मोरङ १ : पुरानालाई विरासत जोगाउने चुनौती, मतदाताको असन्तुष्टिमा खेल्दै नयाँ दल « Khabarhub

मोरङ १ : पुरानालाई विरासत जोगाउने चुनौती, मतदाताको असन्तुष्टिमा खेल्दै नयाँ दल


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङ निर्वाचन क्षेत्र नम्बर–१ यतिबेला चुनावी माहोल तातेको छ। यहाँ परम्परागत प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा एमालेलाई नयाँ दलले कडा चुनौती दिइरहेका छन् ।

कांग्रेस र एमालेको प्रतिस्पर्धाले चिनिएको यो क्षेत्रमा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीसहितले कडा चुनौती दिएका छन् ।

पुराना दललाई चुनौती बढिरहँदा मतदाताहरू नयाँ विकल्पप्रति झुकाव राखिरहेका छन् । यसकै कारण यहाँ चुनावी प्रतिस्पर्धा मात्रै होइन, पुरानो र नयाँ राजनीतिक प्रवृत्तिको परीक्षण पनि हुँदैछ ।

यहाँ ०७० को दशकदेखिका दुई प्रतिस्पर्धी कांग्रेसका डिगबहादुर लिम्बू र एमालेका घनश्याम खतिवडालाई साख जोगाउन चुनौती आएको छ । यस क्षेत्रमा कहिले कांग्रेस बलियो हुन्थ्यो भने कहिले एमाले । हार-जितको यही निरन्तरताले मोरङ १ लाई प्रदेशकै प्रतिस्पर्धात्मक क्षेत्र बनायो । तर यस पटक कांग्रेसका अनुभवी नेता लिम्बू चुनावी मैदानमा छैनन् ।

लिम्बूको साटो उर्लाबारीका पूर्वनगरप्रमुख खड्ग फागो उम्मेदवार बनेका छन् । कांग्रेसले लिम्बूबाट फागोतिर सरेर पुस्तान्तरणको सन्देश दिएको छ । नयाँ नेतृत्वलाई अघि सार्ने कांग्रेसको प्रयासले मतदातामाझ उत्सुकता देखिएको छ।

कांग्रेसले स्थानीय तहको अनुभव, सङ्गठन विस्तार र जनसम्पर्कलाई आधार बनाउँदै फागोलाई अघि सारेको हो । नगरप्रमुख हुँदाको सक्रियता, स्थानीय विकास योजनामा सहभागिता र भूगोलमा निरन्तर उपस्थिति कांग्रेसको चुनावी पुँजी बनेको छ ।

फागो अहिले घरदैलो अभियानका क्रममा मतदातासँग संवाद गरिरहेका छन्। उनी विकास, रोजगारी, कृषि, शिक्षा र सडक पूर्वाधारलाई मुख्य मुद्दा बनाइरहेका छन्। कांग्रेसले युवा मतदाता तान्नसके परिणाम आफ्नो पक्षमा ल्याउन सकिने हिसाब गरेको छ।

अर्कातर्फ नेकपा एमालेका उम्मेदवार खतिवडाका लागि यो निर्वाचन निरन्तरता जोगाउने लडाइँ भएको छ । एमाले कोशी प्रदेश अध्यक्ष उनले विगतका चुनावी अनुभव, सङ्गठनात्मक संरचना र कार्यकर्ताको सञ्जाललाई आफ्नो बल बनाएका छन् ।

तर उनका आलोचकले विकासको गति, अधुरा योजना र जनअपेक्षाबीचको दूरीलाई चुनावी बहसको केन्द्र बनाइरहेका छन् । यसले खतिवडालाई अघिल्लो पटकभन्दा बढी दबाबमा राखेको देखिन्छ । यस पटक उनले विपक्षीसँगै मतदाताको बढ्दो असन्तुष्टिलाई पनि सन्तुलनमा राखेर जित निकाल्नुपर्ने चनौती छ ।

यस पटकको चुनावलाई वैकल्पिक राजनीतिक शक्तिको प्रभावले फरक बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधिवक्ता यज्ञमणि न्यौपाने मैदानमा छन् । उनले सके र जानेजति सबै विधि लगाएर मत आफ्नोतिर तान्न खोजिरहेका छन् ।

धरान उपमहानगरपालिका पूर्वमेयर हर्क साम्पाङको अभियानबाट प्रभावित श्रम संस्कृति पार्टीले पनि यहाँको चुनावी माहोललाई प्रभावित बनाएको छ । उक्त दलबाट शान्ति पाख्रिन लामा मैदानमा छिन् ।

त्यस्तै जनयुद्धकालीन कमान्डर तथा पूर्वसांसद कुलप्रसाद साम्बा ‘कुशल’ को उम्मेदवारीले वामपन्थी मत विभाजित गर्न सक्ने अनुमान गरिएको छ ।

