८० हजार अमेरिकी डलर उपचार खर्च लाग्ने साम्बाको चोट ‘एमसीएल’ के हो ? « Khabarhub

८० हजार अमेरिकी डलर उपचार खर्च लाग्ने साम्बाको चोट ‘एमसीएल’ के हो ?

सरकारी–निजी अस्पताल निःशुल्क उपचार गर्न तत्पर 


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा सर्वाधिक गोलकर्ता साबित्रा भण्डारी ‘साम्बा’ ले घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोगको अपील गरेपछि यसप्रति सबैको चासो बढेको छ । 

सोमबार आम्बाले आफ्नो उपचारका लागि सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेकी थिइन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहयोग नगरेको गुनासो उनको थियो । 

साम्बाको उक्त पोस्टपछि खेलाडी र समर्थक एन्फाप्रति रुष्ट बनेका थिए । एन्फाले पाँच लाख रुपैयाँसम्म सहयोग गर्ने र अन्य रकम आफैँले जुटाउन भनेको सावित्राको आरोप छ ।

साम्बाका अनुसार उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्नेछ । घुँडाको एमसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसीएल दुवैमा गम्भीर चोट लागेका कारण जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

वेलिङ्टन फिनिक्सबाट अस्ट्रेलियन ‘ए’ लिग खेल्ने क्रममा डेढ महिनाअघि ब्रिसबेन रोअरकी गोलकिपरसँग ठोक्किँदा उनको दायाँ घुँडाको एमसीएलमा गम्भीर चोट लागेको थियो ।

क्लबले न्युजिल्यान्डमै उपचार गर्न भनेको तर चोट गम्भीर रहेको र यसभन्दा अगाडी कतारको अस्पेटरमा गरिएको उपचार उच्चस्तरको रहेकाले पुनः सोही अस्पतालमा उपचार गराउने साम्बाको इच्छा छ ।

‘क्लबले बीमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिने भएको छ । तर उक्त रकम मेरो शल्यक्रिया र ७–८ महिना रिह्याबका लागि अपुग हुने भएकाले आम समर्थकमाझ सहयोग माग्न आइपुगेको छु । यसका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आँकलन रहेको छ’ उनले भनेकी छन् । 

आफू देश बाहिर रहेकाले सरकारसमक्ष पनि आफ्नो प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भएको तर सरकारी प्रक्रिया अपेक्षा गरेअनुसार अघि बढ्न नसक्दा शल्यक्रिया नगरी भर गर्ने स्थिति नरहेको उनले बताएकी छन् ।

‘आफ्नो करियरमा मैले सधैँ कठिनाइहरूको सामना गर्नुपरेको र हरेक पटक साहसका साथ त्यसलाई पार गरेको छु । यसपटक पुनः माथि उठ्न तपाईँको सहयोगको आवश्यकता परेको छ’ उनले भनेकी छन् । 

विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुट्दै 

साम्बाको उक्त पोष्टपछि देशविदेशमा रहेका नेपालीहरूले व्यक्तिगत रूपमा र विभिन्न संस्थाहरुले पनि आर्थिक सहयोग गरेका छन् । 

नेपाली बैंक खातामा एक करोड रुपैयाँ बढी र विदेशी प्लेटफर्ममा ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको जानकारी दिँदै वेलिंगटन फिनिक्सले बीमा रकममार्फत पनि सहयोग गरिरहेको उनले बताएकी छन् । 

सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त जानकारी दिँदै उनले आफ्नो उपचार प्रक्रिया छिट्टै सुरु हुने र पुनः नेपाली जर्सी लगाएर मैदानमा फर्किने प्रतिबद्धता व्यक्त गरेकी छन् । 

त्यस्तै राष्ट्रिय ट्रमा सेन्टर र काठमाडौं मेडिकल कलेज (केएमसी) ले साम्बाको उपचार नेपालमै सम्भव रहेको भन्दै उनको सम्पूर्ण उपचार निःशुल्क गर्ने घोषणा गरेका छन् । 

आइतबार एक प्रेस विज्ञप्ति निकाल्दै केएमसीले उनको उपचार निःशुल्क गर्ने प्रतिबद्धता जनाएको छ । अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहित गुणस्तरीय उपचार सेवा उपलब्ध गराउँदै आएको कलेजले आफ्नो सामाजिक उत्तरदायित्व र राष्ट्रिय कर्तव्यलाई ध्यानमा राखेर भण्डारीको उपचार प्रक्रिया अघि बढाइने बताइएको छ ।  

कलेजले आफूहरू उपचारप्रति जिम्मेवार र संवेदनशील रहेको पनि स्पष्ट पारेको छ । त्यस्तै राष्ट्रिय ट्रमा सेन्टरले पनि त्यास्तो खालको उपचार नेपालमा पहिलेदेखि नै गरिँदै आएको उल्लेख गर्दै साम्बाले विश्वास गरेमा सेन्टर उपचार गर्न तयार रहेको जनाएको छ । 

यता नेपाल चिकित्सक संघले पनि एक विज्ञप्ति निकालेर नेपालमै शल्यक्रिया लगायत आवश्यक उपचार गर्न विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य उपकरण पर्याप्त मात्रामा उपलब्ध रहेको स्पष्ट पारेको छ । 

