काठमाडौं- झलनाथ खनाल वामपन्थी आन्दोलन र कम्युनिस्ट विचारधारा अध्ययन गर्ने बौद्धिक नेता हुन् । ०७४ पछि नेकपा विभाजन हुँदा पनि खनाल वाम एकताकै पक्षमा उभिएका थिए । नेकपा विभाजन रोक्न निकै पहल गरेका झलनाथ अन्तिममा केपी शर्मा ओलीबाट किनारा लागे ।
ओली र माधव कुमार नेपाल मिलाउन मध्यस्थकर्ताको भूमिका समेत खेलेका झलनाथ न ओलीका विश्वासिला पात्र बन्न सके, न त माधव नेपालकै । पछिल्लो समय नेपाल र प्रचण्डले नेकपा मिलाएपछि त झन् उनी यता न उताका भएका छन् । तत्कालीन नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) सहित अरु १९ वटा साना शक्तिको एकतामा पनि उनले सबै वामपन्थी शक्तिहरू एक हुनुपर्ने मत जाहेर गरेको देखिन्थ्यो ।
तर, नेकपा एमालेका अध्यक्ष ओली र अरु केही कम्युनिस्ट पार्टीहरूले एकताको ‘ग्रीन सिग्नल’ नदिएपछि झलनाथ पनि माधव नेपाल र प्रचण्डसँगै मिल्न गए । यसबारे उनी भन्छन्, ‘वामहरू एक हुनुपर्छ, सबै वामपन्थीहरू मिलाउँ भन्दा मलाई एक्ले ढेँडु बनाएका हुन् । एक्ले ढेँडुले सबै कुरा मिलाएर जान सकेन र म पनि अरुसँगै मिल्न पुगेँ । अहिले साथीहरू तोरीको फूल हेर्दै घुमिरहनुभएको छ ।’
उनी अहिले वाम एकता हुनुपर्ने र एकीकृत पार्टीको नेतृत्व नयाँ पुस्ताले सम्हाल्नुपर्ने आवाज उठाउँछन् । अरु नेताले ‘नयाँ पुस्ताले वाम आन्दोलनको नेतृत्व गर’ भन्न नसक्दा झलनाथ नयाँ पुस्ता नेतृत्वमा ल्याउन तम्तयार छ्न् ।
उनी पुराना नेताले हामीले पत्याएको नयाँ पुस्ता आउ भनेर आह्वान गर्न सक्नुपर्ने बताउँछन् । खनाल अब पनि वाम पार्टीका नेतृत्वको बुद्धि नपलाएको अवस्थामा अर्कोपटक पार्टी नै सकिने दाबी गर्छन् । वाम एकतापछिको नेतृत्व प्रचण्ड, माधव या ओली नभएको बताउँदै उनी पुस्तान्तरण, रूपान्तरण र पुनर्गठन नै कम्युनिस्ट आन्दोलनको आवश्यकता भएको जिकिर गर्छन् ।
०७९ को निर्वाचनमा हार व्यहोरेका खनाल यसपटकको निर्वाचनमा भने उठेका थिएनन् । जेन-जी आन्दोलनमा घाइते भएकी श्रीमतीको रेखदेखमा रहेका उनी जेन-जी आन्दोलनलाई आफूले स्वीकार गरेको तर अराजक गतिविधि गर्नेलाई सरकारले कारबाही गर्नुपर्ने माग राख्छन् ।
खनालसँग कम्युनिस्ट आन्दोलन र अबको आवश्यकताका विषयमा केन्द्रित रहेर खबरहबले गरेको कुराकानीको सम्पादित अंश-
विगतमा नेकपा विभाजन हुँदा पनि वृहत वाम एकता हुनुपर्छ भन्ने आवाज उठाउनुभएको थियो । यो निर्वाचनले वामपन्थीलगायत पुराना दलहरुलाई ठूलो धक्का दिएको छ। अबका आवश्यकता के हो ?
