कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष क्रिकेटमा कर्णाली प्रदेश विजयी भएको छ । सुदूरपश्चिमलाई छ विकेटको फराकिलो अन्तरले पराजित गर्दै कर्णाली प्रदेश विजयी भएको हो ।
प्रतियोगिताअन्तर्गत पुरुष फुटबल, पौडी, महिला क्रिकेट तथा बास्केटबल र टेनिस खेलमा निराशाजनक नतिजा निकालेको कर्णालीले पुरुषतर्फको क्रिकेटमा भने पहिलो जितसँगै उत्साहजनक सुरुआत गरेको छ । आजको खेलमा कर्णालीका विपिन रावलको योगदानले सुदूरपश्चिमलाई छ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।
कूल १२८ रनको लक्ष्य पछ्याएको कर्णालीका लागि विपिनले ३५ बलमा ६० रन बनाए । ओपनर दिनेश रावत गोल्डेन डक भएपछि केही धर्मराएको कर्णालीका लागि दिनेश अधिकारीले १५ र मनिष थापा तथा कप्तान रवीन्द्रजङ्ग शाहीले समान १३–१३ रन जोडे ।
टस हारेर पहिला ब्याटिङको निम्ता पाएको छिमेकी टोलीले २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन जोडेको थियो । सुदूरपश्चिमका लागि अभिषेक पालले २८ रन जोड्दा दीपक बोहराको खातामा १८ रन रह्यो ।
सुदूरपश्चिमलाई सुरुदेखि नै दबाबमा राखेको कर्णालीका लागि दिवान पुन, राजकुमार साह र दिनेश अधिकारीले समान दुई–दुई विकेट लिएका थिए ।














प्रतिक्रिया