ज्येष्ठ नागरिकको नेतालाई खबरदारी- जनताको मतमाथि विश्वासघात नगर्नुस् « Khabarhub

ज्येष्ठ नागरिकको नेतालाई खबरदारी- जनताको मतमाथि विश्वासघात नगर्नुस्

अघिल्लो पुस्ताले योग्य नेता नपाएको गुनासो



काठमाडौं – चुनाव संघारमै आइसक्यो । मतदाता आफ्नो नेता चयन गर्न आतुर देखिन्छन् । नयाँ दल र पुराना दलप्रति नागरिकले आ–आफ्नो धारणा बनाइरहेका छन् । जीवनकालका दशकौं बिताएका ज्येष्ठ नागरिक पनि चिया पसल र चोकमा चुनावी विश्लेषण गर्दै गरेका भेटिएका छन् ।

खबरहबले चुनावको विषयमा ज्येष्ठ नागरिकसँग गरेको कुराकानीमा मिश्रित मत प्राप्त गरेको छ । कतिपय ज्येष्ठ नागरिक यसपटक भोट परिवर्तन गर्ने पक्षमा देखिन्छन् । तर कतिपय नयाँ भनिएका पुराना नेताभन्दा खराब प्रवृत्ति भएको टिकाटिप्पणी गरिएको पाइयो ।

जीवनको उत्तराद्र्धमा अनुभव, परिपक्वता, आत्मचिन्तन गरेरै कसैले नयाँ त कसैले पुरानैलाई भोट हाल्नुपर्ने बताएका छन् । मर्निङवाकमा निस्किएका, चिया पसलमा भेटिएका, नातिनातिना घुमाउन निस्किएका उनीहरूमध्ये केहीले पुराना पार्टीका नेताले सोचे अनुरूप काम गर्न नसकेको आरोप लगाएका छन् ।

त्यसैगरी केही नयाँ दल राम्रो भए पनि उम्मेदवारप्रति विश्वास गर्न नसकेको बताए । स्पष्ट नीति र सिद्धान्त विनाको पार्टी लगाम विनाको घोडा जस्तो हुने र त्यसले दुर्घटना निम्त्याउने उनीहरूको भनाइ थियो । उनीहरूको धारणा जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

नयाँ भन्नेहरू पुराना भन्दा खराब : सूर्यशरण रेग्मी
जागिरबाट निवृत्त भएको लामो समय भइसक्यो । अहिले ८२ वर्ष भएँ । नयाँ भनेको ठग हुन् भन्ने मेरो प्रारम्भिक दृष्टिकोण हो । फेसबुकमा मनपरी बोल्छन् । अनुशासन छैन । प्रतिशोध र गाली गर्नुबाहेक अरू जानेको छैन । अर्को कुनै सिद्धान्त र दृष्टिकोण पनि छैन । कम्तिमा नेता खराब भए पनि पुराना पार्टीको दृष्टिकोण स्पष्ट छ । नयाँ भन्नेहरू पुराना भन्दा खराब छन् ।

अर्काले चोर्छ भनेर पार्टीको नीतिसमेत जनतालाई नभन्ने कति भ्रम फैलाइरहेका छन् । अब जितिनै हालेछन् भने मान्नै प¥यो । जनताले मानेको नेतालाई मान्नै पर्यो । तर नयाँहरूले देश बनाउँदैनन् भन्नेमा छु । नयाँ अराजकहरूको झुण्ड हो । पुराना नेताहरूको विरोध गर्दै भएको जेन–जी आन्दोलनको सहारामा न्यायपालिका, व्यवस्थापिका र प्रहरी कार्यालय सबै आगो लगाए । व्यक्तिका निजी सम्पत्ति जलाए ।

आवेगमा देशको सार्वभौसत्ता सिध्याएकाले देश निर्माण गर्छन् भन्नेमा विश्वास छैन । एक संगठन थाहा नभएकाले देश चलाउने भनेको सुन्दा अचम्म लागेको छ । पहिले वडाको नेतृत्व गरेर हेरून् । देशको नेतृत्व गर्ने भन्ने कुरा खेलाँची होइन । तर जनताले उनीहरूलाई रोजेका छन् । पहिलेभन्दा झनै देश अस्थिरतामा जान्छ ।

यस्ता देशद्रोही आन्दोलन भइरहन्छन् । यो सबै पुराना दलका नेताहरूले गर्दा निम्तिएको परिस्थिति हो । नयाँ भन्ने बित्तिकै मैले रास्वपाको मात्रै विरोध गर्न खोजेको होइन । अरू नयाँ छन्, जो केही पुराना दलका नेता भन्दा राम्रा छन् । तर उनीहरूको उम्मेदवारी मेरो क्षेत्रमा छैन ।

देशले परिवर्तन खोजिरहेको छ, युवाहरू रोजिरहेको छ : बलराम सुवेदी
क्षेत्र नम्बर–२ को मतदाता हुँ । ६३ वर्षको भएँ । हालसम्म ६ पटक मतदान गरिसकेँ । देशको परिस्थिति हेर्दा नयाँलाई मतदान गर्ने मनसाय बनाएको छु । भन्न त जेलेन्स्की के–के उपनाम दिएका छन् नयाँलाई । तर मलाई अरु दशको मतलब छैन । म मेरो देश नेपालसँग सरोकार राख्छु । जेलेन्स्की नबनी काम गरून् । जनताको मतमाथि विश्वासघात नगरून् ।

पुरानाहरूलाई हामीले हेरिसहेरिसक्यौं । उनीहरूबाट देशको समुन्नति सम्भव छैन । नेताले देश बनाउने भन्दा बढी व्यक्तिगत सम्पत्ति आर्जनमा ध्यान दिने र विलासी जीवनशैलीको लालचमा हिँड्ने भएपछि कसरी देश बन्छ ? अन्य मतदाताले पनि यसपटक नयाँलाई जिताएर सरकार बनाउँछन् भन्नेमा आशावादी छु ।

हामीभन्दा जवानले देशको नेतृत्व लिन चाहिरहेका छन् । युवालाई काम गर्ने बाटो दिनु हामी अभिभावकको दायित्व पनि हो । देशले परिवर्तन खोजिरहेको समयमा युवालाई मत दिएर नेतृत्व तहमा पुर्‍याउनुपर्छ । कसैको बन्धक नबनी देशको भलाई र जनताको लागि काम गरून् भन्ने अपेक्षा छ ।

हाम्रो पुस्ताले राम्रो नेता पाएन : किरण अमात्य
लामो समय शैक्षिक क्षेत्रमा काम गरेर बिताएँ । मैले पहिलोपटक २०४८ सालमा मतदान गरेको थिएँ । देशमा प्रजातन्त्र आएपछिको पहिलो चुनावमा मतदान गर्न पाउनु आफंैलाई गौरव लागेको थियो । त्यसयता आस्था रहेको एकै दललाई भोट हाल्दै आएको हो । यसपटक नयाँलाई हाल्ने भन्नेमा छु ।

हाम्रो समयमा हामीले राम्रो नेता पाउन सकेनौ । अर्थात् हामीले नेता बनाउन सकेनौं । धेरै अप्सन पनि थिएन । हाम्रो पुस्ता सधैं अन्यौल र अस्थिरतामा बित्यो । तर नयाँ पुस्ता हामी जसरी अन्यौलमा नरहोस् भन्नका लागि पनि मेरो मत यसपटक नयाँलाई हो ।

पुराना नेताको काम गर्ने शैली मन परेन : केशवप्रसाद तिमिल्सिना
काठमाडौं क्षेत्र नम्बर ३ को मतदाता हुँ । पाँचपटक मतदान गरिसकें । यो छैंटौ पटक हो । अब नयाँ पार्टी भोट हाल्ने पक्षमा छु । जीवनभर हाम्रो मतदानको कदर भएन । केही व्यक्तिलाई नेता बनाउनेबाहेक हाम्रो मतले अरु केही गर्न सकेन । पुरानाको काम गर्ने शैली पनि मन परिरहेको छैन ।

सामान्य भन्दा सामान्य योजना पूरा गर्न वर्षौंवर्ष लगाउँछ । छिटो, छरितो र पारदर्शितासहित काम नयाँ गर्लान् भन्नेमा छु । मत परिवर्तन गर्ने सोचमा छु । यी नयाँले पनि केही गरेनन् भने झनै गम्भीर भएर विकल्प सोच्नुपर्ने हुन्छ । हामी अब पनि नसुध्रिए नेताहरु सधै भ्रष्ट हुनेछन् । उनीहरूलाई तह लगाउने र सरकारबाट बाहिर फाल्ने काम जनताको हो ।