अहिलेको आवश्यकता वामपन्थी आन्दोलनले आफ्नो भूमिकाको समीक्षा गर्नुपर्छ । यो निर्वाचनमा वामपन्थी आन्दोलन एक नहुनुले पनि देशले धेरै ठूलो धक्का महसुस गर्नुपर्यो । निर्वाचनमा मात्र होइन, निर्वाचनअघिका सरकार सञ्चालन र सडकका गतिविधिमा पनि धेरै ठूलो धक्का देशले व्यहोर्नु परेको छ । त्यहीबेला वामपन्थीहरू एक भएको भए देशले यति धेरै संकट व्यहोर्नुपर्ने थिएन ।
निर्वाचनमा एक ठाउँमा उभिएर समयानुकूल नेतृत्व भइदिएको भए वामपन्थीहरूले ७०-८० भन्दा बढी सिट ल्याउन सक्थे । त्यो बुद्धि आउन सकेन । मैले त धेरैपल्ट आवाज उठाएको हो, वामहरू एक हुनुपर्छ, सबै वामपन्थीलाई मिलाउँ भन्दा मलाई एक्ले ढेँडू बनाए । एक्ले ढेँडूले सबै कुरा मिलाएर जान सकेन, र म पनि अरुसँगै मिल्न पुगेँ । अहिले साथीहरू तोरीको फूल हेर्दै घुमिररहेका छन् । त्यसैले अब पनि अहिलेसम्मको यात्रामा रहेका आफ्ना कमीकमजोरीलाई जनता सामु स्वीकार गर्दै वाम एकता हुनु जरुरी छ ।
अहिलेसम्मको अवस्थालाई गम्भीर रूपले समीक्षा गर्दै, परिवर्तित राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिको विश्लेषण गर्दै, नयाँ परिस्थिति अनुसारको कार्य दिशा नीति सिद्धान्त अघि सारेर आन्दोलनलाई एकताबद्ध गर्दै नेपाली जनता र राष्ट्रलाई अगुवाइ गर्न दृढताका साथ अगाडि बढ्नुपर्छ ।
अहिले वाम एकताको कुरा पनि उठिरहेको छ, नेकपाका संयोजक पुष्पकमल दाहाल र एमालेका अध्यक्ष ओलीबीच पनि भेटवार्ता भयो रे ! यस विषयमा यहाँलाई के के जानकारी छ ?
मलाई धेरै जानकारी छैन । उहाँहरूबीच भेटघाट भयो अरे भन्ने चाहिँ सुनेको हो । भेटघाटमा के-कस्तो कुरा पाक्यो भन्ने चाहिँ मसम्म आइपुगेको छैन । पहिलो कुरा त वाम एकता भएपछि अहिलेको नेतृत्व नै त्यो एकीकृत पार्टीको नेतृत्व बन्ने हो भने यो एकता आगामी निर्वाचनमा शून्यमा झर्छ ।

अहिले बाम पार्टीको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र अरु कोही व्यक्ति वाम एकतापछि पनि पार्टीको नेतृत्वमा रहने हो भने त्यसलाई जनताले स्वीकार गर्दैनन् ।
अबको अवस्थामा दुई जना नेताले एकता गरेर वामपन्थीहरू एकजुट हुने अवस्था छैन । अहिले वामपन्थी समूहका आम कार्यकर्ताहरूबीच र यसको अगुवाइ गर्ने दोस्रो, तेस्रो तहका पुस्ताका साथीहरूले नयाँ पहलकदमी लिनसके भने मात्रै त्यो एकताले आधार प्राप्त गर्नसक्छ । फल पनि दिनसक्छ ।
नेताहरू बीचको मात्र वाम एकता प्रयत्नले अबको अवस्थामा केही हुन्छ जस्तो मलाई लाग्दैन ।
उसो भए वाम एकताका लागि अब दलहरुले के गर्नुपर्छ ?
पहिलो कुरा त, सबै वामपन्थीहरूले एकता अहिलेको आवश्यकता हो भनेर आ-आफ्नो पद त्याग्न सक्नुपर्छ । वाम एकताको निम्ति आधार तयार पार्नुपर्छ । आपसी विश्वास र त्यागको भावना राख्दै अगाडि बढ्यो भने ठीक हुन्छ । कार्यगत एकता गरेर जाने कुरा अहिले सान्दर्भिक पनि हुँदैन र परिस्थिति अनुकूल पनि रहँदैन । सबैभन्दा पहिला दलका नेताहरूले आफूमा त्यागको भावना राख्नु जरुरी छ ।
साँच्चिकै वाम एकता भए र सबै वामहरू एक ठाउँमा आए भने अबको नेतृत्व कस्तो व्यक्तिले सम्हाल्नुपर्छ ?
नेतृत्व भनेकै नीति हो । कुनै पनि व्यक्तिको नेतृत्व व्यक्तिवादी नेतृत्वले कम्युनिष्ट आन्दोलन अगाडि बढ्दैन । कम्युनिस्ट आन्दोलन भनेको नेता केन्द्रित आन्दोलन होइन । यो नीति केन्द्रित आन्दोलन हो । सबैभन्दा पहिले नीति ठिक हुनुपर्छ । नीतिमा एकरुपता कायम हुनुपर्छ । अब कुनै व्यक्ति विशेषलाई केन्द्रित गरेर एकता गर्ने कुरा गरियो भने उल्टो हुन्छ ।
अहिले नयाँ पुस्ताको नेतृत्व जनताले स्वीकार गरेका छन् । वाम आन्दोलनपछिको नेतृत्व पनि त नयाँ पुस्ताले ल्याउनु पर्ला नि ?
