रसुवाको बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै « Khabarhub

रसुवाको बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएकामध्ये २३ जनाको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएकामध्ये उद्धार गरी काठमाडौँ ल्याइएकामध्ये १८ जनाको राष्ट्रिय ट्रमा सेन्टर र पाँच जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । उपचाररत सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौँ ल्याइएका घाइतेको उपचारसँगै उनीहरूका आफन्तको खोजी तथा अवस्थाबारे जानकारी लिने क्रमसमेत जारी छ । घाइतेका आफन्तजन उपचाररत अस्पतालमा पुगेर आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी लिइरहेका छन् । यस क्रममा वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आफन्तजनको घुइँचो लागेको छ ।

बाढीमा परी घाइते तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले दुवै अस्पतालमा नेपाल प्रहरी नागरिक सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षमा घाइतेको अवस्थाबारे जानकारी लिन आउने तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

वीर अस्पतालमा रहेको नागरिक सहायता कक्षका अनुसार त्यहाँ उपचाररत पाँच जनामध्ये रसुवा–१ घर भएका ३८ वर्षीय विराजमान तामाङको स्वास्थ्य अवस्थामा सुधार आएपछि आज उपचारपश्चात् उहाँलाई घर पठाउने तयारी भइरहेको छ । चिकित्सकको निगरानीमा उपचारपछि उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

यसैगरी वीर अस्पतालमै उपचाररत करिब ८० वर्षीया एक वृद्ध महिलाको भने हालसम्म पहिचान खुल्न सकेको छैन । उनको साथमा परिचय खुल्ने कागजात वा अन्य विवरण नभएको तथा हालसम्म आफन्तसमेत सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । प्रहरीले ती वृद्ध महिलाका आफन्त वा उनलाई चिन्ने व्यक्तिले सम्बन्धित सहायता कक्षमा सम्पर्क गरी आवश्यक जानकारी दिन आग्रह गरेको छ ।

बाढीबाट उद्धार गरिएका घाइतेको हातखुट्टा, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । केही घाइतेलाई सामान्यदेखि मध्यम प्रकृतिका चोटपटक लागेको र उनीहरूलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

रसुवाको भोटेकोसी क्षेत्रमा बुधबार बिहान आएको अचानकको बाढीका कारण ठूलो क्षति भएको छ । बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र बनाइएको छ भने घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याउने क्रमसमेत जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्तिको पहिचान तथा अवस्थाबारे विवरण संकलन गर्ने काम भइरहेको छ । उद्धार गरिएका तथा उपचारका लागि काठमाडौँ ल्याइएका व्यक्तिका आफन्तले सम्बन्धित अस्पतालमा स्थापना गरिएको नागरिक सहायता कक्षमार्फत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ ।

बाढीका कारण प्रभावित परिवार आफ्ना आफन्तको अवस्थाबारे जानकारी पाउन अस्पताल तथा सहायता कक्षमा पुगिरहेका छन् । प्रहरीले विपद्का समयमा अपुष्ट सूचना तथा हल्लाको पछि नलागी आधिकारिक निकायबाट प्राप्त सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतको कामलाई निरन्तरता दिइएको छ भने घाइतेको उपचारमा आवश्यक समन्वय भइरहेको सम्बन्धित निकायले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ३ : ५४ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रअरीले १० करोड

विमानस्थल बाहिर आफन्तको आश

काठमाडौं– रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरूलाई नेपाली सेना

बाढीपछि नेपालप्रति बेलायतको ऐक्यबद्धता, सहयोगका लागि प्रतिबद्धता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिलामन्त्री

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्

सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू

काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा