भोजपुरको चुनावी हिसाबकिताब : ठूला दललाई नयाँको त्रास « Khabarhub

भोजपुरको चुनावी हिसाबकिताब : ठूला दललाई नयाँको त्रास

उधारो आश्वासन होइन, परिणाम खोज्दैछन् मतदाता


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 7 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरमा अब चुनावी भाषणले मात्रै चुनाव जित्ने अवस्था बाँकी रहेन । यहाँका मतदाताले धेरै सुने, धेरै विश्वास गरे तर धेरै धोका खाए । संघीय गणतन्त्र आएपछि पनि यहाँको विकासमा ठूलो परिवर्तन हुन सकेन । सडक विस्तारले गति लियो तर शिक्षा, स्वास्थ्यसहितका आधारभूत आवश्यकता र आममानिसको जीवनस्तरमा खास परिवर्तन आउन सकेन ।

यहाँको माटोले मन्त्री, मुख्यमन्त्री र राष्ट्रपतिसमेत जन्मायो तर भोजपुरको जीवनस्तर अझै पनि उस्तै छ । सत्ता फेरिँदा नेताका अनुहार फेरिए, तर जिल्लाको नियति फेरिएन । यहीकारण फागुन २१ को चुनाव भोजपुरका लागि विशेष हुने सम्भावना छ । यो चुनाव साधारण प्रतिस्पर्धा मात्रै होइन, मतदाताले एक एक हिसाब गर्ने माध्यम बन्ने देखिँदैछ

यसपटक भोजपुरबाट प्रतिनिधि सभामा पुग्न १२ जना उम्मेदवार मैदानमा छन् । यीमध्ये कसले बाजी मार्छ, अहिले नै अनुमान गर्न मुस्किल छ ।

अनुभव होइन, परिणामको परीक्षा

भोजपुरले कांग्रेसलाई भन्दा धेरै कम्युनिस्टलाई अवसर दियो । २०४६ सालयता नेकपा एमालेलाई एकछत्र मौका दियो । २०६३ यता भने नेकपा माओवादी केन्द्र र एमालेलाई पालैपालो अवसर दियो । यहाँ २०१५ सालयता नेपाली कांग्रेसले जित्न सकेको छैन । कांग्रेसबाट २०७९ मा जितको झण्डा कोशी प्रदेश सभाका लागि विनोद बान्तावाले गाडे ।

भोजपुरले अहिले पनि विकासको दिगो आयाम खोजिरहेको । अरुण र दूधकोशीमा पुल खोज्दैछ । सडक संरचना र भरपर्दो बिजुली मागिरहेको छ । तर अझै पनि दलहरू पुरानै शैलीमा भाषण र आश्वासनमा अल्मलिरहेका छन् । यसकै कारण यस पटक पुराना र ठूला शक्तिका लागि नयाँ शक्तिहरू चुनौतीका रुपमा उभिने सम्भावना बलियो छ । मतदाताले पुराना नयाँ सबैबाट उधारो आश्वासन होइन, जवाफदेहिता खोजिरहेका छन् ।

को कति बलियो ?

अजम्बर काङमाङ राई, नेपाली कम्युनिस्ट पार्टी

विचारमा प्रष्ट, अवसरबाट बञ्चित

लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय अजम्बर काङमाङ राई अहिलेसम्म कुनै राजकीय पदमा पुगेका छैनन् । त्यसैले उनलाई अवसर नपाएका नेताका रुपमा बुझ्न सकिन्छ ।

पटक पटक कोसिस गरे पनि उनी जनप्रतिनिधिका रुपमा सफल हुन सकेका छैनन् । तर उनी विचारमा स्पष्ट र बलियो जनसम्पर्क भएका नेता मानिन्छन् । कुनै समय एमालेकै उदयीमान नेता मानिने उनी अहिले नेकपामा छन् । उनी जोशिला छन्, मतदाताको अपेक्षा पूरा गर्न उनले स्पष्ट योजना दिनु जरुरी छ ।

