस्था छैन । टुलुटुलु हेर्यो, बस्यो ।












प्रतिक्रिया