काठमाडौँ- नेपाल मेडिकल काउन्सिलबाट दर्ता, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन अब स्थायी लेखा नम्बर (प्यान) र कर चुक्ता प्रमाणपत्र अनिवार्य हुने भएको छ ।
काउन्सिलले मङ्सिर १५ गतेदेखि लागू हुने गरी यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार प्रमाणपत्रका लागि आवेदन दिने चिकित्सकले प्यान नम्बर, त्यसको प्रमाणपत्र र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ ।
काउन्सिलका अनुसार नेपाल सरकार, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागको पत्राचार तथा आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नम्बर ३९१ मा रहेको व्यवस्थाको कार्यान्वयनका लागि यस्तो निर्णय गरिएको हो ।
गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन चाहने चिकित्सकले भने थप कागजात पनि बुझाउनुपर्नेछ । नेपालमै कार्यरत चिकित्सकले आफू कार्यरत संस्थाबाट जारी भएको रोजगारसम्बन्धी पत्र पेस गर्नुपर्नेछ ।
विदेशमा कार्यरत चिकित्सकले सम्बन्धित देशको मेडिकल काउन्सिल वा नियमनकारी निकायबाट जारी भएको गुड स्ट्यान्डिङ प्रमाणपत्र बुझाउनुपर्नेछ । रोजगारीमा संलग्न नरहेका चिकित्सकले भने आफू बेरोजगार रहेको स्पष्ट खुलाएर आवेदन दिनुपर्ने काउन्सिलले जनाएको छ ।














प्रतिक्रिया