सम्भावना र चुनौती

अजम्बर यस पटकको चुनावी प्रतिस्पर्धामा खरो उत्रिन सक्छन् । तर चुनौती पनि उत्तिकै छन् । नेकपा एकीकृतस समाजवादीसहित २० दलसँगको एकीकरणले उनलाई फाइदा पुर्‍याउन सक्छ । तर नेकपा मिलेपछिको अर्को विभाजनले भने उनलाई समस्या पारेको छ।

मतपरिणाम हेर्ने हो भने उनलाई कमजोर मान्न सकिँदैन । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रले प्राप्त गरेको १२ हजार ७ सय ५० समानुपातिक मतमा एकीकृत समाजवादीको ३ हजार ६ सय ९३ र जसपाको १ हजार ३ सय ९१ मत जोड्दा करिब १७ हजार मत हुन आउँछ । तर यो मत अहिले नयाँ दलले पनि तान्ने हुँदा जोगाउन भने चुनौती छ ।

उनको अर्को शक्तिका रुपमा विकासप्रेमी नेताको छवि बनाएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई उभिएका छन् । उता आमचोक गाउँपालिकाका अध्यक्ष अशोकहरूको समर्थनले उनी बलियो देखिएका छन्।

यी आधार भए पनि चुनौतीसमेत उत्तिकै छन् । जिल्लामा उनी स्थिर रहन नसकेको आरोप लाग्दै आएको छ । जिल्लाभन्दा काठमाडौंमै धेरै समय बिताउने गरेकाले उनको जनसम्पर्कमा प्रश्न उठेको छ । उनलाई चिन्न नसकेका मतदाताले अझै शंका गर्ने ठाउँ छ । यही असन्तुष्टि उनका लागि मुख्य चुनौती बन्न सक्छ ।

शेरधन राई, नेकपा एमाले

अवसर पाएर पनि नतिजा नदिएको आरोप

पटक पटक प्रतिनिधिसभामा पुगिसकेका उनी संघीय सरकारका सञ्चारमन्त्री र कोशी प्रदेशका मुख्यमन्त्री पनि भएका छन् । उनले कोशीमा साढे तीन वर्ष मुख्यमन्त्रीका रुपमा बिताए । उनलाई भोजपुरका सबैभन्दा अवसर पाउने नेताका रुपमा चिनिन्छ । तर यही अवसर नै अहिले उनलाई चुनौती बनेको छ । मतदाताको पश्न छ, ‘तपाईं मन्त्री–मुख्यमन्त्री हुँदा पनि भोजपुर किन पछि पर्‍यो ?’

उनीप्रतिश कोशी प्रदेशको नामाकरण गर्न नसकेको आरोप पनि छ । अझ कोशीको जातीय पहिचानको मुद्दालाई उनले नकारेको आरोप पनि लागेको छ । यसपटक उनको उम्मेदवारीलाई अनुभवको नभएर परिणामको पुनर्मूल्याङ्कनका रुपमा मतदाताले लिन सक्ने सम्भावना छ।

सम्भावना र चुनौती

भोजपुरमा चुनावी प्रतिस्पर्धामा उत्रिएकामध्ये शेरधन उच्च ओहोदाका नेता हुन् । उनी अहिले एमालेको सचिव तथा कोशी प्रदेश इन्चार्ज पनि हुन् । पटक पटक अवसर पाएका उनीसँग गुनासो गर्ने मतदात पनि उल्लेख्य छन् । भोजपुरमा एमालेको संगठन मजबुत छ । भोजपुरको हकमा एमाले पहिलो दल पनि हो ।

२०७९ सालको निर्वाचनको समानुपातिक मतलाई आधार मान्दा उनले यस पटक जित्ने सम्भावना बलियो छ । २०७९ मा विजयी नेकपा माओवादी केन्द्रका नेता सुदन किराती प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेर कतै प्रतिस्पर्धामा नउत्रिएपछि शेरधनलाई केही सजिलो भएको छ ।

