काठमाडौं – साउदी अरबमा हालै भएको आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
परराष्ट्र मन्त्रालयले बिहीबार साँझ सामाजिक सञ्जाल एक्समार्फत उक्त घटनाबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने अन्य दुई जनाको उपचार भइरहेको छ ।
मन्त्रालयले घटनामा ज्यान गुमाएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । मृतकको नाम र ठेगानाबारे भने मन्त्रालयले खुलाएको छैन ।
मन्त्रालयले सर्वसाधारण नागरिक तथा सार्वजनिक पूर्वाधारलाई कुनै पनि बहानामा निशाना बनाउन नहुने धारणा व्यक्त गरेको छ । विवाद तथा द्वन्द्व समाधानका लागि अधिकतम संयमता अपनाउन र शान्तिपूर्ण उपाय अवलम्बन गर्न सम्बन्धित सबै पक्षलाई नेपालले आग्रह गरेको छ ।
यसअघि नोभेम्बर २४ मा साउदी अरबको राजधानी रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टमा रहेको एउटा टावरमा आक्रमण भएको थियो । उक्त आक्रमणमा यमनको हुथी विद्रोही समूहको संलग्नता रहेको साउदी नागरिक सुरक्षा निकायले आरोप लगाएको थियो ।
आक्रमणमा नेपाली नागरिकको समेत मृत्यु भएपछि घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ ।

















प्रतिक्रिया