नेपालका विभिन्न अस्पतालमा यस्तो प्रकृतिको शल्यक्रिया गर्न सकिने क्षमता रहेको संघले बताएको छ । ‘नेपालमा रहेका विभिन्न अस्पतालहरूमा उक्त शल्यक्रिया लगायत अन्य आवश्यक उपचारका लागि विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य उपकरण पर्याप्त मात्रामा उपलब्ध रहेको विषयमा नेपाल चिकित्सक संघको ध्यानाकर्षण गराउन चाहन्छ’, संघको विज्ञप्तिमा भनेको छ ।

संघले साम्बाको उपचार यथाशीघ्र स्वदेशमै गर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग अनुरोध पनि गरेको छ । आवश्यक समन्वय र सहकार्य गर्न आफूहरू तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।

के हो साम्बालाई भएको मेडियल क्रुसिएट लिगामेन्ट कस्तो समस्या हो ? 

अर्थोपेडिक चिकित्सकका अनुसार साम्बालाई लागेको मेडियल क्रुसिएट लिगामेन्ट (एमसीएल) घुँडाको एक गम्भीर चोट हो । 
एमसीएलको चोटबाट निको हुन कम्तीमा पनि ६ महिना लाग्छ । यसको राम्रोसँग उपचार नहुँदा खेलाडीको करिअर नै समाप्त हुन सक्ने जोखिम हुन्छ । 

त्यसमाथि साम्बाको यसअघि पनि एसीएलको शल्यक्रिया गराइसकेको हुँदा अवस्था अझै जटिल बनेको चिकित्सक बताउँछन् । यसअघि साम्बाको २०७८ सालमा शल्यक्रिया गरिएको थियो । एन्फाको पहलमा कतारको दोहास्थित अस्पेटर अस्पतालमा भएको शल्यक्रियाका लागि कतार फुटबल संघले सहयोग गरेको थियो ।

अहिले त्यही घुँडामा पुनः चोट लागेको हो । त्यसैमाथि अर्को शल्यक्रिया गर्नुपर्ने हुन्छ, जसलाई मेडिकल भाषामा  रिभिजन सर्जरी अर्थात संशोधन शल्यक्रिया भनिन्छ । खेलकुदका क्रममा हुने यो चोट विशेषगरी महिलाहरूमा धेरै हुने गरेको पाइएको छ । 

यदि उनको उपचारमा विशेष ख्याल राखिएन भने उनी मैदान फर्किने सम्भावना निकै कम रहेकाले राम्रो अस्पतालमा उपचार गराउने इच्छा साम्बाले देखाएकी हुन् । 

यसको उपचार प्रक्रिया के छ ? 

चिकित्सकका अनुसार यसको उपचार दूरबिनमार्फत गरिने हो । तर अलिकति चिर्नु पनि पर्छ । नेपालमा यस्तो खालको उपचार गर्न थालिएको धेरै वर्ष भइसकेको छ । 

शल्यक्रिया त यसको उपचारको एउटा पाटो भयो । त्यसपछिको लागि फिजियो थेरापी लगायत एउटा खेलाडीको लागि चाहिने विशिष्ट खालको उपचार नेपालका सबै अस्पतालमा सम्भव नहुन पनि सक्छ एक चिकित्सकले भने । 

अहिले साम्बाले उपचार गराउन खोजेको कतार स्थित एस्पेटर अर्थोपेडिक एण्ड स्पोट्र्स मेडिसिन अस्पताल खेलकुद चोटको उपचारका लागि विश्वकै उत्कृष्ट अस्पतालमध्ये एक हो । 

यसमा उपचार र पुनर्स्थापनाको एकदमै अत्याधुनिक सुविधा उपलब्ध छ । यो अस्पतालमा विश्व फुटबलका चर्चित लियोनल मेस्सी, एन्जल डी मारिया, नेयमार, याया टुरेजस्ता खेलाडीले उपचार गराइसकेका छन् । 

साम्बाले यसअघि पनि यो अस्पतालमा उपचार गराइसकेको हुँदा उनलाई मैदान फर्किन सहज भएको थियो । त्यसैले पनि यहाँ उपचार गर्ने चाहना रहेको सावित्राको भनाई छ । 

खेलकुदकै चोटको उपचारका लागि सञ्चालन गरिएको अस्पताल भएकाले उपचार महँगो भएको हुनसक्ने चिकित्सक बताउँछन् । 

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  १ : ३० बजे

निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार देखिएको छ

निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ, कुनै सुरक्षा चुनौती देखिएको छैन : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी

चुच्चे नक्सामा समेटिएको नेपाली भूमिका ३ सय मतदाताले के गर्लान् ?

काठमाडौं– दार्चुलाको व्याँस गाउँपालिका–१ का मतदाताले सदरमुकाम खलङ्गाबाट मतदान गर्ने

काभ्रेमा दुई हजार पाँच सय अस्थायी मतदाता

काभ्रेपलाञ्चोक– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार ४८१

एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबको सहज जित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबले सहज