यो चुनावमा सबै जनताले विवेक पुर्‍याउने हो भने नयाँलाई विश्वास गर्ने हो र गर्नुपर्छ भन्ने लाइनमा छु । देशलाई प्रयोगशाला बनाइराख्दा जनताले दुःख पाइरहेको बिर्सन हुँदैन । चुनाव त हो, जो जनताको हातमा छ, जनताको निर्णयमा छ । चुनाव जितेर गइसकेपछि हाम्रो काम सकिन्छ । चुनावपछि पनि जनताको अस्तित्व राख्ने पार्टी नयाँ नै हो ।

पार्टी, धर्म र राष्ट्रियता परिवर्तन गर्ने विषय होइन : खड्काबहादुर श्रेष्ठ
८२ वर्षको भएँ । युवावस्थामा फर्निचरको व्यवसाय थियो । व्यवसायकै सिलसिलामा काठमाडौंमा छोरासँग बस्दै आएको छु । अब भोट हाल्न सबै जना गाउँ जाने हो । हाम्रो परिवारले एकै पार्टीलाई भोट हाल्छौं । हामी पुरानै पार्टीलाई भोट हाल्ने मनसायमा छौं । पुराना पार्टी धेरै राम्रो भएर भोट हाल्न लागेको होइन । तर अहिले नयाँ पार्टी भनेर जे–जस्ता पात्रहरु नेताको रूपमा उदाइरहेका छन् । जवाफदेहितासमेत नहुनेहरु भोलि कसरी पारदर्शी ढंगले काम गर्छन् ?

सत्ता हातमा नहुँदा त आफ्ना कर्तुत ढाकछोप गरिरहेका छन् । सत्ता आफूमा निहित भएपछि के सम्म गर्लान् ? यिनीहरू पुराना नेता भन्दा झनै खराब छन् । म बुढो पार्टी परिवर्तन गर्ने पक्षमा छैन । पार्टी, धर्म र राष्ट्रियता परिवर्तन गर्ने विषय होइन । छोराहरुले नयाँमा हाल्छन् जस्तो लागेको थियो । तर उनीहरूले पनि सबैभन्दा कम खराब रोज्नु नै छ भने पुरानै ठिक छ भन्ने धारणा बनाएका छन् ।

भ्रष्टाचार अन्त्य गर्न नयाँ दल : पहलसिंह सिंजाली मगर
८२ वर्षको उमेरमा पुग्दै गर्दा विगतको नेतृत्वबाट दिक्क लाग्यो । देशलाई कहाँ लैजाने ? के गर्ने ? भन्ने पुराना नेता कसैले मेसो ल्याएनन् । विगतको नेतृत्वबाट दिक्क भएको सुनाउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाहमाथि भरोसा लागेको बताए । अब नेतृत्व युवालाई हस्तान्तरण गर्नुपर्छ । भ्रष्टाचारमा लिप्त भन्ने थाहा हुँदाहुँदै त्यही व्यक्तिलाई चुनावमा भोट हाल्छौं ।

२०१८ मा भारतीय सेनामा भर्ना भएको थिएँ । त्यतिबेला नेपाल र जापानको अवस्था उस्तै उस्तै थियो । अहिले जापान कहाँ पुग्यो ? हामी माथि जाउँला भन्दा झन् खस्किदै गयौं । राम्रो नेतृत्वको लागि मतदाताले विवेक पुर्याउन आवश्यक छ ।

आजको समयसम्म काम नगरेका पुरानाले अब पनि सरकारमा पुगेर गर्दैनन् । सुशासनको मागसहित आएका नयाँहरुले भ्रष्टाचार न्यूनिकरण गर्छन् भन्ने आशा राखौं । त्यसैले पनि नयाँलाई विश्वास नगर्ने विकल्प छैन ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ११ : ०२ बजे

झापा-५ मा सेना, प्रहरी र सशस्त्रको संयुक्त गस्ती (तस्बिरहरू)

काठमाडौं- यही फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा-५

चीन-जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास

एजेन्सी– युक्रेनमा रुसको युद्ध र व्यापारिक मतभेदका बाबजुद चीनका राष्ट्रपति

स्वास्थ्यमन्त्री र अमेरिकी राजदूतावासका कार्यवाहक प्रमुखबीच सहकार्यबारे छलफल

काठमडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

चुनावको मुखमा रास्वपा जिल्ला सभापति नै कांग्रेसतिर

नवलपरासी – चुनाव आउन केही दिन बाँकी रहेको अवस्थामा राष्ट्रिय

लिङ्देन भन्छन् : यो चुनावमा नेपाल र नेपाली प्रथम हुने कुरालाई ध्यान दिनुस्

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल र नेपाली प्रथम भन्ने