बागमती प्रदेशले १० वर्षे विकास योजना बनाउने, मुख्यमन्त्रीको संयोजकत्वमा समिति « Khabarhub

बागमती प्रदेशले १० वर्षे विकास योजना बनाउने, मुख्यमन्त्रीको संयोजकत्वमा समिति


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेश सरकारले प्रदेश स्थापनादेखि हालसम्म भएका कामको समीक्षा गर्दै आगामी १० वर्षको विकास खाका तयार गर्ने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको १८औँ बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले प्रदेशका १३ वटै जिल्ला, ११९ स्थानीय तह र सबै वडामा प्रदेश सरकारको उपस्थिति, हालसम्म भएका काम तथा तिनको प्रभावबारे समीक्षा गरिने जानकारी दिए ।

समितिले प्रदेश स्थापनादेखि हालसम्मका उपलब्धि र कामको लेखाजोखा गरी आगामी एक दशकका लागि रणनीतिक योजना तथा गुरुयोजना तयार गर्ने उनले बताए।

यसैगरी, बैठकले भोटेकोसी बाढीबाट बाबु वा आमामध्ये एक अभिभावक गुमाएका बालबालिकालाई पनि अभिभावकत्व ग्रहण गरी अध्ययन तथा व्यवस्थापनको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि बाबु र आमा दुवै गुमाएका बालबालिकालाई मात्र यस्तो सुविधा दिने व्यवस्था थियो ।

स्थानीय तहमा चौथो तहका कर्मचारीको पदपूर्ति सहज बनाउन स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधनसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय पनि बैठकले गरेको छ ।

विद्यमान व्यवस्थाअनुसार पाँचौँ तहदेखि मात्र पदपूर्तिका लागि विज्ञापन गर्न सकिने भएकाले अहेव, अनमी र असिस्टेन्ट सबइन्जिनियरलगायत चौथो तहका जनशक्ति नियुक्तिमा समस्या देखिएको मन्त्री केसीले बताए।

बैठकले प्रदेशमा व्यवस्थित बस्ती विकास तथा जग्गा एकीकरणका कार्यक्रम सञ्चालन गर्न बस्ती विकास तथा जग्गा एकीकरणसम्बन्धी ऐन, २०८३ तर्जुमाका लागि सैद्धान्तिक सहमति दिएको छ ।

त्यस्तै, रामेछापको मन्थली नगरपालिका–६ मा निर्माण हुने फोहरमैला व्यवस्थापन केन्द्रका लागि आवश्यक जग्गा प्राप्त गर्न आयोजनालाई प्राथमिकताप्राप्त आयोजनाका रूपमा तोक्ने निर्णय भएको छ ।

मालपोत कार्यालयको स्रेस्ता व्यवस्थापनलगायत कामका लागि विभिन्न सङ्घीय कार्यालयलाई करिब चार करोड ७० लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णयसमेत बैठकले गरेको छ । घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट सङ्कलित राजस्व प्रदेश सरकारलाई समेत प्राप्त हुने भएकाले सम्बन्धित कार्यालयको व्यवस्थापनमा बजेट उपलब्ध गराउन लागिएको प्रवक्ता केसीले जानकारी दिए ।

यसैगरी, प्रदेशका सबै जिल्लाका लागि मासु सुपरीवेक्षक तोक्ने, पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एघारौँ तहको एक प्राविधिक पद थप गर्ने निर्णय भएको छ ।

बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत उद्योगतर्फको सचिवको जिम्मेवारी दीपेन्द्र सुवेदीलाई दिने निर्णय गरेको छ । साथै, रिक्त सुपरिटेन्डेन्ट इन्जिनियर र प्रदेश निजामती किताबखानाको एघारौँ तहको निर्देशक पदमा कायममुकायम मुकरर गर्ने निर्णय पनि गरेको प्रवक्ता केसीले बताए ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ४ : ३६ बजे

साँफेबगरमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

अछाम- अछामको साँफेबगरमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ। नयाँ

बालेनको भारत भ्रमणबारे भीम रावलले भने- सत्ता स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्ति दोहोरियो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले सत्ता

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै

पत्रकार राजेन्द्र विष्टको निधन

काठमाडौँ– प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष राजेन्द्र विष्टको निधन भएको छ

बागमती प्रदेशले १० वर्षे विकास योजना बनाउने, मुख्यमन्त्रीको संयोजकत्वमा समिति

हेटौँडा- बागमती प्रदेश सरकारले प्रदेश स्थापनादेखि हालसम्म भएका कामको समीक्षा गर्दै