चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ ।
झन्डै एक साता देशभरबाट प्रतिनिधि, परिवेक्षक र शुभेच्छुकले जिल्लाका होटल, रेष्टुरेण्ट र पर्यटकीय क्षेत्रहरु चलायमान भएका थिए । गत आइतबार उद्घाटन भएको महाधिवेशन आज समापन हुँदैछ । शनिबारदेखि नै प्रतिनिधिले यहाँका होटलहरु भरिन थालेका थिए ।
आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमका अनुसार एक सातामा ५० करोड रुपैयाँभन्दा माथिको व्यापार भएको बताउँछन् । उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष समेत रहेका गौतम झन्डै २० करोड रुपैयाँ आबासमा प्रतिनिधिले खर्च गरेको बताए । एकै दिन २० हजार जनासम्म चितवनमा बसेको उनको भनाइ छ ।
महाधिवेशनको उद्घाटन र त्यसको भोलिपल्ट ठूलो सङ्ख्यामा रास्वपा समर्थकहरू जिल्लामा आएको गौतमले बताए । अन्य दिनमा क्रमशः घट्दै गएको भन्दै उनले यसको प्रत्यक्ष लाभ भरतपुरलाई परेको बताए ।
सौराहालगायतका पूर्वी क्षेत्रका होटल र नवलपरासीको गैँडाकोटका होटलसम्म प्रतिनिधिहरू बसेको उनले बताए । आवासको व्यवस्था प्रतिनिधि स्वयंले गर्नुपर्ने हुन्थ्यो भने चार दिन खानाको व्यवस्था पार्टीले गरेको थियो । अघि पछि र अनुकूलको खाना प्रतिनिधिहरूले आफै खाएका थिए । पार्टीको मात्र रु चार करोडभन्दा बढी खर्च हुने भन्दै उनले यहाँका सबै क्षेत्र एक साता चलायमान भएको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार दुई हजार २०० हाराहारी साना ठूला गाडी बाहिरबाट आएका छन् । उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली झन्डै एक साता जिल्ला चलायमान भएको बताए । होटल रेष्टुरेण्ट भरिँदा यसले अन्य क्षेत्रलाई चलायमान बनाउने उनले बताए ।
दुग्ध जन्य पदार्थ, माछा, मासु, अण्डा, फलफूल जस्ता कृषि जन्य उत्पादनको राम्रो खपत भएको उनले बताए । उनले भने, ‘मुख्य रुपमा भरतपुरको आर्थिक चक्रमा राम्रो प्रभाव परेको छ ।’
क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओम पाण्डे भरतपुरका होटलहरुले राम्रो व्यापार पाएको बताउँछन् । त्यसपछिको व्यापार सौराहालगायतका क्षेत्रमा भएको उनको भनाइ छ । पहिलो पटक जिल्लामा आएका रास्वपाका नेता कार्यकर्ताले पर्यटकीय गन्तव्यहरू हेर्ने अवसर पाएको उनको भनाइ छ ।












प्रतिक्रिया