नयाँ दल र स्वतन्त्र मतदाताको उपस्थितिले चुनावलाई दुई ठूला दलको प्रतिस्पर्धाबाट बहुपक्षीयमा रूपान्तरण गरेको छ । एक लाख २८ हजार ५४५ मतदाता रहेको यस क्षेत्रमा विगतका परिणामले एकै दलको स्थायी वर्चस्व स्थापित हुन सकेको थिएन ।

२०७४ मा एमाले विजयी भयो । २०७९ मा कांग्रेस झिनो अन्तरले जित हात पार्न सफल भयो । समानुपातिक मत परिणाममा एमाले अगाडि भए पनि त्यहीबेला रास्वपाले पाएको उल्लेख्य मतले नयाँतर्फको झुकाव पुष्टि गरेको थियो ।

यस पटक यो क्षेत्रमा विगतको अङ्कगणितभन्दा मतदाताको मनोविज्ञान निर्णायक बन्न सक्छ। पुराना दलप्रति असन्तुष्टि र नयाँ विकल्पप्रतिको उत्सुकता चुनावमा निर्णायक बन्ने देखिएको छ ।

गाउँघरमा भेटिने मतदाता विकास, रोजगारी र सुशासन मुख्य मुद्दाका रूपमा उठाइरहेका छन् । राजनीतिक प्रतिबद्धता धेरै सुने पनि कार्यान्वयन नभएको गुनासो छ। यही कारण यस पटक मतदाताले दलभन्दा उम्मेदवारको कार्यक्षमता हेर्ने देखिँदैछ।

मोरङ १ को चुनाव यस पटक जित–हारको प्रतिस्पर्धा मात्रै नभएर पुरानो राजनीतिक विरासत, सङ्गठनको शक्ति, वैकल्पिक राजनीतिक उदय र परिवर्तनको आकांक्षाबीचको भिडन्त बनेको छ।

एमालेका खतिवडाका लागि यो राजनीतिक निरन्तरता जोगाउने परीक्षा हुन सक्छ । फागोका लागि नयाँ राजनीतिक अध्याय सुरू गर्ने अवसर । नयाँ शक्तिहरूले मत विभाजन गर्न सके परिणाम अप्रत्याशित आउने सम्भावना बलियो छ।

मोरङ-१ का उम्मेदवार

खड्गबहादुर फागो (नेपाली कांग्रेस)

घनश्याम खतिवडा (नेकपा एमाले)

कुलप्रसाद साम्बा (नेपाली कम्युनिस्ट पार्टी)

यज्ञमणि न्यौपाने (राष्ट्रिय स्वतन्त्र पार्टी)

पूर्णबहादुर वाइबा तामाङ (राष्ट्रिय प्रजातन्त्र पार्टी)

शान्ति पाख्रिन लामा (श्रम संस्कृति पार्टी)

फिवराज लिम्बू (नेपाल जनमुक्ति पार्टी)

दुर्गाकुमारी तामाङ (राष्ट्रिय परिवर्तन पार्टी)

डिल्लीराम नेपाली (नेपाल कम्युनिस्ट पार्टी (माओवादी)

दिलकुमारी लावती (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च)

डिल्लीराम लिम्बू (मितेरी पार्टी नेपाल)

प्रेम बर्देवा (स्वतन्त्र)

पशुपति घिमीरे (स्वतन्त्र)

मिलन भण्‍डारी(स्वतन्त्र)

यामप्रसाद दाहाल (स्वतन्त्र)

ईश्ववर वाग्ले (स्वतन्त्र)

सुरज लिम्बू (मंगोल नेशनल अर्गनाइजेसन)

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  २ : ५४ बजे

युक्रेन युद्ध अन्त्यका लागि ‘कुनै समयसीमा नहुने’ रुसको घोषणा

एजेन्सी– मस्कोलाई युक्रेनमा युद्ध अन्त्य गर्न कुनै सम्झौता गर्न हतार

दोलखाको वैतेश्वरमा पार्टी त्याग्नेको लर्को, दर्जनौँ कार्यकर्ता कांग्रेस प्रवेश 

दोलखा– दोलखामा निर्वाचन नजिकिँदै आएसँगै पछिल्ला दिनहरूमा पार्टी छाड्ने र

निर्वाचन आचारसंहिता उल्लङ्घनमा कडा कारबाही माग्दै कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाबारे छानबिन गर्दै दोषीमाथि

कांग्रेसको निष्कर्ष : पार्टीको पक्षमा जनलहर चलेको छ

काठमाडौं- नेपाली कांग्रेसले आसन्न आमनिर्वाचनमा पार्टीका पक्षमा देशव्यापी जनलहर बढिरहेको

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि