अन्तिमसम्म सहमतिको कोसिसमा थिए रवि, नेताहरूले भने, ‘प्रतिस्पर्धा गर्छौँ, हारे पनि पार्टी छोडेर जाँदैनौँ’ « Khabarhub

अन्तिमसम्म सहमतिको कोसिसमा थिए रवि, नेताहरूले भने, ‘प्रतिस्पर्धा गर्छौँ, हारे पनि पार्टी छोडेर जाँदैनौँ’

दोहोरो पद नदिने योजनामा थिए रवि-बालेन



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचनमा एक उपसभापति, एक महिला उपसभापति, एक महामन्त्री र दुईजना खुल्ला सह-महामन्त्रीको निर्वाचन हुने भएको छ ।

सभापति रवि लामिछानेले सर्वसम्मतिको लामो कसरत गरे पनि सफल भएनन्। विभिन्न समूहका नेताहरूले पार्टी पदाधिकारीमा दाबी गरेपछि मिलाउन सकस परेको हो।

नेताहरू मिलाउन भर्चुअल माध्यमबाट प्रधानमन्त्री बालेन शाह पनि जोडिएका थिए । तर सर्वसम्मतिको प्रयासमा यी पद छाड्ने अवस्थामा नेताहरू तयार भएनन् ।

धेरैजना नेताहरू पदको दौडबाट हटे पनि निर्वाचन सुरू भएको छ। विशेषत: महामन्त्री र सह-महामन्त्री पदका लागि धेरै नेताहरूले इच्छा जाहेर गरेका छन्। महामन्त्री पदका लागि बिहानसम्म १० जना उम्मेदवार देखिएका थिए । तर अहिले पनि पाँच उम्मेदवार कायम छन्। सहमतिको प्रयासबाट रविले पाँच उम्मेदवारलाई फिर्ता बोलाए । यस्तै महिला उपसभापतिका लागि पाँचजना उम्मेदवार दौडमा थिए । तर सर्वसम्मतिको प्रयासलाई अगाडि बढाउन खोज्दा पनि दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

महिला उपसभापतिमा चर्चित भिडन्त

महिला उपसभापतिमा चर्चित नेतृहरूबीच भीडन्त हुने भएको छ । २०७९ को निर्वाचनमा ललितपुरबाट विजयी भएकी तोशिमा कार्की र काठमाडौंबाट विजयी सोबिता गौतम भिड्दैछन् ।

सोबिता फागुन २१ को निर्वाचनमा चितवनबाट जितेकी नेतृ हुन् । उता ललितपुर ३ बाट तोशिमा दोहोरिएकी छन्। पार्टीमा चर्चित नेतृ सोबिता पटकपटक अवसर पाउने व्यक्ति हुन् भने त्यो तोशिमामालाई अवसर मिलेको छैन । उनी एक पटक स्वास्थ्य राज्यमन्त्री भइन् ।

कानुन मन्त्री सोबिता गौतम यसअगाडि पनि पार्टी सचिवालय सदस्य थिइन्। तर पार्टी सचिवालयमा तोशिमा अटाइनन्। यो प्रतिस्पर्धामा सोबितालाई सहज आकलन गरिएको छ। तोशिमा पनि कमजोर उम्मेदवार होइनन् । कानुन मन्त्री उनलाई रवि र बालेनले उपसभापतिबाट हट्न सुझाव दिएका थिए । तर उनले लोकतान्त्रिक प्रक्रियामा जाने भन्दै अडानमा रहिन्।

तोशिमाले भने उपसभापतिमा आफ्नो दाबेदारीलाई स्वभाविक भनेकी छन् । उनले पार्टीमा अहिलेसम्म कुनै अवसर पाएकी छन् । उनले संसदीय समितिको कुनै जिम्मेवारी पनि पाएकी छैनन्।

‘सोविताजीलाई कानुनमन्त्रीको जिम्मेवारी रहेको अवस्थामा सभापति र वरिष्ठ नेताले एकचोटि विचार गर्न आग्रह गर्नुभएको थियो । तर उहाँले लोकतान्त्रिक प्रक्रियामा जान्छु भन्नुभयो । उहाँले अन्तिमसम्म सहयोग गर्नुहोला भन्ने थियो । तर अब त चुनावी प्रक्रिया अगाडि बढ्यो’, एकजना शीर्ष नेताले भने ।

पार्टीका एक शीर्ष नेताले स्वभाविक हिसाबमा २०७९ पछि कुनै अवसर नपाएकाले तोशिमाको दाबीलाई सही भने । ‘अहिले पनि कुनै पदमा नभएका कारण तोशिमाले उपसभापतिमा दाबीवेदारी राख्नु स्वभाविक हो। उहाँ पनि दुःख गरेको नेतृ हो’, ती नेताले भने ।

तोशिमा अहिलेसम्म कुनै पदमा नरहेको बताउँदै प्रतिस्पर्धामा उत्रिएकी छन् । उनी लोकतान्त्रिक प्रक्रियाले दिएको मतलाई स्वीकार्ने बताउँछिन् ।

‘म अहिलेसम्म पार्टीको कुनै तह र सरकारमा पनि रहेर काम गरेको छैन । अहिले न कुनै संसदीय समितिको पदमा नै छु’, तोशिमाले भनिन,‘स्वभाविक रूपमा मैले लोकतान्त्रिक प्रक्रियामा भाग लिनु मेरो अधिकारको विषय हो।’

सरकार र पार्टीको जिम्मेवारी फरक रहेकाले सोबिता पनि आफू लोकतान्त्रिक प्रक्रियामा सहभागी भएको बताउँछिन्।

महिला उपसभापति पदमा धेरैल दाबी त्यागेका छन् । पूर्वविवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा, पूर्वउपसभामुख इन्दिरा राना र लिमा अधिकारी पछि हटेका छन् ।

लिमा पनि सरकार र संसदीय समितिको जिम्मेवारीमा छैनन् । उनी पनि उपसभापतिको स्वभाविक दावेदार थिइन् । इन्दिराले पनि आफू सानो भएर अरुलाई अगाडि बढाउन चाहेको बताइन् । समीक्षा कानुन तथा न्यायिक समितिको सभापति भएकाले उम्मेदवारी फिर्ता लिएकी हुन्।

विराजले गरे ठूलो मन

एक उपसभापतिका लागि विराजभक्त र स्वर्णिम वाग्लेबीच प्रतिस्पर्धा हुने अवस्था थियो । तर सभापति रविले शीर्ष नेतामध्ये एक स्वर्णिम भएकाले सहमतिमा आउन आग्रह गरेका थिए। स्वर्णिमले पनि आफूलाई विराजले साथ दिनुपर्ने भने । त्यसपछि स्वर्णिमलाई साथ दिएको विराजले बताए ।

विराजले स्वर्णिमलाई साथ दिएर उनको प्रस्तावक आफैं बसिदिए । उनी पार्टीलाई स्वर्णिम नभई नहुने भएकाले आफू पछि हटेको बताउँछन् ।

‘मेरो यसमा कुनै स्वार्थ छैन । शीर्ष नेतृत्व र पार्टीलाई अति आवश्यक चाहिने व्यक्ति भएकाले मैले उहाँलाई साथ दिएको हो’, विराजले भने, ‘राजनीतिमा आफूले मात्रै पद पाउनु ठूलो कुरा होइन। त्याग गरेर अरुलाई अगाडि सार्नु पनि ठूलो रहेछ। मैले दाइलाई सहयोग गर्न पाउँदा अत्यन्त खुसी छु।’

पहिलो महाधिवेशन भएकाले लोकतान्त्रिक प्रक्रियामा भाग लिन पाउने छुट रहेको विराज बताउँछन् ।तर सर्वसम्मतिको प्रयासलाई अवलम्बन गर्दा अझै राम्रो सन्देश जाने बताउँछन्।

महामन्त्रीको दौड

रास्वपाको पहिलो महाधिवेशनमा सबैभन्दा रोचक भिडन्त महामन्त्री देखिएको छ। सबै चर्चित नेताहरूले महामन्त्रीमा उम्मेदवारी दिए। सर्वसम्मति प्रयास गर्दा पाँचजना नेता पछि हटे। तर अझै पनि पाँच नेता दौडमै छन्। महामन्त्रीको दौडबाट रविका विश्वासिला पात्रहरू हट्दा केही नेता चुनावमा गएका छन् ।

महामन्त्री पदबाट कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, प्रमोद न्यौपाने, शिशिर खनाल र जगदीश खरेल (ललितपुर) पछि हटे । उता नेतृ रञ्जु दर्शनाले पनि विपिन आचार्यलाई साथ दिँदै नाम फिर्ता लिइन् । अब चारजना नेता मैदानमा छन् ।

वर्तमान सह-ममन्त्री विपिनकुमार आचार्य २१ जना मिलेर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउँदाका एक नेता हुन्। त्यसकारण रविले उनलाई अगाडि बढाउन चाहेका हुन् । तर अरू नेताका कारण रवि दबाबमा छन् ।

‘पार्टीमा लामो समय मैले दुःख गरेका कारण साथीहरूले मलाई अगाडि सारेर उम्मेदवारी फिर्ता लिई ठूलो मन बनाइदिनुभएको छ’, विपिनले भने,‘सह-महामन्त्री भएकाले महामन्त्रीमा स्वभाविक दाबी राखेको छु। लोकतान्त्रिक प्रक्रियामा जाने कुरामा पनि म तयार भएरै अघि बढेको हो।’

महामन्त्रीका लागि अघि सरेकी रञ्जु दर्शनाले पनि अन्तिममा विपिनलाई सघाइन् । काठमाडौं १ बाट लोकप्रिय मत ल्याएर विजयी उनी रास्वपा केन्द्रीय सदस्यमा पनि लोकप्रिय मतसहित जित निकाल्न सकिन् । वैकल्पिक राजनीतिलाई विवेकशील साझाबाटै अगाडि बढाएर उनी चर्चित भएकी हुन् ।

बालेनका विश्वासपात्र पात्र राजु पाण्डे पनि महामन्त्रीको दाबेदार थिए। तर उनी पनि पछि हटेका छन् । अर्का चर्चित नेता सागर ढकाल पनि महामन्त्रीका दाबेदार छन् । अब रविको साथ पाएका विपिनसँग मनिष झा, सागर ढकाल र गणेश कार्की भिड्दैछन् । वैचारिक र तार्किक क्षमताका ढकाल अध्ययनशील मानिन्छन्। उनी फागुन २१ को निर्वाचनबाट पार्टीमा जोडिएका नेता हुन् ।

पार्टी प्रवक्ताको जिम्मेवारीमा रहेका मनिष झा पनि महामन्त्रीका बलिया दाबेदार हुन्। उनलाई सभापति लामिछाने र प्रधानमन्त्री शाहले महामन्त्रीबाट पछि हट्न भनेका छैनन् । तर उनलाई यी दुवै नेताले साथ पनि दिएका छैनन् ।

लामिछाने कारागार चलान हुँदा पनि पार्टीलाई वैचारिक र सैद्धान्तिक हिसाबले अघि बढाउन उनले भूमिका खेले । उनलाई मधेश तराईबाट पनि राम्रो साथ दिएको देखिन्छ। उनी पार्टीमा स्थापनबाटै जोडिएका हुन् । भन्छन्,‘ म भिड्न तयार छु।’

रास्वपा व्यक्तिकेन्द्रित हुन नहुने तर्कसहित सैद्धान्तिक र विचार केन्द्रित मुद्दा उठाउँदै आएका गणेश कार्की पनि महामन्त्रीका दाबेदार छन्। गणेश सुरुवातदेखि नै पार्टीमा आलोचनात्मक चेत भएका नेता हुन् । उनी पार्टी सिद्धान्त र नीतिमा पनि स्पष्ट हुनुपर्ने कुरा राखिरहन्छन् ।

गणेश संसदीय समितिको सभापति भएका कारण महामन्त्री पदबाट पछि हट्न भनिएको थियो । तर सहमतिको प्रयास गर्दा आफू पछि नहटेको बताउँछन्।

‘सहमतिबारे छलफल भएको थियो । तर उम्मेदवारी नै घोषणा गरेपछि अगाडि बढियो। म सफल र सक्षम छु भन्ने लाग्छ’, उनी भन्छन्,‘म महामन्त्री पदलाई डिजर्भ गर्न सक्ने क्षमता राख्छु । पार्टी स्थापनादेखि नै जोडिएकाले म यो पदलाई न्याय दिन्छु ।’

सह-महामन्त्रीमा पनि उस्तै

दुई खुल्ला सह-महामन्त्री र १ महिलाका लागि नेताहरूको उस्तै दौड छ। चर्चित नेताहरू नै दौडमा रहेपछि सहमतिको प्रयास छाडेर लोकतान्त्रिक प्रक्रिया थालिएको छ।