त्यो त स्वाभाविक कुरा हो । वाम एकता हुनुअगाडि नै अहिले नेतृत्वमा रहेका पुस्ताले आफ्नो पद त्याग्न सक्नुपर्छ । हामीले सकेनौँ, अब वाम एकता गर्छौँ । नयाँ पुस्ता नेतृत्वमा आउ, हाम्रो अनुभव लिएर तिमीहरू काम गर भन्न सकेको खण्डमा मात्रै पत्याउने अवस्था हुन्छ ।
सबैले आफ्नो पद त्यागौँ र नयाँलाई अगाडि सार्न एकता गरौँ । नयाँलाई अगाडि सार्छौँ भनेर जनतासामु आत्मसमर्पण गरौँ । अहिलेको अवस्थामा बूढो पाको नेतृत्व मात्रै फेल भएको छैन, कतिपय अवस्थामा नयाँ र युवा नेतृत्व पनि फेल भएको छ । असफल हुनु चाहिँ गम्भीर कुरा हो । विगतको राम्रो समीक्षा गरेर कम्युनिस्ट आन्दोलनपछि नयाँ नेतृत्व निर्माण गर्ने कुरामा कम्युनिस्ट आन्दोलनले गम्भीर भएर सोच्नुपर्छ । जुनसुकै समूहका नेता कार्यकर्ताले पनि यसरी सोच्न सक्नुपर्छ । यसरी सोच्यो भने कम्युनिस्ट आन्दोलन नयाँ धरातलबाट गतिका साथ अगाडि बढ्छ ।
उसो भए बाम एकतापछि नयाँ पुस्तामा नेतृत्व आउँछ भन्नेमा तपाईं विश्वस्त हुनुहुन्छ ?
एकदमै छु । एकतापछि पनि पदको लोभमा तँ तँ र म म गर्यौँ भने हामी अर्को निर्वाचनमा सकिन्छौँ । अहिले त खिएको मात्रै हो । त्यो स्वाभाविक कुरा हो । नयाँ भन्नाले उसको विचार पनि नयाँ हुनुपर्यो । व्यक्तिको अनुहार मात्रै नयाँ भएर पुग्दैन । त्यसको विचार, सिद्धान्त, कार्यदिशा, अध्ययन, अनुभव कस्तो छ ? त्यसलाई पनि हेर्नुपर्छ ।
पार्टीहरू अहिले पुराना पुस्ताले नेतृत्व गरिरहेका छन् । ती नेतृत्वकर्ता भने फेल भएकै हुन् । तर अर्को कुरा सबै वाम नेतालाई असफल भन्न मिल्दैन । सबै वाम नेता र पुराना नेता असफल हुन् भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको भाष्य मात्रै हो । सबै नेता असफल भएका होइनन् । तर जसले नेतृत्व गरेर आयो, त्यो नेतृत्वकर्ता असफल भएकै हो ।

वामभित्र पनि धेरै जना नेता वाम एकता हुनुपर्छ, नयाँ धारबाट पार्टीहरू गएन भने भङ्गालोमा परिन्छ भनेर आवाजहरु उठाइरहेकै थिए । उनीहरूले राम्रो नीति कार्यदिशा देखाए पनि एकलकाँटै भएका थिए। एकलकाँटेको पनि कहिलेकाहीँ काम आउँदो रहेछ भन्ने कुराको पुष्टि अहिले भएको छ ।
उसो भए अब पुराना शक्तिहरूले जनतामा गुमाएको विश्वास फर्काउन के के गर्नुपर्छ ?
वामपन्थीहरूले एकताबद्ध भएर नयाँ पुनर्गठित रूपान्तरित कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्छ । आफ्ना वरिपरि व्यापक उपयुक्त जनसंगठन निर्माण गर्नुपर्छ । जनतालाई हामी सबै एक ठाउँमा आयौँ, पुस्तान्तरण, रूपान्तरण र पुनर्गठित भयौँ भनेर विश्वास दिलाउन घरघर पुग्न सक्नुपर्छ ।
कम्युनिस्ट पार्टीहरूले देशमा भूमिसुधार ल्याउन सक्नुपर्छ । कृषि क्रान्तिलाई जोड दिनुपर्छ । राष्ट्रिय औद्योगीकरणलाई अगाडि बढाउन पहलकदमी थाल्नुपर्छ । शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन ल्याउन पहिला आफू सुध्रिने र त्यसपछि हामी सुध्रियौँ भन्ने विश्वास जनतामा पुर्याउन सक्नुपर्छ ।













प्रतिक्रिया