भोजपुरमा नेकपा र प्रलोपा दुवै अस्तित्वमा छन् । यसले तत्कालीन माओवादी केन्द्रको भोट दुईतिर बाँडिदैछ । जसको फाइदा शेरधनलाई मिल्ने अवस्था छ। तर एमालेभित्रै केही आन्तरिक मतभेद छन् । पार्टी कारबाहीमा परेका पूर्वमन्त्री कृपाशुर शेर्पाको भूमिकाले केही भोट तलमाथि हुन सक्छ । अर्का नेता शरण राईसहितलाई व्यवस्थापन गर्नुपर्ने चुनौती पनि शेरधलाई छ ।

भोजपुरका स्थानीय तह प्रमुखको समर्थन शेरधनको बलियो आधार हो। षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदास, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राई र साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ राईसहित अहिले उनकै पक्षमा छन् ।

जितका यी आधार भए पनि शेरधनका लागि चुनौती पनि उत्तिकै छन् । मुख्यमन्त्री हुँदा १ नम्बर प्रदेशको नामकरण गर्न नसक्नुको दोष उनीमाथि पहिचानवादीले लगाइरहेका छन् । कोशी प्रदेश नामाकरणको पक्षमा उभिँदा पहिचान पक्षधर मतदाता चिढिएका छन् । संघीय सरकारको र मुख्यमन्त्री रहँदा मतदाताको अपेक्षाअनुसार विकासका ठोस काम गर्न नसकेको आरोप पनि उनीमाथि लागिरहेको छ ।

त्यस्तै, एमाले जेन–जी आन्दोलनको विपक्षमा उभिँदा भोजपुरका नयाँ पुस्ताका मतदाताको साथ लिन उनलाई चुनौती छ । यसका अतिरिक्त पुराना दलको मत अघिल्लो निर्वाचनको तुलनामा घट्ने सम्भावना छ । यो कुरा सम्बन्धित दलका नेताले नै स्वीकारिरहेका छन् । जसले शेरधनको चुनावी यात्रालाई चुनौतीपूर्ण बनाएको छ ।

बालकृष्ण थापा, नेपाली कांग्रेस

मतदातासँग कमजोर सम्बन्ध

नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति बालकृष्ण थापा पार्टीभित्र दह्रिला नेता मानिन्छन् । तर नियमित भोजपुर नबस्दा कार्यकता र मतदातासँग उनको अन्तरक्रिया पातलो छ । लामो राजनीतिक यात्रासँगै जनविश्वास बचाइरहन नसक्दा उनलाई चुनौती आएको छ ।

जिल्लाा गाउँ गाउँमा नियमित उपस्थिति नहुँदा उनलाई नयाँ पुस्ताका मतदाताले विश्वास नगर्न सक्छ । थापा २०७० को निर्वाचनमा भोजपुर क्षेत्र नं. २ बाट शेरधनसँगै पराजित भएका थिए । यस पटक उनी अन्तिम पटक अवसर दिन आग्रहसहित चुनावी मैदानमा छन् ।

सम्भावना र चुनौती

मिहिनेत गरेमा थापाले चुनावी परिणाम आफ्नो पक्षमा पार्न सक्छन् । भोजपुरमा अन्य दलका उम्मेदवार एउटै जातीय समूह (राई) बाट हुँदा उनी खस–आर्यबाट खडा भएका छन् । राईको मत बाँडिदा खस र बाहुनहरूको मत उनको पक्षमा एकोहोरिने सम्भावनालाई पनि नकार्न सकिँदैन ।

लामो समयदेखि भोजपुर कांग्रेसले रुखमा मतदान गरेर आफ्ना प्रतिनिधिलाई जिताउन पाएका छैनन् । यस पटक उक्त अवसर आएकाले मतदाता पनि ‘रुखमै भोट हालौँ’ भन्ने धारणा बनाइरहेका छन् ।

उनको पक्षमा भोजपुरका तीन पालिका प्रमुख नेपाली कांग्रेसकै छन् । जिल्ला सभापति एवम् भोजपुर क्षेत्र नं. २ का कोशी प्रदेश सांसद विनोद बान्तवाको पनि उनलाई साथ छ । शेखर कोइराला समूहका थापा केही समयअघि मात्रै गगन थापातिर खुलेका हुन् ।

अहिले बान्तावा र थापाको समूह उकै भएको छ । उता टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेत र अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले उनलाई साथ दिएका छन् । अर्को समूहमा भए पनि भोजपुर नगरपालिकाका प्रमुख कैलाश आले पनि थापालाई सघाउन तयार भएका छन् ।

यसअघिका चुनावमा घात–अन्तरघातबाट गुज्रिएको कांग्रेस यस पटक भोजपुरमा एकढिक्का हुने केही आधार देखिएका छन् । एमालेसहित अधिकांश दलबाट राई उम्मेदवार खडा हुँदा थापासहित राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझा मात्रै खसआर्यबाट छन् । यसको फाइदा थापाले लिन सक्छन् । जितका आधारबीच चुनौती पनि उत्तिकै छन् ।

मतदातासँगको प्रत्यक्ष सम्बन्ध र नियिमत अन्तरक्रिया अभाव थापाको पहिलो चुनौती हो। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १४ हजार ७ सय ७६ मात्र समानुपातिक मत पाएको थियो । एमालेको मत पहिलो र वाम एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टीको मत दोस्रो स्थानमा छ । २०७९ को समानुपातिक मतमा तेस्रो कांग्रेसले अहिलेको अवस्थामा एकढिक्का भए अन्य दलका नेताको असन्तुष्टिलाई तानेर नतिजा आफ्नो पक्षमा पार्न पनि सक्छ ।

तर गगन थापा नेतृत्वमा भएको विशेष महाधिवेशनपछि कांग्रेसमा केही मतभेद कायमै छ । त्यो मतभेदको तुष भोजपुरमा पनि देखिएको छ । जसले थापाको चुनावी यात्रालाई केही असजिलो भने बनाउन सक्छ ।

ध्रुवराज राई, श्रम संस्कृति पार्टी

पालिका चम्काएकाको चुनौती

टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष हुँदा उनले घर घरमा केन्द्रीय प्रसारणको बिजुली पुर्‍याए । त्यसका कारण ध्रुवलाई जिल्लामा सम्झिने धेरै छन् । अर्कातिर २०६२/०६३ को जनआन्दोलनका बेला उनी क्रान्तिकारी नेताका रुपमा चिनिन्थे । ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन भएका बेला उनी एक्लै माइक लिएर विरोधमा निस्किन्थे ।

त्यसबेला उनले शाही शासनविरुद्ध जिल्लाबासीलाई जगाउने काम गरे । स्वतन्त्र विद्यार्थी युनियनबाट राजनीतिमा उदाएका उनलाई एमालेले व्यवस्थापनमा चासो नदिँदा पार्टी नै छाडिदिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा दोहोरिन खोज्दा कांग्रेसका सरोज बस्नेतसँग पराजित भएसँगै उनी धरानकेन्द्रित भएर बसे । जसलाई उनका आलोचकहरूले एउटा असफलताकै कारण जिल्लाबाट टाढिएको भनेर टिप्पणी गर्छन् ।

राई हक्की स्वभावका छन् । उनी छिटो निर्णय लिन सक्छन् । अर्कातिर ‘काम गर्न सक्ने नेता’ मान्नेको संख्या जिल्लामा कम छैनन् । अहिले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट चुनावी मैदानमा उत्रिएका उनले ‘माटो चिनेको, काम गरेर देखाएको’ बताइरहेका छन् । राईका लागि यसपटकको निर्वाचन पुराना दलको असन्तुष्टिमा टेकेर जित निकाल्ने अवसर बनेको छ।