सह-ममन्त्री एक महिलाका लागि पाँचजनाको उम्मेदवारी परेको छ । चर्चित नेतृहरू रिमा विश्वकर्मा, निशा डाँगी, जुली यादव, कामिनी कुमारी चौधरी र जमुना शर्माले उम्मेदवारी दिएका हुन्। उनीहरू कसैले उम्मेदवारी फिर्ता लिएका छैनन्।

निशा पार्टी स्थापनादेखि नै रास्वपामा जोडिएकी हुन् । रिमा विश्वकर्मा उज्यालो नेपाल पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा आएकी हुन् । मधेसी समुदायबाट जोडिएका जुली र कामिनीलाई प्रधानमन्त्री बालेननिकट मानिन्छ ।

दुईजना सह-ममन्त्रीका लागि पनि नेताहरूको चर्को भिडन्त छ। कमेडियन हिमेश पन्तदेखि पूर्वपत्रकार मिलन लिम्बुसहित ११ जना मैदानमा छन् । सह-महामन्त्री खुल्लामा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, मिलन लिम्बु, हिमेश पन्त, असिम शाह, अशोक कुमार चौधरी, पुकार बम, राजीव खत्री, विजय जौरु र हरि ढकाल मैदानमा छन्।

जसमध्ये हरि ढकाल र यज्ञमणि न्यौपाने लगायतले आफूहरू स्थापनाकालदेखि नै जोडिएकाले यस पदलाई न्याय दिने बताउँछन्। लोकतन्त्र पालना गर्न आफू तयार रहेको उनीहरूको तर्क छ। आदिवासी जनजाति समुदायलाई नेतृत्वमा ल्याउन मिलन अघि सरेका छन् । उता अपाङ्गताको मुद्दा अगाडि बढाउन रमेशको उम्मेदवारी छ ।

रविले भने‍का थिए, ‘मिलौँ’

उम्मेदवारसामु लामिछानेले सहमतिका प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए। पहिलो महाधिवेशन भएकाले पद यही मात्र नभएको बताउँदै उनले एकताको सन्देश दिनुपर्ने तर्क गरेका थिए । दोहोरो जिम्मेवारीमा रहेकाले छाडिदिन आग्रह गरे पनि धेरैले सुनेनन् ।

बालेनले पनि सहमतिको प्रयासलाई अगाडि बढाउने सन्देश दिएका थिए । रविले नेताहरूसँग अरुलाई समर्थन गरेर ठूलो मन बनाइदिन आग्रह गरेका थिए। तर नेताहरूले आफूहरू प्रक्रियामा अगाडि बढिसकेकाले लोकतान्त्रिक विधि अपनाउँदा पार्टीलाई घाटा नलाग्ने उल्लेख गरे।

‘सभापतिज्यू हामी हारे पनि पार्टी छोड्न लागेको होइन, यहीँ बसेर काम गर्छौँ। तर हामी लोकतान्त्रिक विधि अपनाउन चाहन्छौं। हामीलाई नरोक्नु होला’, नेताहरूको भनाइ उद्धृत गर्दै रविको सचिवालयले भन्यो,‘सभापतिज्यूले ज्यादै अनुरोध गर्दा पनि नेताहरूले हारेजिते फरक नपर्ने बताए । प्रक्रियामा सहभागी हुन दिनुस् भने । छोड्न चाहनेले त छोडिसक्नुभएको छ, अब निर्वाचनको प्रक्रिया अघि बढिसक्यो ।’

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  २ : ०३ बजे

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा–  गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षति

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन– हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको जीवन प्यारो

पानी नपर्दा सुक्न थाल्यो धान, चिन्तामा किसान

घोडाघोडी– असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो । रोपिएका धानका बिरुवाले

सरकारका तीन महिना : थोरै प्रसंशा, धेरै चुनौती, चौतर्फी आलोचना

काठमाडौं- गत चैत १३ मा सपथ लिएको सरकारको कार्यकाल तीन

बेथानचोकमा बेलीब्रिज निर्माणले आवागमनमा सहजता

काभ्रेपलाञ्चोक–  काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-१ च्याम्राङबेँसीस्थित च्याम्राङबेँसी-झिङ्गे सडकखण्डमा पर्ने रतन खोलामा बेलीब्रिज