तर उनका चुनौती पनि धेरै छन् । भोजपुरमा श्रम संस्ृकतिको संगठनात्मक संरचना कमजोर छ । संगठन कमजोर हुँदा उनले अन्य दलको मत तान्नुपर्ने चुनौती छ । त्यसमाथि नेकपा उम्मेदवार अजम्बर काङमाङ राई उनकै टोलबासी हुन् । समान भौगोलिक क्षेत्रका काङमाङसँग मतका लागि प्रतिस्पर्धा हुने अवस्था छ ।

रमेश ओझा, राष्ट्रिय स्वतन्त्र पार्टी

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको लहर फैलँदो छ । भोजपुरमा रमेश ओझा उम्मेदवार छन् । तर दलको छायाबाहेक उनी जिल्लामा परिचित छैनन् । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी हाम्रो नेपाली पार्टीबाट उमेदवार थिए । त्यसबेला उनले २ सय ५२ मत ल्याए । रास्वपाबाट टिकट लिए पनि जनस्तरमा परिचित नहुनु नै उनको सबैभन्दा कमजोरी हो ।

देवनराज राई, नेकपा माओवादी

२०४६ सालदेखि अखिल क्रान्तिकारीबाट राजनीति थालेका देवानराज राई जनयुद्धको समयमा पूर्वी डिभिजनमा चर्चित कमाण्डरमध्ये एक थिए । उनले जनयुद्धका समयमा ३१ वटा ठूला मोर्चामा युद्ध लडेका थिए ।

२ नम्बर डिभिजन सचिवसमेत भएका उनी पछिल्लो समय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका पोलिटब्युरो सदस्य छन् । विप्लवले पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेपछि उनी पनि त्यही यात्रामा निस्किए । लडाकु र हक्की स्वभावका उनी माओवादी विभाजनका कारण पछि परेका हुन् ।

जिल्लामा खुला राजनीतिमा रहँदा भ्रष्टाचार र बेथितिविरुद्ध खरो र स्पष्ट कुरा राख्न सक्ने उनी पछिल्लो समय कोशी प्रदेशमा पार्टीले चलाएको सामूहिक खेतीको नेतृत्व गरिरहेका छन् । उनको नेतृत्वमा कोशीका पहाडीदेखि तराईका जिल्लामा पनि धानसहितका उत्पादन गरिने गरिएको छ।

लामो अलमलपछि खुला राजनीतिमा आएर संसदीय प्रतिस्पर्धामा होमिएको विप्लव नेतृत्वको नेकपा माओवादीको भोजपुरमा बलियो जनाधार छैन । कुनै बेला उनकै गाउँ बोयाका दिवंगत नेता पदमबहादुर राईले संसदीय चुनाव जितेका थिए। माओवादी एक हुँदा चुनाव जितेका पदम मन्त्रीसमेत भए । तर माओवादी विभाजित भएपछि अर्कै बाटो लागेका दिपेश पहिलो पटक चुनावी परीक्षामा उत्रिएर ठूला दललाई चुनौती दिँदैछन् ।

अन्य उम्मेदवार

मुख्य प्रतिस्पर्धी नठानिए पनि गोपाल कुमार राई (जसपा), चन्द्रप्रसाद राई (मङ्गोल नेशनल अर्गनाइजेसन), जनक नेपाल (राप्रपा), जितेन्द्र राई (राष्ट्रिय परिवर्तन पार्टी) र राजाराम बासी (नेमकिपा) ले पनि मत काट्न सक्छन् ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ३ : ३१ बजे

बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु, दुई जना घाइते

दैलेख– यहाँको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलको

जिके पोख्रेलको ‘इन्दिरा’ सार्वजनिक

काठमाडौं– जिके पोख्रेलको शब्द र सङ्गीतमा तयार भएको नृत्यप्रधान गीत ‘इन्दिरा’

एक्लिएका कुलमानलाई सजिलो छैन काठमाडौं ३ मा

काठमाडौं- आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रधानमन्त्रीको दाबेदारका रूपमा अगाडि सारिएका उज्यालो

नेपाली यू–२० महिला टिम र चाइना युनान युथबीच मैत्रीपूर्ण फुटबल खेल

काठमाडौं– नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइना युनान युथ वुमन्स